Siraha Times
ताजा समाचार

मुस्लिम समुदायका महिलालाई आत्मनिर्भर बनाउने लक्ष्यसहित १५ दिने गुडिया बनाउने तालिम सम्पन्न

  • असार १६, २०८३
  • ३९९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान, असार १६। मुस्लिम समुदायका महिलाको आर्थिक तथा सामाजिक सशक्तीकरण गर्ने उद्देश्यले सिरहाको भगवानपुर गाउँपालिका–२ गमहरियास्थित मुस्लिम टोलमा सञ्चालन गरिएको १५ दिने गुडिया (खेलौना) बनाउने सीपमूलक तालिम सम्पन्न भएको छ। "सिप सिकौं, स्वरोजगार बनौं" भन्ने मूल नारासहित विकासका अग्रसर पाइलाहरू, विष्णुपुर गाउँपालिका–४, सप्तरीको आयोजनामा तथा भगवानपुर गाउँपालिका, सिरहाको आर्थिक सहयोगमा २०८३ साल असार १ गतेदेखि १५ गतेसम्म सञ्चालन गरिएको उक्त तालिमको समापन समारोह सम्पन्न भएको हो।

31687a0d-6b5b-4849-93b6-bcb4a275bdf3

समापन कार्यक्रममा भगवानपुर गाउँपालिकाका अध्यक्ष उग्र नारायण यादव प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो भने कार्यक्रम वडा नं. २ का वडा अध्यक्ष सूर्य नारायण यादवको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा स्थानीय दिदीबहिनी, सामाजिक अगुवा, प्रशिक्षक, सहभागी महिलाहरूको सहभागिता रहेको थियो। समारोहलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष यादवले महिलाको आर्थिक सशक्तीकरण नै समृद्ध समाज निर्माणको आधार भएको बताउनुभयो। महिलाले सीप हासिल गरेर आफ्नै घरबाट सानो लगानीमा व्यवसाय सञ्चालन गर्न सक्ने अवस्था सिर्जना गर्नु स्थानीय सरकारको प्राथमिकतामध्ये एक रहेको उहाँले उल्लेख गर्नुभयो।

उहाँले तालिमबाट सिकेको ज्ञान र सीपलाई व्यवहारमा उतार्दै आयआर्जनको माध्यम बनाउन सहभागी महिलाहरूलाई आग्रह गर्नुभयो। "सीप भनेको जीवनभर साथ दिने सम्पत्ति हो। यही सीपको माध्यमबाट महिलाहरू आत्मनिर्भर बन्न सक्छन्, परिवारको आर्थिक अवस्था सुधार्न सक्छन् र समाजमा सम्मानित जीवनयापन गर्न सक्छन्," उहाँले भन्नुभयो। अध्यक्ष यादवले मुस्लिम समुदायका चेलीबेटीहरूको शिक्षा र सशक्तीकरणमा विशेष जोड दिँदै कम्तीमा १८ वर्ष उमेर पूरा भएपछि मात्र विवाह गर्नुपर्ने सन्देश दिनुभयो। उहाँले बालविवाहले शिक्षा, स्वास्थ्य, रोजगारी र समग्र भविष्यमा नकारात्मक असर पार्ने भएकाले सबै अभिभावकलाई आफ्ना छोरीहरूलाई शिक्षित र सक्षम बनाउन आग्रह गर्नुभयो।

"छोरीहरू आर्थिक रूपमा आत्मनिर्भर भए परिवार मात्र होइन, सिंगो समाजको विकास सम्भव हुन्छ। त्यसैले प्रत्येक चेलीबेटीले आफ्नो खुट्टामा उभिन सक्ने क्षमता विकास गर्नु आवश्यक छ," उहाँले थप्नुभयो।

कार्यक्रममा राजेन्द्र प्रसाद यादव, कृष्ण देव यादव, रहमान मियाँ तथा तालिमकी प्रशिक्षक रिता महतो लगायतले पनि शुभकामना दिएका थिए। वक्ताहरूले महिलालाई सीपसँग जोड्ने यस्ता कार्यक्रमले गरिबी न्यूनीकरण, घरेलु उद्योगको विकास तथा स्थानीय उत्पादन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे। तालिमकी प्रशिक्षक रिता महतोले १५ दिनसम्म सहभागी महिलाहरूलाई विभिन्न प्रकारका आकर्षक गुडिया तथा हस्तनिर्मित खेलौना तयार गर्ने विधि, आवश्यक सामग्रीको छनोट, डिजाइन, सिलाइ, सजावट तथा बजारमा बिक्रीयोग्य उत्पादन तयार गर्ने व्यावहारिक ज्ञान प्रदान गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार सहभागीहरूले तालिम अवधिभर उत्साहका साथ सिक्दै गुणस्तरीय उत्पादन तयार गरेका छन्।

तालिममा सबाना खातुन, सजदा खातुन, नाजबानो खातुन, रजनी खातुन, नगमा खातुन, रुबी खातुन, सहेना खातुन, नासरिन खातुन, समिना खातुन, सावाना खातुन, जहिदा खातुन, नजिरा खातुन, जैनव खातुन, चाँदनी खातुन, सुबैदा खातुन, कसरुण खातुन, सैवा खातुन, सवारिन खातुन तथा नजदा खातुन गरी २० जना महिलाको सहभागिता रहेको थियो। सहभागी महिलाहरूले तालिमबाट प्राप्त सीपले आफूहरूलाई घरमै बसेर आयआर्जन गर्ने आत्मविश्वास मिलेको बताएका छन्। उनीहरूले आगामी दिनमा सामूहिक रूपमा गुडिया तथा अन्य हस्तकलाका सामग्री उत्पादन गरी स्थानीय तथा बाह्य बजारमा बिक्री वितरण गर्ने योजना रहेको बताएका छन्।

आयोजक संस्था विकासका अग्रसर पाइलाहरूले महिलाको आर्थिक अवस्था सुदृढ बनाउने, स्वरोजगारका अवसर सिर्जना गर्ने तथा सीपमा आधारित उद्यमशीलता विकास गर्ने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। संस्थाले आगामी दिनमा पनि विभिन्न समुदायका महिलालाई लक्षित गरी सीपमूलक तथा आयमूलक तालिमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

कार्यक्रमको अन्त्यमा सहभागी महिलाहरूलाई बधाई दिँदै सिकेको सीपलाई व्यवहारमा उतार्न, आत्मनिर्भर बन्न र समाजमा सकारात्मक परिवर्तनको उदाहरण प्रस्तुत गर्न आग्रह गरिएको थियो। स्थानीय सरकार, गैरसरकारी संस्था र समुदायबीचको सहकार्यबाट सञ्चालन गरिएका यस्ता कार्यक्रमले महिलाको आर्थिक सशक्तीकरणसँगै सामाजिक रूपान्तरणमा समेत महत्वपूर्ण भूमिका खेल्ने विश्वास सहभागीहरूले व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस

विद्यालय बसको दुर्घट ...

ओम प्रकाश यादव लहान, असार १६। सिरहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँपालिकामा विद्यालय बसको दुर्घटनामा ...

स्वच्छ तथा सफा घर अभ ...

ओम प्रकाश यादव लहान, असार १६। सिरहाको अर्नामा गाउँपालिका–२ स्थित महरा टोलमा प्लान इन्टरनेसनल न ...

विशेष सूचनाका आधारमा ...

ओम प्रकाश यादव लहान, असार १६। सिरहा जिल्लाको धनगढीमाई नगरपालिका–३ कुर्वा टोलबाट प्रहरीले १४ कि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१