Siraha Times
ताजा समाचार

सिरहाको गोलबजार ८ मा मस्जिद, मदरसा र घरमा आगजनी तथा तोडफोड भएको पीडितको दाबी, निष्पक्ष छानबिन र क्षतिपूर्तिको माग

  • साउन १९, २०८३
  • ६१४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान, साउन १९ । सिरहा जिल्लाको गोलबजार नगरपालिका वडा न. ८ निवासी सोमन राइनले आफ्नो घर, मस्जिद र मदरसामा आगजनी तथा तोडफोड भएको दाबी गर्दै घटनाको निष्पक्ष छानबिन तथा क्षतिपूर्तिको माग गरेका छन। पीडित राइनले सञ्चारकर्मीसँग कुराकानी गर्दै साउन १४ गते भएको उक्त घटनाले आफ्नो परिवारको बासस्थान सहित धार्मिक आस्था र जीविकोपार्जनका आधारहरू एकैसाथ नष्ट भएको बताएका छन्।

राइनका अनुसार साउन १३ गते सुनसरी जिल्लामा भएको घटनापछि सुनसरी सहित मधेशका विभिन्न स्थानमा तनावपूर्ण वातावरण सिर्जना भएको थियो। त्यही तनावको प्रभाव सिरहा जिल्लाको गोलबजार क्षेत्रमा पनि परेको र त्यसकै क्रममा आफ्नो घर तथा धार्मिक स्थलमाथि आक्रमण भएको उनको भनाइ छ ।

उनले घटनाको विवरण सुनाउँदै भने, “त्यो दिन हामी सामान्य अवस्थामै थियौँ। यस्तो घटना घट्छ भन्ने कल्पना पनि गरेका थिएनौँ। एक्कासि गाउँमा तनाव बढ्न थाल्यो। अनि डरले मैले आफ्नो छोरा सलिमलाई फोन गरेर अवस्था बुझ्न खोजेँ। छोराले ‘तपाईं सुरक्षित ठाउँमा बस्नुस्, तपाईंमाथि नै आक्रमण गर्ने योजना बनाइएको छ’ भनेर जानकारी दियो। त्यसपछि मैले घरमा रहेका साना बालबालिकालाई सुरक्षित स्थानतर्फ पठाएँ र आफैँ घरभित्र लुकेर बस्न बाध्य भएँ। 

राइनका अनुसार केही समयपछि ठूलो समूह त्यहाँ पुगेको थियो उनीहरू सबैभन्दा पहिले मस्जिदभित्र प्रवेश गरी त्यहाँ रहेका सामग्रीहरू कुरान, लोडस्पिकर, इनभोर्टर सहित मस्जिदको माथि गुम्बामा राखिएको होर्ण समेत तोडफोड गर्न थालेका थिए। त्यसपछि मस्जिदमा आगजनी गरिएको र लगत्तै मदरसामा पनि आगो लगाइएको उनले बताएका छन्।

उनका अनुसार मदरसामा रहेका धार्मिक ग्रन्थहरू, विशेष गरी कुरान, विद्यार्थीहरूले अध्ययनका लागि प्रयोग गर्ने पुस्तकहरू, बेन्च, टेबुल र अन्य सामग्रीहरू पूर्ण रूपमा नष्ट भएका छन्। त्यसबाहेक, घरमा रहेका लत्ताकपडा, भाँडाकुँडा, फर्निचर र दैनिक जीवनयापनका लागि आवश्यक सामग्रीहरू पनि आगलागीका कारण ध्वस्त भएको उनले बताएका छन्।

राइनले आफ्नो घरमा रहेको करिब ४० तोला चाँदी, ४ तोला सुन र २ लाख रुपैयाँ नगदसमेत आगलागीमा परेको दाबी गरेका छन्। त्यस्तै, घरबाहिर राखिएको डिस्कभर मोटरसाइकल र एउटा ई–रिक्सासमेत जलाएर नष्ट गराएको उनको भनाइ छ। घटनापछि आफू र आफ्नो परिवार गम्भीर मानसिक तनावमा रहेको उल्लेख गर्दै उनले भने, “मेरो जीवनभरको कमाइ एकैदिनमा समाप्त भयो। बस्ने घर छैन, आयआर्जनको स्रोत छैन। हामी अहिले निकै कठिन अवस्थामा छौँ। सरकारले हाम्रो पीडा बुझेर निष्पक्ष छानबिन गरोस् र दोषीमाथि कानुनी कारबाही गरोस्।

राइनले धार्मिक स्थलमाथि भएको आक्रमणले स्थानीय समुदायमा त्रास र असुरक्षाको भावना बढाएको समेत बताएका छन्। उनले शान्ति, सद्भाव र आपसी भाइचारालाई कायम राख्न सबै पक्षलाई संयमित हुन आग्रह गरेका छन्। स्थानीयवासीका अनुसार घटनापछि उक्त क्षेत्रमा सुरक्षा व्यवस्था थप कडा बनाइएको छ। यद्यपि, घटनामा संलग्न व्यक्तिहरूको पहिचान र क्षतिको यथार्थ विवरण सार्वजनिक भइसकेको छैन।

यसैबीच, पीडित पक्षले सरकारसँग घर, मस्जिद र मदरसामा भएको सम्पूर्ण क्षतिको उचित मूल्याङ्कन गरी राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन माग गरेको छ। घटनाबारे जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायको विस्तृत आधिकारिक धारणा आउन बाँकी रहेको छ। सुरक्षा निकायले घटनाको अनुसन्धान जारी रहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस

स्वच्छता र्‍याली र स ...

लहान साउन २५ । घरबाट सुरु हुने सरसफाइको अभ्यासलाई समुदाय हुँदै सार्वजनिक स्थलसम्म विस्तार गर्ने उद्द ...

गोलबजारमा प्रतिबन्धि ...

लहान साउन २५ । सिरहाको गोलबजार नगरपालिका क्षेत्रमा प्रहरीले प्रतिबन्धित औषधी र लागूऔषध ब्राउनसुगर जस ...

सुरक्षित शौचालय नागर ...

लहान साउन २५ । सुरक्षित शौचालयको प्रयोग, व्यक्तिगत सरसफाइ र फोहोर व्यवस्थापनलाई दैनिक जीवनको व्यवहार ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१