ओम प्रकाश यादव लहान, वैशाख २० । मातृ तथा शिशु स्वास्थ्य सुदृढ गर्ने उद्देश्यले लहान नगरपालिकामा ‘सुनौलो हजार दिनका आमाहरूसँग ५ वर्षमुनिका बालबालिकाको समुदायस्तरमा पोषण लेखाजोखा कार्यक्रम’ सुरु गरिएको छ। हेलन केलर इन्टरनेशनलको सहयोग तथा लहान नगरपालिकाको आयोजनामा कार्यक्रम सञ्चालनमा आएको हो।

लहान नगरपालिका–७ स्थित केयर सेन्टरबाट सुरु गरिएको यस कार्यक्रमअन्तर्गत गर्भवती तथा सुत्केरी आमा र पाँच वर्षमुनिका बालबालिकाको पोषण अवस्थाको समुदायमै पुगेर मूल्याङ्कन गरिनेछ। कार्यक्रममार्फत कुपोषणको अवस्था पहिचान गरी आवश्यक परामर्श प्रदान गर्नुका साथै जटिल अवस्थामा सम्बन्धित सन्दर्भ केन्द्रमा प्रेषण गर्ने व्यवस्था गरिएको छ।
कार्यक्रमको उद्घाटन लहान नगरपालिकाका नगर प्रमुख महेश चौधरी ले गरेका थिए। उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले बालबालिकाको जीवनको प्रारम्भिक ‘सुनौलो हजार दिन’ लाई शारीरिक, मानसिक तथा बौद्धिक विकासको आधारभूत चरणका रूपमा व्याख्या गर्दै यस अवधिमा पोषणमा विशेष ध्यान दिनुपर्ने बताए। उनले स्वस्थ आमा र स्वस्थ बालबालिका निर्माणका लागि यस्ता कार्यक्रम अत्यन्त आवश्यक रहेको उल्लेख गरे।
दलित विकास मंच गोलबजारको सहकार्यमा सञ्चालन भइरहेको उक्त कार्यक्रम सिरहाका १७ वटा स्थानीय तहमा विस्तार गरिएको दलित विकास मंचका कार्यकारी निर्देशक संजय महरा ले जानकारी दिए। उनका अनुसार समुदायमै पुगेर पोषण अवस्था मूल्याङ्कन गर्ने यस अभियानले कुपोषणको जोखिम समयमै पहिचान गर्न र त्यसको न्यूनीकरणमा प्रभावकारी योगदान पुर्याउने अपेक्षा गरिएको छ।
पोषण सहजकर्ता सरस्वती विश्वकर्मा र शोभा महरा का अनुसार आजको कार्यक्रममा करिब ४० जना बालबालिकाको पोषण स्क्रिनिङ गर्ने लक्ष्य राखिएको छ। स्क्रिनिङमार्फत बालबालिकाको तौल, उचाइ, पोषण अवस्था तथा स्वास्थ्य जोखिमको मूल्याङ्कन गरिनेछ।
कार्यक्रममा सहभागी सेवाग्राहीहरूले यसलाई मानव स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने, समयसापेक्ष र प्रभावकारी पहलका रूपमा लिएका छन्। उनीहरूले समुदायमै यस्ता सेवा उपलब्ध हुँदा आमा तथा बालबालिकाको स्वास्थ्य अवस्था सुधारमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।
यस कार्यक्रमले स्थानीय आमाहरूमा सन्तुलित आहार, शिशुलाई स्तनपान गराउने अभ्यास, व्यक्तिगत सरसफाइ तथा बाल हेरचाहसम्बन्धी व्यवहारमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ। लहान नगरपालिकाले यस्ता पोषणसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिँदै कुपोषण न्यूनीकरण तथा स्वस्थ समुदाय निर्माणमा थप पहल गर्ने प्रतिबद्धता जनाएको छ।
प्रतिक्रिया दिनुहोस
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic