ओम प्रकाश यादव, लहान, चैत १५ । तलबसहित विभिन्न रकम निकासा माग गर्दै लहान नगरपालिकाका सामुदायिक विद्यालयका शिक्षकहरू आन्दोलनमा उत्रिएका छन्। लामो समयदेखि तलब नपाएको भन्दै आक्रोशित शिक्षकहरूले आइतबार इलाका प्रशासन कार्यालय लहानमार्फत प्रधानमन्त्री कार्यालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र जिल्ला प्रशासन कार्यालयलाई सम्बोधन गर्दै ज्ञापनपत्र बुझाएका छन्।
शिक्षकहरूको भनाइ अनुसार नगरपालिकाको खाता रोक्का भएपछि उनीहरूले पुस महिनादेखि तलब पाउन सकेका छैनन्। सोही कारणले उनीहरूको दैनिक जीवन कष्टकर बन्दै गएको छ। विद्यालयका प्रधानाध्यापक नारायण प्रसाद साहले ज्ञापनपत्र बुझाउँदै तीन दिनभित्र समस्या समाधान नभए चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका छन्।
उनका अनुसार तलब भत्ता मात्र नभई पाठ्यपुस्तक खरिद, छात्रवृत्ति वितरण, ननसेलरी बजेट, दिवा खाजा कार्यक्रम, विद्यालय व्यवस्थापन अनुदान, संघीय अनुदान तथा स्वयंसेवक शिक्षकहरूको पारिश्रमिक समेत रोकिएको छ। यसले आगामी शैक्षिक सत्र नै प्रभावित हुने देखिएको उनले बताए। “तलब नपाउँदा घरखर्च चलाउन, छोराछोरीको विद्यालय शुल्क तिर्न र बैंक ऋणको ब्याज बुझाउन समेत समस्या भएको छ,” उनले गुनासो गरे। यसअघि नगरपालिकाका कर्मचारीहरूले पनि खाता सञ्चालनको माग गर्दै ज्ञापनपत्र बुझाएका थिए।
तर, अझैसम्म समस्या समाधान हुन सकेको छैन। नगरपालिकाको खाता रोक्का हुनुको मुख्य कारण प्रमुख प्रशासकीय अधिकृतको सरुवा विवाद रहेको बताइएको छ। हाल लहान नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा जयकान्त झा कार्यरत छन्। उनलाई केही दिनअघि मन्त्रालयले सरुवा गर्दै खिम भुजेललाई पठाएको थियो। तर, आफ्नो अनिवार्य अवकाश हुन ६ महिनाभन्दा कम समय बाँकी रहेको भन्दै झाले सरुवाविरुद्ध प्रशासकीय अदालतमा मुद्दा दायर गरेका थिए।
सो मुद्दामा अदालतले फागुन ११ गते सरुवालाई यथास्थितिमा राख्ने निर्णय गरेको थियो। अदालतको आदेश आए पनि मन्त्रालयले नगरपालिकाको खाता अझै फुकुवा नगरेको कारण आर्थिक कारोबार ठप्पजस्तै भएको छ। यसले शिक्षक, कर्मचारी र विकास निर्माणका कामहरूमा प्रत्यक्ष असर परेको छ। नगरपालिकाको स्रोतका अनुसार उपप्रमुख राम चलितर महतोले अधिकृत झालाई सरुवा गराउन राजनीतिक दबाब सिर्जना गरेको आरोप छ। उनले आफू अनुकूल प्रमुख प्रशासकीय अधिकृत ल्याउन विभिन्न तहमा पहल गरेको बताइन्छ। महतो हालै राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन्।
यस विषयमा नगर प्रमुख महेश चौधरीले प्रशासकीय अधिकृतको विवादका कारण दैनिक कामकाजमा समस्या भइरहेको बताए। “नगरपालिकाको खाता रोक्का राख्नुपर्ने कुनै ठोस कारण छैन, राजनीतिक पूर्वाग्रह र दबाबका कारण समस्या सिर्जना गरिएको हो,” उनले भने।
साथै उनले मन्त्रालयलाई यथाशीघ्र समस्या समाधान गरी विकास निर्माणका कामलाई अघि बढाउन आग्रह गरेका छन्। आर्थिक वर्ष सुरु भइसकेको अवस्थामा प्रशासकीय अधिकृतको विवादले नगरपालिकाको समग्र सेवा प्रवाहमा असर परेको छ। शिक्षकहरूले समयमै तलब नपाउँदा शिक्षण सिकाइ प्रक्रिया प्रभावित हुने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिक्रिया दिनुहोस
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic