Siraha Times
ताजा समाचार

साझेदारी वन संरक्षणमा सक्रिय हुन उपभोक्तालाई वनमन्त्री चौधरीको आग्रह

  • साउन २४, २०८३
  • ४१७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

वीरगंज २४ साउन। सबैया साझेदारी वन उपभोक्ता समूह, पर्साको प्रथम साधारण सभा सम्पन्न भएको छ। समूहका अध्यक्ष लखनलाल साह कानुको अध्यक्षतामा आयोजित सभामा मधेश प्रदेश सरकारका वन तथा वातावरणमन्त्री शंकरप्रसाद चौधरी प्रमुख अतिथिका रूपमा सहभागी थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले एउटा रुख काट्दा कम्तीमा दशवटा रुख रोप्ने नीति अवलम्बन गर्न साझेदारी वन उपभोक्ता समूहलाई सुझाव दिए। दिगो वन व्यवस्थापनका लागि सरकारसँगै स्थानीय जनता पनि वृक्षरोपण र वन संरक्षणमा अग्रसर हुनुपर्ने उनको भनाइ थियो।

उनले २०३६ सालदेखि हुँदै आएको वन विनाशलाई नियन्त्रण गर्न साझेदारी वन उपभोक्ता समूहको अवधारणा अघि बढाइएको उल्लेख गर्दै वन संरक्षणको मूल उद्देश्यअनुसार सबै पक्ष जिम्मेवार भएर अघि बढ्नुपर्ने बताए। वनमा काठ सडेर जाने अवस्था रहे पनि उपभोक्ताले आवश्यक काठ सहज रूपमा प्राप्त गर्न नसकेको विषय पनि गम्भीर रहेको मन्त्री चौधरीले बताए। उनले वन व्यवस्थापन तथा काठ उपभोगसम्बन्धी झन्झटिला नियमलाई कसरी सरल र सहज बनाउन सकिन्छ भन्ने विषयमा सम्बन्धित सबै पक्षले पहल गर्नुपर्नेमा जोड दिए।

त्यस्तै, कार्यक्रमका विशिष्ट अतिथि मधेश प्रदेशका भूमि व्यवस्था तथा सहकारीमन्त्री श्याम पटेलले केही व्यक्तिको स्वार्थका कारण साझेदारी वनको प्रभावकारी व्यवस्थापन हुन नसकेको आरोप लगाए। साझेदारी वनका जिम्मेवार पदाधिकारीले वनलाई व्यापारिक दृष्टिले मात्र नहेरी सामाजिक सेवाको भावनाबाट वन संरक्षण र व्यवस्थापनमा लाग्नुपर्ने उनले बताए। वन जोगाउनु सरकारको मात्र दायित्व नभई सम्पूर्ण नागरिकको साझा जिम्मेवारी भएको उल्लेख गर्दै मन्त्री पटेलले वन संरक्षणमा सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिए।

मन्त्री पटेलले मधेश प्रदेशका किसानले खेतीपातीका लागि आवश्यक रासायनिक मलको अभाव झेलिरहेको बताउँदै संघीय सरकारले पर्याप्त मल उपलब्ध नगराउँदा समस्या भएको बताए। प्रदेश सरकारलाई कागजमा मल उपलब्ध हुने गरे पनि त्यसलाई स्थानीय तहमा समयमै हस्तान्तरण गरी किसानसम्म पुर्‍याउने काम भइरहेको उनको भनाइ थियो।

कार्यक्रममा जिल्ला समन्वय समिति पर्साका प्रमुख निरञ्जनप्रसाद साह सोनार, डिभिजन वन कार्यालय पर्साका प्रमुख मन्जुर अहमद, सबैया साझेदारी वन उपभोक्ता समूहका उपाध्यक्ष असलम आलम तथा सदस्यहरू श्रवण साह, भैयाराम पटेल, जगतनारायणप्रसाद यादव, सुरेशकुमार, राजीव साह सोनार, रामअयोध्या राउत अहिर, राधिका भक्त लामा र रिता देवी कलवारिन लगायतको उपस्थिति थियो।

त्यसैगरी सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वार्टर पर्साका प्रमुख प्रहरी उपरीक्षक मोहनबहादुर क्षेत्री लगायत विभिन्न क्षेत्रका प्रतिनिधि तथा सरोकारवालाहरूको समेत सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस

भाइरल ज्वरोका बिरामी ...

ओम प्रकाश यादव लहान भदौ २५। मौसम परिवर्तनसँगै भाइरल ज्वरोका बिरामीको संख्या बढ्दै गएपछि सिरहाको लहान ...

लहानको हुलाक कार्याल ...

ओम प्रकाश यादव, लहान । सिरहाको लहान नगरपालिका क्षेत्रको सरसफाइ, सौन्दर्यीकरण तथा सार्वजनिक सुविधालाई ...

लहान–१६ स्थित श्री म ...

ओम प्रकाश यादव लहान भदौ २५ । लहान नगरपालिकाका नगरप्रमुख महेशप्रसाद चौधरीले लहान नगरपालिका–१६ स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१