Siraha Times
ताजा समाचार

लुम्बिनीमा वसन्ते धान खेतीको प्राविधिक टोलीको अनुगमन

  • असार ११, २०८३
  • ४४३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

भैरहवा असार ११ । कोपिया नेपालले असार ३ र ४ गते लुम्बिनी प्रदेशका परासी, कपिलवस्तु र रुपन्देही जिल्लामा सञ्चालन भइरहेका वसन्ते धान प्रवर्द्धन कार्यक्रम तथा प्रदर्शन प्लटहरूको स्थलगत अनुगमन गरेको छ। अनुगमन टोलीमा कोपिया नेपालका निर्देशक डा. सोङ योङ–जु, परामर्शदाता डा. सुरेन्द्रलाल श्रेष्ठ, अनुसन्धानकर्ता याङ ह्योनसिओ तथा राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम, हर्दिनाथका वरिष्ठ वैज्ञानिक डा. पल्लवी सिंह सहभागी थिए।

अनुगमनका क्रममा निर्देशक डा. सोङ योङ–जुले धान रोपाइँका बेला किसानहरूले साना देखिने तर अत्यन्त महत्वपूर्ण प्राविधिक पक्षहरूमा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो। उहाँले कतिपय किसानहरूले एकै थुम्कामा ६–७ वटादेखि १०–११ वटासम्म बेर्ना रोप्ने गरेको पाइएको उल्लेख गर्दै यस्तो अभ्यास वैज्ञानिक रूपमा उपयुक्त नभएको बताउनुभयो।

उहाँका अनुसार अत्यधिक बेर्ना रोप्दा बिरुवाबीच मलखाद, घाम, पानी तथा अन्य स्रोतको उपयोगमा प्रतिस्पर्धा बढ्छ, जसले अन्ततः उत्पादनमा नकारात्मक असर पार्न सक्छ। बेर्ना उखेल्ने क्रममा पनि सावधानी अपनाउन सुझाव दिँदै उहाँले सुख्खा अवस्थामा बेर्ना उखेल्दा जरामा क्षति पुग्ने र त्यसले बिरुवाको वृद्धि तथा उत्पादन क्षमतामा असर पुर्‍याउने बताउनुभयो।

अनुगमनका क्रममा परासी जिल्लाको रामग्राम नगरपालिकाका किसान सदानन्दन यादव र निरही यादवले पहिलो पटक वसन्ते धान खेती गरेको अनुभव सुनाउँदै यसबाट अतिरिक्त आम्दानी प्राप्त भएको बताए। उनीहरूले विशेषगरी ‘हर्दिनाथ–१’ जात मन परेको उल्लेख गर्दै परियोजनाप्रति आभार व्यक्त गरे।

यस्तै, कपिलवस्तुको बाणगंगा नगरपालिका–ओदारीका किसान गोविन्द चौधरीले ‘हर्दिनाथ–१’ जातको उच्च उत्पादन क्षमता र छिटो पाक्ने विशेषताप्रति सन्तुष्टि व्यक्त गरे। रुपन्देहीका किसान हबीब मोहम्मद मुसलमान, जितेन्द्र मौर्य तथा धर्मेन्द्र लोधले खेतमा रहेको धानबालीको अवस्था उत्साहजनक रहेको भन्दै राम्रो उत्पादनको अपेक्षा व्यक्त गरे।

किसानहरूले ‘हर्दिनाथ–१’ जातलाई विशेषगरी यसको छिटो पाक्ने गुणका कारण रुचाएको बताएका छन्। वसन्ते धान खेतीका प्रमुख समस्याबारे जानकारी लिने क्रममा किसानहरूले स्थानीय तह तथा विभिन्न परियोजनाको सहयोगमा सिँचाइका लागि बोरिङको व्यवस्था भएकाले पानीको समस्या नरहेको बताए। तर, बाली पाक्ने समयमा चराचुरुङ्गीबाट हुने क्षति भने प्रमुख चुनौतीका रूपमा रहेको उनीहरूको भनाइ थियो।

प्रदर्शन कार्यक्रमको नियमित सुपरिवेक्षण मायादेवी नगरपालिका कि कृषि अधिकृत शशी ढुंगानाले गरिरहेकी छन्। अनुगमन कार्यक्रमको व्यवस्थापन तथा समन्वयमा राष्ट्रिय गहुँ अनुसन्धान कार्यक्रम, भैरहवाका डा. रोशन बस्नेत र प्राविधिक अधिकृत राजेन्द्र यादवले महत्वपूर्ण भूमिका निर्वाह गरेको जनाइएको छ।

कार्यक्रमका क्रममा परियोजना प्रमुख डा. पल्लवी सिंहले संघीय, प्रदेश तथा स्थानीय सरकारबीचको सहकार्य र समन्वयले कृषि विकासमा उल्लेखनीय योगदान पुर्‍याउने बताउनुभयो। उहाँले साझा उद्देश्यका साथ सबै निकाय मिलेर काम गर्दा समस्याको समाधान छिटो, प्रभावकारी र दिगो रूपमा गर्न सकिने धारणा व्यक्त गर्नुभयो।

कोपिया नेपालको सहयोगमा लुम्बिनी प्रदेशमा सञ्चालन भइरहेको वसन्ते धान प्रवर्द्धन कार्यक्रमले किसानहरूमा नयाँ उत्साह थपेको छ। उन्नत प्रविधि र उपयुक्त जातको प्रयोगमार्फत उत्पादन तथा आम्दानी वृद्धि हुने सम्भावना बढेको सहभागीहरूको विश्वास छ।

प्रतिक्रिया दिनुहोस

खडक–५ बालमैत्री स्था ...

ओम प्रकाश यादव लहान, असार ११ । सप्तरी जिल्लाको खडक नगरपालिका वडा नं. ५ लाई औपचारिक रूपमा ‘बाल ...

खडक नगरपालिकाको १८औँ ...

ओम प्रकाश यादव लहान, असार ११ । “खडक नगरपालिकाको अभियान, समाजवाद उन्मुख आधार निर्माण” भन् ...

सीपमूलक तालिमपछि आत् ...

ओम प्रकाश यादव लहान, असार ११। सिरहाको लहान नगरपालिका वडा नम्बर ९ मा स्थानीय महिलाहरूको आर्थिक सशक्ति ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१