Siraha Times
ताजा समाचार

लहान प्रादेशिक अस्पताल स्तरोन्नतिका लागि व्यवस्थापन समिति अध्यक्ष मेहताद्वारा सरकारसमक्ष आठबुँदे माग

  • साउन ३१, २०८३
  • ३२२ पटक पढिएको
  • रहमुल
alt

रहमुल, लहान, ३१ साउन । रा. उ.प्रादेशिक अस्पताल लहानका व्यवस्थापन समिति अध्यक्ष रामनारायण मेहताले अस्पतालको सेवा विस्तार, भौतिक पूर्वाधार विकास, जनशक्ति व्यवस्थापन तथा विशेषज्ञ स्वास्थ्य सेवा प्रभावकारी बनाउन नेपाल सरकार र मधेश प्रदेश सरकारसमक्ष विभिन्न माग राखेका छन्।

लहानमा आयोजित कार्यक्रममा स्वागत, हार्दिक धन्यवाद तथा कृतज्ञता मन्तव्य व्यक्त गर्दै अध्यक्ष मेहताले अस्पतालको वर्तमान अवस्था, विगतका उपलब्धि, सेवा प्रवाहका चुनौती तथा आगामी आवश्यकता प्रस्तुत गर्दै अस्पताललाई थप व्यवस्थित, गुणस्तरीय र जनमैत्री स्वास्थ्य संस्थाका रूपमा विकास गर्न सरकारको विशेष ध्यान आवश्यक रहेको बताए।

उनले अस्पतालले सिरहा, सप्तरी, उदयपुर तथा धनुषालगायतका जिल्लाका ठूलो जनसंख्यालाई स्वास्थ्य सेवा प्रदान गर्दै आएको उल्लेख गर्दै दैनिक करिब ४०० देखि ५०० जना बिरामीले सेवा लिने गरेको बताए। बिरामीको चाप बढ्दै गए पनि अस्पतालमा पर्याप्त भौतिक संरचना, जनशक्ति, उपकरण तथा सेवा विस्तारको अभाव रहेकाले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा चुनौती भइरहेको उनको भनाइ थियो।

अध्यक्ष मेहताले वि.सं. २०३५ सालमा स्वास्थ्य मन्त्रालय तथा स्वास्थ्य विभागसँग सम्झौता भई रामकुमार शारडा–उमाप्रसाद मुरारका अस्पताल निर्माण भएको र तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाहबाट उद्घाटन भई सञ्चालनमा आएको ऐतिहासिक पृष्ठभूमि स्मरण गर्दै अस्पताललाई यहाँसम्म ल्याउन योगदान गर्ने सबैप्रति आभार व्यक्त गरे।

उनका अनुसार अस्पताल परिसरमा रहेको १ बिघा १५ कठ्ठा १० धुर जग्गा लामो समयदेखि रजिस्ट्रेसन तथा नामसारी हुन बाँकी रहेकोमा विभिन्न प्रशासनिक तथा कानुनी प्रक्रिया पूरा गरी २०८२ पुस १० गते अस्पतालकै नाममा रजिस्ट्रेसन/नामसारी गर्न सफल हुनु महत्वपूर्ण ऐतिहासिक उपलब्धि हो। उक्त कार्यमा सहयोग गर्ने सरकारी निकाय, तत्कालीन मन्त्री बब्लु गुप्तालगायत मन्त्री तथा जनप्रतिनिधि, स्थानीय समुदाय, सहयोगी व्यक्तित्व र विशेषगरी जग्गादाता परिवारप्रति उनले धन्यवाद व्यक्त गरे।

अध्यक्ष मेहताले आफूलाई २०८२ असोज २१ गते मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् निर्णयबाट अस्पताल सञ्चालन व्यवस्थापन समितिको अध्यक्षको जिम्मेवारी दिइएको स्मरण गर्दै पदभार ग्रहण गरेदेखि नै विभिन्न चुनौतीका बीच अस्पतालको सेवा सुधारलाई प्राथमिकतामा राखेर काम गर्दै आएको बताए। दैनिक सेवा सञ्चालनदेखि पूर्वाधार विकास, जनशक्ति व्यवस्थापन, सेवा विस्तार, औषधि तथा उपकरणको उपलब्धता, सेवाको गुणस्तर अभिवृद्धि र प्रशासनिक व्यवस्थापनसम्मका क्षेत्रमा चुनौती भए पनि अस्पताललाई सेवाग्राहीमैत्री र गुणस्तरीय स्वास्थ्य संस्थाका रूपमा स्थापित गर्ने प्रयास निरन्तर जारी रहेको उनले बताए।

उनले अस्पतालका चिकित्सक, नर्सिङ कर्मचारी, स्वास्थ्यकर्मी, प्रशासनिक, प्राविधिक तथा सहयोगी कर्मचारी र सम्पूर्ण सरोकारवालाबाट प्राप्त सहयोग तथा सहकार्यप्रति आभार व्यक्त गर्दै सामूहिक प्रयासबाट मात्रै अस्पताललाई अपेक्षित उचाइमा पुर्‍याउन सकिने धारणा राखे। अस्पताल स्तरोन्नतिका लागि आठ प्रमुख माग अध्यक्ष मेहताले कार्यक्रममा अस्पतालको दीर्घकालीन विकास र सेवा विस्तारका लागि सरकारसमक्ष विभिन्न माग प्रस्तुत गरे।

पहिलो, हाल नेपाल सरकारबाट स्वीकृत १५ शय्या, मधेश प्रदेश सरकारबाट थप गरिएको ५० शय्या तथा हाल करिब १०० शय्याको आधारभूत आवश्यकतालाई ध्यानमा राखेर सेवा सञ्चालन भइरहेको भन्दै अस्पताललाई १०० शय्यामा स्तरोन्नति गर्न विस्तृत परियोजना प्रतिवेदन (DPR) तयार गरी आवश्यक भौतिक संरचना निर्माणका लागि बजेट व्यवस्था गर्न माग गरे।

दोस्रो, लहान तथा आसपासका क्षेत्रमा करिब २०० किलोमिटरभन्दा बढी दूरीसम्म अत्याधुनिक ट्रमा सेवा उपलब्ध नभएको उल्लेख गर्दै लहानमा अत्याधुनिक तथा सुविधा सम्पन्न ट्रमा सेन्टर निर्माण गर्न माग गरे। यसअघि पनि पटक–पटक ट्रमा सेन्टर स्थापनाको माग गर्दै आएको र २०८२ पुस १० गते जग्गा हस्तान्तरणका क्रममा तत्कालीन अर्थमन्त्री, युवा तथा खेलकुदमन्त्री, मधेश प्रदेशका मुख्यमन्त्री, स्वास्थ्य मन्त्री तथा सांसदसमक्ष समेत मागपत्र बुझाइएको उनले स्मरण गरे।

तेस्रो, अस्पतालबाट करिब एक किलोमिटर दक्षिणमा रहेको बाल अस्पतालको १५ कठ्ठा जग्गालाई समेत अस्पतालको संरचनामा समायोजन गरी प्रसूति तथा बाल अस्पताल सञ्चालन गर्ने व्यवस्था मिलाउन आग्रह गरे। यसबाट महिला तथा बालबालिकाले सहज र प्रभावकारी स्वास्थ्य सेवा प्राप्त गर्न सक्ने उनको भनाइ थियो। चौथो, बिरामीलाई २४ सै घण्टा सेवा उपलब्ध गराउनुपर्ने भएकाले अस्पतालमा कार्यरत चिकित्सकका लागि आवासीय भवन निर्माण गर्न सरकारसँग माग गरे।

पाँचौँ, बिरामीको चापअनुसार विशेषज्ञ चिकित्सक, मेडिकल अधिकृत, नर्सिङ तथा अन्य स्वास्थ्यकर्मीको पर्याप्त दरबन्दी सिर्जना गरी नियमित पदपूर्ति गर्न माग गरे। साथै अस्पतालमा CT Scan सेवा प्रभावकारी रूपमा सञ्चालन गर्न रेडियोलोजिस्ट, CT टेक्निसियनलगायत आवश्यक जनशक्ति तत्काल व्यवस्थापन गर्न आग्रह गरे। छैटौँ, अस्पताललाई क्रमशः स्तरोन्नति गर्दै भविष्यमा मेडिकल कलेजका रूपमा विकास गर्न आवश्यक प्रक्रिया अघि बढाउन सरकारसमक्ष माग राखे।

सातौँ, अस्पताल परिसरमा सञ्चालनमा रहेको नेपाल रेडक्रसका लागि आवश्यक कम्पोनेन्ट सेपरेसन मेसिन यथाशीघ्र उपलब्ध गराउन आग्रह गरे। उक्त उपकरण उपलब्ध भएपछि रक्तजन्य सेवामा थप सहजता आउने उनको भनाइ थियो। आठौँ, अस्पताल विकास समितिअन्तर्गत कार्यरत कर्मचारीको सेवा, सुविधा र भविष्य सुनिश्चित गर्न आवश्यक ऐन तथा नियम बनाएर कर्मचारीलाई स्थायी गर्ने व्यवस्था गर्न माग गरे। साथै अस्पतालमा अत्यावश्यक रहेको प्रसूति गृह निर्माणलाई पनि प्राथमिकतामा राख्न आग्रह गरे।

अध्यक्ष मेहताले अस्पतालको विकासका लागि सरकार, जनप्रतिनिधि, राजनीतिक दल, स्थानीय समुदाय, स्वास्थ्यकर्मी, सञ्चारकर्मी तथा सम्पूर्ण सरोकारवालाबीच सहकार्य आवश्यक रहेको बताए। उनले अस्पतालको मूल उद्देश्यलाई “हाम्रो अस्पतालको एउटै चाहना, एउटै दृष्टि—सबैको स्वास्थ्य, सबैको साथ, सबैको विकास, सबैको विश्वास, सबैको प्रयास, अनि मात्र हाम्रो अस्पतालको विकास” भन्ने भावनासँग जोड्दै अस्पताललाई मधेशकै भरपर्दो स्वास्थ्य संस्थाका रूपमा विकास गर्न सबैको सहयोग आवश्यक रहेको बताए।

कार्यक्रममा प्रमुख अतिथि स्वास्थ्य मन्त्री निशा मेहता, विशिष्ट अतिथि संघीय सांसद बब्लु गुप्ता, विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधि, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा कर्मचारी, संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी, जेन–जी पुस्ताका युवा, अस्पतालका चिकित्सक, नर्सिङ तथा स्वास्थ्यकर्मी, प्रशासनिक तथा प्राविधिक कर्मचारीलगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमको अन्त्यमा अध्यक्ष मेहताले उपस्थित सबैप्रति अस्पताल व्यवस्थापन समितिको तर्फबाट हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दै अस्पतालको आगामी विकास यात्रामा सबैको निरन्तर साथ र सहयोगको अपेक्षा गरे।

प्रतिक्रिया दिनुहोस

उठिबासको त्रासमा लहा ...

रहमुल, लहान, ३१ साउन । लहान नगरपालिका–३ स्थित विहारपुर टोलका स्थानीयवासी पछिल्लो समय घरजग्गा ख ...

विश्व आदिवासी दिवसमा ...

रहमुल, लहान, २८ साउन । विश्व आदिवासी दिवस २०८३ सिरहामा पनि विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको ...

लहानमा खाद्य व्यवस्थ ...

रहमुल, लहान, २८ साउन । ‘खाद्य सुरक्षा, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ खाद्य व् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१