रहमुल, लहान ९ चैत्र । सप्तरीको बलान बिहुल गाउँपालिका–६ स्थित बरकी पोखरी (ठाकुर बाबा पोखरी)को डिलमा आजदेखि भव्य रूपमा महा विष्णु यज्ञको शुभारम्भ भएको छ। ८ चैत्र आइतबार बिहान ११ बजे निकालिएको कलश यात्रासँगै यज्ञ औपचारिक रूपमा सुरु गरिएको हो। कलश यात्रामा बलान बिहुल गाउँपालिकाका विभिन्न जातजाति तथा समुदायका हजारौँ श्रद्धालु भक्तजनहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
विशेषगरी महिला दिदीबहिनीहरूको ठूलो सहभागिताले कार्यक्रमलाई थप भव्य र आकर्षक बनाएको स्थानीयवासीहरूले बताएका छन्। उद्घाटन कार्यक्रममा मधेश प्रदेशका अर्थमन्त्री महेशकुमार यादव, गाउँपालिका अध्यक्ष खेमचन्द्र यादव, उपाध्यक्ष रेणु यादव, विभिन्न सुरक्षा निकायका प्रतिनिधि, नगर प्रहरी, बुद्धिजीवी, समाजसेवी तथा युवा सञ्जालका अभियन्ताहरूको उपस्थिति रहेको थियो। साथै लहान नगरपालिकाबाट आएका चर्चित “भाइरल बाबा”को समेत उपस्थिति कार्यक्रमको आकर्षण बनेको थियो।
गाउँपालिका अध्यक्ष खेमचन्द्र यादवले ठाकुर बाबा पोखरी केवल बलान बिहुलको पहिचान मात्र नभई सम्पूर्ण सप्तरी जिल्लाकै ऐतिहासिक तथा धार्मिक धरोहर भएको उल्लेख गर्दै यसको संरक्षण र संवर्द्धनमा स्थानीय सरकार गम्भीर रहेको बताए। उनले भने, “यस क्षेत्रलाई धार्मिक पर्यटनको केन्द्रका रूपमा विकास गरी पर्यटक आकर्षित गर्ने, रोजगारी सिर्जना गर्ने र स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउने हाम्रो योजना छ।
” उनले पोखरी वरपरको पूर्वाधार विकास, सरसफाइ तथा व्यवस्थापनमा समेत प्राथमिकता दिइने जानकारी दिए। महा विष्णु यज्ञका कर्ता हरिवंश दास (बाबा)का अनुसार ठाकुर बाबा (बरकी पोखरी) धार्मिक दृष्टिले अत्यन्त महत्वपूर्ण स्थल हो। “यो पोखरी कहिले निर्माण भयो भन्ने यकिन इतिहास छैन, तर यहाँ स्नान गरी भाकल गर्दा चर्मरोग निको हुने र मनोकामना पूरा हुने विश्वास रहँदै आएको छ,” उनले बताए।
उनले थपे, “यो यज्ञ कुनै एक-दुई व्यक्तिको प्रयासले सम्भव भएको होइन, यस क्षेत्रमा रहेका विभिन्न गाउँ–बस्तीका महानुभावहरूको सामूहिक सहयोग र आस्थाबाट सञ्चालन भइरहेको हो।” उद्घाटनको दिनमै दर्जनौँ गाउँबाट आएका हजारौँ श्रद्धालुहरूको सहभागिताले धार्मिक एकता र सामुदायिक सद्भावको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ।
आयोजक समितिका अनुसार यज्ञ अवधिभर विभिन्न धार्मिक अनुष्ठान, कथा प्रवचन तथा सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गरिनेछन्। स्थानीयवासीहरूले यस यज्ञले धार्मिक आस्था मजबुत पार्नुका साथै क्षेत्रीय विकास र पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने विश्वास व्यक्त गरेका छन्।
प्रतिक्रिया दिनुहोस
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic