ओम प्रकाश यादव लहान, असार २ । “चुरेको माटो चुरेलाई, सफा पानी हामीलाई” भन्ने मूल नाराका साथ बार्हौँ चुरे संरक्षण दिवस–२०८३ को अवसरमा सिरहाको धनगढीमाई नगरपालिका–१२ विष्णुपुरकट्टीस्थित सिमलटोकी सामुदायिक वन क्षेत्रमा वृक्षारोपण तथा संरक्षण सचेतना कार्यक्रम सम्पन्न भएको छ।
नेपाल सरकारको राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति, कार्यक्रम कार्यान्वयन इकाई सलमपुर, मोरङ को आयोजनामा तथा सिमलटोकी सामुदायिक वन उपभोक्ता समूह को सहकार्यमा आयोजित कार्यक्रममा विभिन्न जातका बिरुवा रोपेर चुरे संरक्षणको सन्देश प्रवाह गरिएको थियो। कार्यक्रममा बोल्दै सामुदायिक वन उपभोक्ता समूहकी सदस्य रामकुमारी महतो ले स्थानीय बासिन्दाले आफ्नो क्षमताअनुसार वन तथा वातावरण संरक्षण गर्दै आएको बताइन्। उनले संरक्षण कार्यमा समुदाय सधैँ अग्रसर रहे पनि सम्बन्धित निकायबाट अपेक्षित सहयोग नपाएको गुनासो गरिन्।
“हामीले सकेजति संरक्षण गरिरहेका छौँ। तर यहाँका नागरिकका लागि छठ पर्व मनाउन एउटा व्यवस्थित छठ घाट निर्माण गरिदिए हामी आभारी हुने थियौँ,” उनले भनिन्। उनले नदिको तीव्र कटानका कारण स्थानीयको उब्जाउ जमिनसँगै सामुदायिक वन क्षेत्र समेत जोखिममा पर्दै गएको उल्लेख गर्दै संरक्षणका लागि दीर्घकालीन योजना आवश्यक रहेको बताइन्।
कार्यक्रमलाई थप आकर्षक बनाउन श्री हिमालय माध्यमिक विद्यालय, सिमलटोकी का छात्रछात्राहरूले गीत, संगीत, कविता तथा सांस्कृतिक प्रस्तुति दिएका थिए। उनीहरूको प्रस्तुतीले वातावरणीय संरक्षणप्रति जनचेतना फैलाउनुका साथै कार्यक्रमलाई मनोरञ्जनात्मक बनाएको सहभागीहरूले बताएका छन्।
राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिका प्रमुख मीनमार तामाङ को अध्यक्षतामा सम्पन्न कार्यक्रममा सिरहा जिल्ला समन्वय समिति का प्रमुख दिनेश महतो प्रमुख अतिथिका रूपमा सहभागी थिए। त्यस्तै धनगढीमाई नगरपालिकाका प्रमुख शिवशंकर महतो, सिमलटोकी सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारी, स्थानीय जनप्रतिनिधि, वन उपभोक्ता तथा गाउँका महिला दिदीबहिनीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा धनगढीमाई नगरपालिका–१२ का वडा अध्यक्ष जयप्रकाश ठाकुर ले चुरे संरक्षण दिवस मनाउन गाउँमा उपस्थित सबै अतिथि तथा सहभागीलाई धन्यवाद व्यक्त गर्दै यस क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सम्बन्धित निकायसँग आग्रह गरे।
उनले भने, “यस क्षेत्रमा प्राकृतिक सौन्दर्य र सम्भावना प्रशस्त छ। स्थानीय जनताको आर्थिक तथा सामाजिक विकासका लागि यस स्थानलाई पर्यटकीय स्थलका रूपमा विकास गरिनुपर्छ।” वक्ताहरूले चुरे क्षेत्रको संरक्षण, वन विनाश नियन्त्रण, जलस्रोतको संरक्षण तथा वातावरणीय सन्तुलन कायम राख्न राज्य, स्थानीय तह र समुदायबीच सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए। वृक्षारोपणसँगै सम्पन्न कार्यक्रमले चुरे संरक्षणप्रति स्थानीय समुदायको प्रतिबद्धता पुनः उजागर गरेको आयोजकले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic