Siraha Times
ताजा समाचार

धानपछि गहुँमा पनि संकट, सिरहाका किसान राहतको पर्खाइमा

  • फागुन २८, २०८२
  • ४३९ पटक पढिएको
  • रहमुल
alt

रहमुल लहान, २८ फागुन । यस वर्षको असामान्य मौसमका कारण सिरहासहित तराईका विभिन्न क्षेत्रमा किसानहरू लगातार समस्यामा परेका छन्। धान बालीमा ठूलो क्षति बेहोरेका किसान अहिले गहुँ उत्पादन पनि घट्ने संकेत देखिए पछि थप चिन्तित बनेका छन्। स्थानीय किसानका अनुसार यस वर्षको सुख्खा खडेरी र बेमौसमी वर्षाका कारण धान उत्पादनमा ठूलो गिरावट आएको थियो।

लगानी उठाउन समेत कठिन भएको अवस्थामा किसानहरूलाई थप आर्थिक दबाब परेको बताइन्छ। सरकारबाट क्षतिको विवरण संकलन गरिएको भए पनि हालसम्म राहत उपलब्ध नभएको किसानहरूको गुनासो छ। किसानहरूका अनुसार धान बालीको क्षतिको विवरण तयार पार्न किसानहरू बाट कागजात संकलन गरिए पनि त्यसपछि आवश्यक प्रक्रिया अघि नबढेको आरोप छ।

“हामीले सबै कागज तयार गरेर बुझायौं, तर राहतको विषय अझै अलपत्र छ,” एक स्थानीय किसानले गुनासो गरे। यसैबीच, बेमौसमी वर्षाका कारण धान कटाइ र तयारी ढिलो हुँदा गहुँ बाली लगाउन पनि ढिलाइ भएको किसानहरू बताउँछन्। त्यसको प्रत्यक्ष प्रभाव अहिले गहुँको उत्पादनमा पर्ने संकेत देखिन थालेको उनीहरूको भनाइ छ। खेतमा लगाइएको गहुँ अपेक्षाअनुसार बढ्न नसकेको र उत्पादन घट्ने सम्भावना बढेको किसानहरू बताउँछन्।

कृषि विज्ञहरूका अनुसार समयमै बाली रोप्न नपाउँदा उत्पादनमा उल्लेखनीय असर पर्न सक्छ। यसले खाद्यान्न उत्पादनमा कमी ल्याउने र खाद्य सुरक्षामा चुनौती थप्ने सम्भावना रहेको उनीहरू बताउँछन्। किसानहरूले विगत केही वर्षदेखि लगातार मौसमजन्य समस्या, समयमा उन्नत बीउको अभाव तथा मलखादको कमी जस्ता समस्याहरू झेल्दै आएका छन्। कृषि प्रधान देशका रूपमा चिनिने नेपालमा किसान नै सबैभन्दा बढी समस्यामा पर्ने अवस्था रहेको स्थानीय सरोकारवालाहरूको भनाइ छ।

कृषि क्षेत्रमा सरकारले ठूलो बजेट र अनुदान कार्यक्रम ल्याउने गरेको भए पनि वास्तविक किसानसम्म त्यसको प्रभावकारी पहुँच नपुगेको आरोप पनि उठ्दै आएको छ। किसानहरूले अनुदान र सहुलियत कार्यक्रम पारदर्शी र लक्षित वर्गसम्म पुग्ने गरी कार्यान्वयन गर्नुपर्ने माग गरेका छन्। यसैबीच, हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनपछि नयाँ नेतृत्वबाट कृषि क्षेत्रको सुधारका लागि ठोस पहल हुने अपेक्षा पनि व्यक्त गरिएको छ।

किसानहरूले कृषि नीति सुधार, आधुनिक प्रविधिको प्रयोग, बीउ–मलको सहज उपलब्धता र प्राकृतिक विपद्बाट भएको क्षतिको उचित राहत उपलब्ध गराउन सरकारसँग माग गरेका छन्। किसानहरूको भनाइमा, धान र गहुँ दुबै बालीमा भएको घाटाका कारण धेरै परिवार आर्थिक संकटमा परेका छन्। त्यसैले तत्काल राहत र दीर्घकालीन कृषि सुधार कार्यक्रम लागू गर्न सरकारको ध्यानाकर्षण गराउन चौतर्फी आवाज उठ्न थालेको छ।

प्रतिक्रिया दिनुहोस

​सिराहाको विष्णुपुरक ...

विनोद अविरल,​सिराहा, ३ आषाढ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. १२ स्थित विष्णुपुरकट्टी टोल ...

बेबी एन्जल माध्यमिक ...

लहान, असार ३। सिरहाको लहान नगरपालिका–४ स्थित बेबी एन्जल माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८३/ ...

ट्राफिक सप्ताह २०८३ ...

ओम प्रकाश यादव लहान, असार ३ । सिरहाको लहानमा जिल्ला ट्राफिक कार्यालय सिरहाको आयोजनामा तथा लहान ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१