Siraha Times
ताजा समाचार

नेपाल प्रहरीसँग बालविवाह अन्त्यका लागि सिरहामा जिल्ला स्तरीय अन्तरक्रिया सम्पन्न

  • वैशाख ११, २०८३
  • १३७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान वैशाख ११ । बालविवाह न्यूनीकरण तथा बालअधिकार संरक्षणको उद्देश्यले सिरहाको मिर्चैयामा नेपाल प्रहरीसँग जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। “बालविवाह जिन्दगी तबाह” भन्ने सशक्त नाराका साथ आयोजित उक्त कार्यक्रम दलित विकास मञ्च (DDF), गोलबजार, सिरहाको आयोजनामा तथा इलाका प्रहरी कार्यालय मिर्चैयाको समन्वयमा सम्पन्न भएको हो।

इलाका प्रहरी कार्यालय मिर्चैयाको सभाहलमा आयोजित कार्यक्रममा दलित विकास मञ्चका सल्लाहकार रामचन्द्र महराको अध्यक्षता रहेको थियो भने इलाका प्रहरी कार्यालय मिर्चैयाका इन्स्पेक्टर विकास पासमान प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा बालविवाह न्यूनीकरण कार्यक्रमकी कार्यक्रम संयोजक सरिता महराको समेत विशेष सहभागिता रहेको थियो।

कार्यक्रमको मुख्य उद्देश्य सिरहा जिल्लामा अझै विद्यमान बालविवाहजस्तो सामाजिक कुरीतिलाई अन्त्य गर्न सरोकारवाला निकायबीच समन्वय, सहकार्य र साझा प्रतिबद्धता विकास गर्नु रहेको आयोजकले जनाएको छ। बालविवाहले बालबालिकाको शिक्षा, स्वास्थ्य, मानसिक विकास तथा भविष्यमा गम्भीर असर पार्ने भएकाले यसको अन्त्यका लागि समुदायस्तरदेखि सरकारी निकायसम्म एकजुट हुनुपर्ने आवश्यकता कार्यक्रममा औंल्याइएको थियो।

अध्यक्षीय मन्तव्य राख्दै रामचन्द्र महराले बालविवाह नेपाली समाजमा अझै जटिल सामाजिक चुनौतीका रूपमा रहेको बताउनुभयो। उहाँले बालविवाहले विशेषगरी दलित, विपन्न तथा सीमान्तकृत समुदायका बालबालिकालाई बढी असर पारिरहेको उल्लेख गर्दै यसको न्यूनीकरणका लागि सबै पक्षको सक्रिय भूमिका आवश्यक रहेको धारणा राख्नुभयो। “बालविवाहले बालबालिकाको वर्तमान मात्र होइन, समग्र भविष्यलाई अन्धकारतर्फ धकेल्छ। यसलाई अन्त्य गर्न परिवार, समाज, विद्यालय, प्रहरी र स्थानीय सरकार सबैको साझा प्रयास अपरिहार्य छ,” उहाँले भन्नुभयो।

प्रमुख अतिथि इन्स्पेक्टर विकास पासमानले नेपाल प्रहरीले बालविवाह नियन्त्रण तथा रोकथामलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो। उहाँले बालविवाह कानुनी रूपमा दण्डनीय अपराध भएको स्पष्ट पार्दै यस्ता घटनाको जानकारी पाएमा तत्काल प्रहरीलाई सूचना दिन आग्रह गर्नुभयो। “बालविवाह केवल सामाजिक समस्या मात्र होइन, यो कानुनी अपराध पनि हो। बालबालिकाको अधिकार संरक्षण गर्नु हाम्रो साझा दायित्व हो,” उहाँले बताउनुभयो।

उहाँले अभिभावक, शिक्षक, समाजसेवी, जनप्रतिनिधि तथा युवाहरूलाई बालविवाह विरुद्ध सचेतना फैलाउन आह्वान गर्दै प्रहरी सधैं समुदायसँग सहकार्य गर्न तयार रहेको उल्लेख गर्नुभयो। बालविवाह अन्त्यका लागि कानुनी कार्यवाहीसँगै जनचेतना अभिवृद्धि अपरिहार्य रहेको उहाँको भनाइ थियो।

कार्यक्रममा दलित विकास मञ्चकी कार्यक्रम संयोजक सरिता महराले सिरहा जिल्लामा सञ्चालन भइरहेको बालविवाह न्यूनीकरण कार्यक्रमबारे जानकारी गराउनुभयो। उहाँले समुदायस्तरमा चेतनामूलक अभियान, अभिभावक अभिमुखीकरण, किशोरकिशोरी समूह परिचालन, विद्यालयस्तरीय कार्यक्रम तथा सरोकारवालासँग समन्वय गर्दै बालविवाह विरुद्ध अभियान सञ्चालन भइरहेको बताउनुभयो।

उहाँका अनुसार बालविवाहले विशेषगरी किशोरीहरूको शिक्षा बीचमै रोक्ने, स्वास्थ्यमा गम्भीर असर पार्ने, घरेलु हिंसा बढाउने तथा आर्थिक परनिर्भरता सिर्जना गर्ने गर्दछ। त्यसैले बालविवाह न्यूनीकरणका लागि दीर्घकालीन रणनीति, निरन्तर जनचेतना र प्रभावकारी कानुनी कार्यान्वयन आवश्यक छ।

अन्तरक्रियामा सहभागीहरूले बालविवाह अन्त्यका लागि स्थानीय तह, प्रहरी, नागरिक समाज, विद्यालय, अभिभावक तथा समुदायबीच थप समन्वय आवश्यक रहेको धारणा राखेका थिए। बालविवाह रोकथाममा सूचना प्रवाह, विद्यालय शिक्षा, किशोरकिशोरी सशक्तीकरण तथा कानुनी सचेतना महत्वपूर्ण पक्ष रहेको उनीहरूको भनाइ थियो।

कार्यक्रमले बालविवाह विरुद्धको अभियानलाई थप सशक्त बनाउन, सरोकारवाला निकायबीच सहकार्य विस्तार गर्न तथा बालअधिकार संरक्षणप्रति सामूहिक प्रतिबद्धता व्यक्त गर्न महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ।

बालविवाह अन्त्यका लागि समाजका सबै तह र तप्काको सक्रिय सहभागिता अपरिहार्य रहेको निष्कर्षसहित कार्यक्रम सम्पन्न भएको थियो। सहभागीहरूले “बालविवाहमुक्त समाज निर्माण” को लक्ष्य हासिल गर्न निरन्तर सहकार्य र अभियान सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस

लहानमा ‘विल्डअन’सँग ...

सिरहाटाइम्स वैशाख ११ । विद्यालय भवनको अभाव र जीर्ण अवस्थालाई मध्यनजर गर्दै लहान नगरपालिकाले अन्तर्रा ...

“यातायातमा खुला लुट: ...

रंजित चौरसिया,वीरगंज ११ बैशाख । यातायात व्यवस्था कार्यालय वीरगंजका “च झ” फाँट प्रमुख अधि ...

सप्तरी निवासी सव-इन् ...

उमेश कुमार साह राजबिराज । सप्तरीकाे खडक नगरपालिका वडा -१ ससिस्वा गाउँका हृदय नारायण साह र मीनाद ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१