Siraha Times
ताजा समाचार

लहान प्रादेशिक अस्पतालमा ट्रमा सेन्टर निर्माण पहल, आगामी बजेटमा रकम विनियोजन गर्न मन्त्रालयसँग अनुरोध

  • चैत २, २०८२
  • ५१५ पटक पढिएको
  • रहमुल
alt

रहमुल लहान, २ चैत। सिरहा जिल्लाको लहान नगरपालिका ३ स्थित रहेको रामकुमार शारडा उमा प्रसाद मुरारका प्रादेशिक अस्पतालले ट्रमा सेन्टर निर्माणका लागि आगामी आर्थिक वर्ष २०८३/०८४ मा बजेट विनियोजन गर्न सम्बन्धित निकायसँग औपचारिक अनुरोध गरेको छ।

अस्पताल प्रशासनले मिति २०८२ चैत १ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, मधेस प्रदेश, जनकपुरधामलाई पत्र पठाउँदै ट्रमा सेन्टर स्थापना गर्न आवश्यक बजेट उपलब्ध गराइदिन आग्रह गरेको हो। अस्पतालका वरिष्ठ कन्सल्टेण्ट फिजिसियन तथा निमित्त कार्यालय प्रमुख डा. रणजित कुमार झाद्वारा हस्ताक्षरित पत्रमा लहान क्षेत्र हुँदै विभिन्न राजमार्ग तथा व्यस्त सडकहरू सञ्चालनमा रहेकाले यहाँ सडक दुर्घटना र अन्य आकस्मिक घटनाका बिरामीको चाप अत्यधिक हुने गरेको उल्लेख गरिएको छ।

पत्रमा जनाइएको अनुसार लहान आसपासका क्षेत्रका जनप्रतिनिधि तथा स्थानीयवासीले लामो समयदेखि अस्पताल परिसरमै ट्रमा सेन्टर स्थापना गर्न माग गर्दै आएका छन्। सोही मागलाई ध्यानमा राख्दै ट्रमा सेन्टर निर्माण प्रक्रिया अगाडि बढाउन मन्त्रालयसँग बजेट विनियोजनको पहल गरिएको अस्पताल प्रशासनले जनाएको छ।

अस्पतालले ट्रमा सेन्टर निर्माणका लागि दुई फरक शीर्षकमा बजेट माग गरेको छ। प्रस्ताव अनुसार ट्रमा सेन्टरको डिजाइन तथा सुपरभिजनका लागि कन्सल्टेन्ट नियुक्त गर्न ६० लाख रुपैयाँ र ट्रमा सेन्टर भवन निर्माणको पहिलो चरणका लागि १० लाख रुपैयाँ बजेट विनियोजन गर्न आग्रह गरिएको छ। अस्पताल प्रशासनका अनुसार उक्त पत्रको बोधार्थ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति, योजना तथा अनुगमन शाखा, रामशाहपथ काठमाडौंमा समेत पठाइएको छ।

हाल उक्त प्रादेशिक अस्पतालले सिरहा, सप्तरी र उदयपुर जिल्लाका हजारौं बिरामीलाई स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ। दैनिक रूपमा ठूलो संख्यामा बिरामी उपचारका लागि अस्पतालमा आउने गरेका छन्। तर अस्पतालमा पर्याप्त भौतिक पूर्वाधार, आधुनिक स्वास्थ्य उपकरण तथा दक्ष जनशक्तिको अभाव रहेको बताइन्छ। बिरामीको चाप बढ्दै जाँदा सेवा व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन थप पूर्वाधार विस्तार आवश्यक भएको सरोकारवालाहरूको भनाइ छ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष राम नारायण मेहता नियुक्त भएपछि अस्पतालको सेवा प्रवाहमा क्रमिक सुधार देखिन थालेको स्थानीयवासीको भनाइ छ। उपचार सेवा, प्रसूति सेवा, ल्याब सेवा लगायतका विभिन्न सेवामा सुधार हुँदै गएको र अस्पतालप्रति बिरामीको चासो तथा विश्वास पनि बढ्दै गएको बताइन्छ।

यद्यपि अस्पताललाई अझ प्रभावकारी बनाउन दक्ष जनशक्ति पूर्ति, विशेषज्ञ चिकित्सकको व्यवस्था तथा समग्र व्यवस्थापन प्रणालीलाई अझ चुस्त–दुरुस्त बनाउनुपर्ने आवश्यकता औंल्याइएको छ। स्वास्थ्य क्षेत्रका जानकारहरूका अनुसार ठूलो क्षेत्रलाई सेवा दिइरहेको यस अस्पताललाई व्यवस्थित रूपमा विकास गर्न तीनै तहका सरकारको प्राथमिकता आवश्यक रहेको छ।

स्थानीय सरोकारवालाहरूले अस्पताल व्यवस्थापन समितिले ट्रमा सेन्टर निर्माणका लागि औपचारिक रूपमा पहल थालेकोलाई सकारात्मक र सराहनीय कदमको रूपमा लिएका छन्। उनीहरूका अनुसार ट्रमा सेन्टर स्थापना भएमा सडक दुर्घटना तथा अन्य आकस्मिक घटनामा घाइते भएका बिरामीलाई छिटो र प्रभावकारी उपचार उपलब्ध गराउन सहज हुनेछ। साथै यसले लहान क्षेत्रका साथै आसपासका जिल्लाका बिरामीलाई समेत ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

राजदेवी पञ्चावती मन् ...

ओम प्रकाश यादव लहान, १८ वैशाख । लहान नगरपालिका–१५, ढोडनास्थित श्री राजदेवी पञ्चावती मन्दिरमा ल ...

खरिदारदेखि आईजीपीसम् ...

काठमाडौं । मुलुकको आन्तरिक सुरक्षा, सीमा व्यवस्थापन तथा विपद् प्रतिकार्यको अग्रपंक्तिमा रहेको सशस्त् ...

सिरहामा खाद्य सुरक्ष ...

रहमुल, १८ वैशाख, सिरहा । सिरहा जिल्लामा खाद्य सुरक्षा सुदृढीकरण र एकीकृत पोषण सुधारका लागि जिल्ला स् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१