Siraha Times
ताजा समाचार

लागु औषध विरुद्धको सन्देशसहित वडा स्तरीय BPL–3 सिजन क्रिकेट प्रतियोगिता सुरु

  • माघ ८, २०८२
  • ६८७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान, ०८ माघ । लागूऔषधको बढ्दो दुर्व्यसन नियन्त्रण गर्दै युवालाई सकारात्मक बाटोमा डोर्‍याउने उद्देश्यका साथ नवराजपुर गाउँपालिका वडा नं. ५ मा वडा स्तरीय BPL–3 सिजन क्रिकेट प्रतियोगिता २०८२ सुरु भएको छ । “लागू औषध विरुद्धको बोल, खेलाडी उत्पादनमा जोड” भन्ने मूल नारासहित प्रतियोगिता आयोजना गरिएको हो ।

नवराजपुर गाउँपालिका वडा नं. ५ को आयोजनामा तथा गाउँपालिकाको सहयोगमा सुरु भएको प्रतियोगिताको उद्घाटन वडा अध्यक्ष जय प्रकाश यादवको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै वडा अध्यक्ष यादवले लागू औषध दुर्व्यसन समाजका लागि गम्भीर चुनौती बन्दै गएको उल्लेख गर्दै युवा पुस्तालाई कुलतबाट जोगाउन खेलकुद प्रभावकारी माध्यम भएको बताउनुभयो ।

“लागू औषधले युवाको भविष्य अन्धकारतर्फ धकेलिरहेको छ, यस्तो अवस्थामा खेलकुदले युवालाई अनुशासित, आत्मविश्वासी र जिम्मेवार नागरिक बनाउन सहयोग गर्छ,” उहाँले भन्नुभयो । उहाँले यस्ता प्रतियोगिताले लागू औषध विरुद्ध चेतना फैलाउने मात्र नभई समाजमा स्वस्थ प्रतिस्पर्धा र एकताको भावना विकास गर्ने पनि उल्लेख गर्नुभयो ।

प्रतियोगितामा विभिन्न वडाका क्रिकेट टिमहरूको सहभागिता रहेको आयोजक समितिले जनाएको छ । स्थानीय स्तरमै क्रिकेट प्रतिभा पहिचान गरी खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकको भनाइ छ । साथै, खेल मैदानलाई युवा जमघटको सकारात्मक केन्द्रका रूपमा विकास गर्दै लागू औषध नियन्त्रण अभियानलाई समुदायस्तरमै सशक्त बनाउने अपेक्षा गरिएको छ ।

उद्घाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी, खेलप्रेमी तथा ठूलो संख्यामा स्थानीय युवाहरूको उपस्थिति रहेको थियो । सहभागीहरूले खेलकुद र सामाजिक सचेतनालाई एकसाथ जोडिएको यस्तो कार्यक्रमले समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको प्रतिक्रिया दिएका छन् ।

BPL–3 सिजन क्रिकेट प्रतियोगिता केही दिनसम्म सञ्चालन हुने जनाइएको छ । प्रतियोगिताको समापन अवसरमा उत्कृष्ट खेलाडी, अनुशासित टिम तथा विजेता–उपविजेता टिमलाई पुरस्कार प्रदान गरिने आयोजकले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

विश्व आदिवासी दिवसमा ...

रहमुल, लहान, २८ साउन । विश्व आदिवासी दिवस २०८३ सिरहामा पनि विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको ...

लहानमा खाद्य व्यवस्थ ...

रहमुल, लहान, २८ साउन । ‘खाद्य सुरक्षा, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ खाद्य व् ...

म नेता बनेर होइन, रा ...

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१