Siraha Times
ताजा समाचार

नरहा गाउँपालिकामा महिला कृषकलाई कृषि सामग्री तथा किसान परिचयपत्र वितरण

  • चैत २, २०८२
  • ४०३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान, २ चैत्र । सिरहाको नरहा गाउँपालिकामा पोषण सुधार तथा कृषकको आयआर्जन वृद्धि गर्ने उद्देश्यले महिला कृषक समूहहरूलाई विभिन्न कृषि सामग्री तथा सेवा–सुविधा वितरण गरिएको छ। केयर नेपालको आर्थिक सहयोग, राष्ट्रिय कृषक समूह महासंघ नेपालको आयोजनामा तथा गाउँपालिकाको सहकार्यमा सञ्चालन भइरहेको पोषण कार्यक्रम अन्तर्गत उक्त सहयोग प्रदान गरिएको हो।

कार्यक्रम अन्तर्गत नरहा गाउँपालिका–१ का जय हनुमान महिला कृषक समूह, प्रेम रावत महिला कृषक समूह, मुस्लिम महिला कृषक समूह तथा वडा नं. २ पानवारीका स्वस्तिक महिला कृषक समूह, तुलसी महिला कृषक समूह र लालीगुराँस महिला कृषक समूहका सदस्यहरूलाई कृषि सामग्री उपलब्ध गराइएको हो।

नरहा गाउँपालिकाका अध्यक्ष राम प्रमोद यादवका अनुसार गाउँपालिका किसान नै किसानले भरिएको कृषि प्रधान क्षेत्र भएकाले कृषकको क्षमता विकास र उत्पादन वृद्धि गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिएको छ। उनले पोषण कार्यक्रम अन्तर्गत कृषक समूह मार्फत हाँस–कुखुरा पालन, विभिन्न जातका तरकारी तथा खाद्यान्नका बीउबिजन, मलखाद, किसानका लागि एटीएम कार्ड, कृषि औजार तथा किसान परिचयपत्र वितरण गरिएको जानकारी दिए।

अध्यक्ष यादवका अनुसार हालसम्म नरहा गाउँपालिकामा ६ सय भन्दा बढी किसानहरूले कृषि क्षेत्रमा विभिन्न सेवा–सुविधा प्राप्त गरिसकेका छन्। उनले कृषकलाई आधुनिक कृषि प्रणालीतर्फ आकर्षित गर्न तथा उत्पादन बढाउन यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरे।

यसैगरी राष्ट्रिय कृषक समूह महासंघका मधेस प्रदेश सचिव यमुना प्रसाद यादवले विशेष गरी अतिविपन्न, गरिब तथा दलित समुदायका घरपरिवारलाई कुपोषण बाट बचाउन र कृषि क्षेत्रमा सबै नागरिकको सहज पहुँच सुनिश्चित गर्न विभिन्न किसानमुखी कार्यक्रम सञ्चालन गरिएको बताए।

उनका अनुसार कृषक समूहलाई संगठित गर्दै बीउबिजन, कृषि सामग्री, पशुपालन तथा तालिम मार्फत उत्पादन र आयआर्जन बढाउने प्रयास भइरहेको छ। यसले ग्रामीण क्षेत्रका महिला कृषकलाई आत्मनिर्भर बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ। स्थानीय कृषकहरूले पनि यस्ता कार्यक्रमले कृषिमा उत्साह बढेको र उत्पादन वृद्धि हुने अपेक्षा व्यक्त गरेका छन्। कार्यक्रमले महिला कृषकलाई कृषिमा सक्रिय बनाउँदै पोषण सुधार र आर्थिक सुदृढीकरणमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस

बेबी एन्जल माध्यमिक ...

लहान, असार ३। सिरहाको लहान नगरपालिका–४ स्थित बेबी एन्जल माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८३/ ...

ट्राफिक सप्ताह २०८३ ...

ओम प्रकाश यादव लहान, असार ३ । सिरहाको लहानमा जिल्ला ट्राफिक कार्यालय सिरहाको आयोजनामा तथा लहान ...

धनगढीमाई नगरपालिका प ...

ओम प्रकाश यादव लहान, असार २ । मधेश प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१