ओम प्रकाश यादव लहान, १८ वैशाख । लहान नगरपालिका–१५, ढोडनास्थित श्री राजदेवी पञ्चावती मन्दिरमा लाग्ने प्रसिद्ध चण्डीपूर्णिमा मेलाको रौनक मुख्य दिनअघि नै सुरु भएको छ। आज रातिदेखि नै मन्दिर परिसरमा भक्तजनको भीड बढ्न थालेपछि सम्पूर्ण क्षेत्र झिलिमिली बत्ती, धार्मिक उत्साह र चहलपहलले भरिएको छ।
धार्मिक तथा पर्यटकीय दृष्टिले अत्यन्त महत्वपूर्ण मानिने यो मन्दिर चण्डीपूर्णिमाका अवसरमा गढीमाई मन्दिरपछि सबैभन्दा बढी बलि चढाइने स्थलका रूपमा परिचित छ। सलहेश क्षेत्रअन्तर्गत पर्ने राजदेवी मन्दिरमा हरेक वर्ष एकपटक भव्य मेला लाग्ने परम्परा रहँदै आएको छ।
मन्दिर संरक्षण समितिका सचिव वीरुद्रकुमार चौधरीका अनुसार यस वर्ष चण्डीपूर्णिमा मेलामा करिब १० लाख भक्तजन सहभागी हुने अनुमान गरिएको छ। भक्तजनको भीड व्यवस्थापन, सुरक्षा, सरसफाइ, पार्किङ तथा दर्शनलाई सहज बनाउन नौवटा उपसमिति गठन गरी तयारीलाई तीव्रता दिइएको उनले जानकारी दिए।
गत वर्ष मन्दिरमा करिब १९ हजार बोकाको बलि चढाइएको थियो भने यस वर्ष उक्त संख्या २५ हजार पुग्ने अनुमान गरिएको छ। भेटी तथा पूजा व्यवस्थापनबाट मात्रै गत वर्ष करिब २५ लाख रुपैयाँ संकलन भएको समितिले जनाएको छ। मन्दिरको वार्षिक आम्दानी झण्डै ४० लाख रुपैयाँ पुग्ने बताइएको छ।
मन्दिरका पुजारी तथा संरक्षण समितिका सल्लाहकार गौरीबहादुर भट्टका अनुसार २०४९ सालअघि ढोडना गाउँका सीमित परिवारले मात्र यहाँ पूजा गर्ने गर्दथे। मन्दिर निर्माणपछि विभिन्न स्थानबाट आउने भक्तजनले भाकल गरेअनुसार मनोकामना पूरा भएको विश्वास फैलिँदै गएको उनले बताए। विशेषगरी सन्तान प्राप्तिको कामनासहित आउने श्रद्धालुको संख्या उल्लेखनीय रूपमा बढेको छ। यही विश्वासका कारण नेपाल र भारतबाट लाखौं भक्तजन यहाँ पुग्ने गरेका छन्।
राजदेवी मन्दिरसँग जोडिएका किंवदन्ती र धार्मिक विश्वासले पनि यस क्षेत्रको महत्व अझ बढाएको छ। पुजारी भट्टका अनुसार तत्कालीन प्रधानमन्त्री मोहनशमशेर राणा हात्ती चढेर यस क्षेत्रमा आउँदा हात्ती हराएको र त्यसपछि गाउँमा पशुचौपाया मर्न थालेको जनश्रुति छ। स्थानीयवासीले देवीको पूजा गरेपछि समस्या समाधान भएको विश्वास गरिन्छ। त्यसयता जङ्गल क्षेत्रभित्र रहेको यो देवीस्थल धार्मिक आस्थाको प्रमुख केन्द्रका रूपमा स्थापित हुँदै आएको छ।
धार्मिक पर्यटनको विस्तारसँगै मन्दिर आसपासको जमिनको मूल्यमा समेत उल्लेखनीय वृद्धि भएको छ। स्थानीयका अनुसार हाल यहाँ एक कट्टा जमिनको मूल्य ५० लाख रुपैयाँसम्म पुगेको छ।
लहान–२२ मा रहेको सलहेश फूलवारी र लहान–१५ को राजदेवी पञ्चावती मन्दिरले यस क्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याएका छन्। स्थानीयवासीले यी धार्मिक सम्पदाको संरक्षण, पूर्वाधार विकास र पर्यटन प्रवर्द्धनका लागि संघ, प्रदेश तथा स्थानीय सरकारले विशेष योजना ल्याउनुपर्ने माग गरेका छन्।
प्रतिक्रिया दिनुहोस
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic