Siraha Times
ताजा समाचार

समर्पित शिक्षक टोलीको मेहनतले फेरियो खैरबोना आधारभूत विद्यालयको मुहार, सर्वसम्मतिमा गठन भयो विद्यालय व्यवस्थापन समिति

  • असार ५, २०८३
  • ४५६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल, लहान, ५ असार । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–४ स्थित आधारभूत विद्यालय खाइरबोनामा विद्यालय व्यवस्थापन समिति (वि.व्य.स.) सर्वसम्मत रूपमा गठन गरिएको छ। अभिभावक भेलामार्फत सम्पन्न प्रक्रिया अन्तर्गत दुई जना महिलासहित चार जना सदस्य सर्वसम्मत रूपमा चयन गरिएको विद्यालयले जनाएको छ।

विद्यालय व्यवस्थापन समिति गठन प्रक्रिया सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएकोमा विद्यालयका प्रधानाध्यापक रामखेलाउन यादवले सम्पूर्ण अभिभावकहरूप्रति हार्दिक आभार व्यक्त गरेका छन्। उनले विद्यालयको विकास र गुणस्तरीय शिक्षाका लागि अभिभावक, शिक्षक तथा समुदायबीचको सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रमका अवसरमा सखुवानन्कारकट्टी गाउँपालिकाका शिक्षा शाखा प्रमुख भोगेन्द्र यादवले पालिकाभित्र रहेका २० वटा विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठनका लागि पत्राचार गरिसकिएको जानकारी दिए। उनका अनुसार हालसम्म आधारभूत विद्यालय सिमराहा, लामो समयदेखि विवाद रहेको सोठीयाइन विद्यालय तथा खाइरबोना आधारभूत विद्यालयमा समिति गठन सम्पन्न भइसकेको छ भने बाँकी १७ वटा विद्यालयमा गठन प्रक्रिया अगाडि बढाइनेछ।

केही वर्षअघिसम्म विद्यार्थी संख्या घट्दै जाँदा विद्यालय मर्ज हुने अवस्था सिर्जना भएको थियो। अभिभावकहरूको विश्वास कमजोर बन्दै गएको अवस्थामा प्रधानाध्यापक रामखेलाउन यादवको नेतृत्वमा विद्यालयले नयाँ गति लिएको स्थानीय अभिभावकहरू बताउँछन्।

प्रधानाध्यापक यादवसँगै शिक्षिका विनिता, रञ्जिता तथा कार्यालय सहयोगी राजकुमार यादवको निरन्तर मेहनतले विद्यालयको शैक्षिक तथा व्यवस्थापकीय वातावरणमा उल्लेखनीय सुधार आएको छ। शिक्षक टोलीले विद्यालयलाई पुनः समुदायको विश्वास जिताउन विभिन्न अभियान सञ्चालन गर्दै आएको छ।

विद्यालयका शिक्षकहरू नियमित रूपमा विद्यालय समयभन्दा अगाडि नै उपस्थित हुने, विद्यार्थी तथा अभिभावकसँग प्रत्यक्ष सम्पर्क कायम गर्ने, घरदैलो अभियान सञ्चालन गर्ने तथा विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयसम्म ल्याउने कार्यमा सक्रिय देखिएका छन्।

प्रधानाध्यापक यादव स्वयं टोल–बस्तीमा पुगेर बालबालिकासँग घुलमिल हुने, अभिभावकसँग छलफल गर्ने तथा विद्यालयप्रति सकारात्मक वातावरण निर्माण गर्ने अभियानमा जुटेका छन्। शिक्षकहरूले विद्यार्थीलाई पढाइसँगै अभिभावकसरह माया, हौसला र मार्गदर्शन प्रदान गरिरहेको स्थानीयहरू बताउँछन्।

विद्यालयले निकट भविष्यमा अंग्रेजी माध्यमबाट पठनपाठन सञ्चालन गर्ने तयारीसमेत गरेको छ। अभिभावक भेलामा शिक्षक टोलीले निजी विद्यालयमा जस्तै विश्वासका साथ आफ्ना बालबालिकालाई सरकारी विद्यालयमा पठाउन आग्रह गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिबद्धता जनाएको थियो।

“तपाईंहरूले निजी विद्यालयमा जस्तो विश्वासका साथ आफ्ना छोराछोरी यहाँ पठाउनुस्, राम्रो वातावरण र गुणस्तरीय शिक्षा दिने जिम्मेवारी हाम्रो हो,” शिक्षक टोलीले अभिभावकहरूलाई आश्वस्त पारेको थियो। विद्यालयको शैक्षिक अवस्था र व्यवस्थापनमा उल्लेखनीय सुधार भए पनि आवश्यक भौतिक पूर्वाधार तथा स्रोत–साधनको अभाव अझै रहेको विद्यालय पक्षको भनाइ छ। नवगठित विद्यालय व्यवस्थापन समितिले आवश्यक स्रोत व्यवस्थापन गर्न सके आगामी दिनमा विद्यालय थप आकर्षक शैक्षिक केन्द्रका रूपमा स्थापित हुने विश्वास विद्यालय परिवारले व्यक्त गरेको छ।

प्रधानाध्यापक रामखेलाउन यादवले “थोरै लगानीमा राम्रो विद्यार्थी उत्पादन गर्ने जिम्मेवारी हाम्रो हो” भन्दै अभिभावकहरूलाई ढुक्क भएर आफ्ना बालबालिकालाई विद्यालयमा भर्ना गराउन आग्रह गरेका छन्। स्थानीय समुदाय, अभिभावक र शिक्षकबीचको सहकार्यले खाइरबोना आधारभूत विद्यालयमा सकारात्मक परिवर्तनको संकेत देखिएको छ। शिक्षा क्षेत्रमा सरकारी विद्यालयप्रतिको विश्वास पुनः स्थापित गर्ने उदाहरणका रूपमा यो विद्यालयलाई हेरिन थालेको छ।

प्रतिक्रिया दिनुहोस

एलएमसी कलेजको शतप्रत ...

लाहान, असार ७। सिराहाको लाहान–७ स्थित एलएमसी कलेजले यस वर्षको कक्षा १२ को नतिजामा शतप्रतिशत सफ ...

साउदी अरबमा अलपत्र प ...

ओम प्रकाश यादव,लहान, असार ७ । सप्तरी जिल्लाको सुरुङ्गा नगरपालिका–४ निवासी मृगेन्द्र कुमार मण्ड ...

भगवानपुरमा हाउस वायर ...

ओम प्रकाश यादव लहान, असार ७ । युवाहरूलाई सीपयुक्त, आत्मनिर्भर र स्वरोजगारमुखी बनाउने उद्देश्यले सिरह ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१