लहान, ०८ माघ । लागूऔषधको बढ्दो दुर्व्यसन नियन्त्रण गर्दै युवालाई सकारात्मक बाटोमा डोर्याउने उद्देश्यका साथ नवराजपुर गाउँपालिका वडा नं. ५ मा वडा स्तरीय BPL–3 सिजन क्रिकेट प्रतियोगिता २०८२ सुरु भएको छ । “लागू औषध विरुद्धको बोल, खेलाडी उत्पादनमा जोड” भन्ने मूल नारासहित प्रतियोगिता आयोजना गरिएको हो ।
नवराजपुर गाउँपालिका वडा नं. ५ को आयोजनामा तथा गाउँपालिकाको सहयोगमा सुरु भएको प्रतियोगिताको उद्घाटन वडा अध्यक्ष जय प्रकाश यादवको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै वडा अध्यक्ष यादवले लागू औषध दुर्व्यसन समाजका लागि गम्भीर चुनौती बन्दै गएको उल्लेख गर्दै युवा पुस्तालाई कुलतबाट जोगाउन खेलकुद प्रभावकारी माध्यम भएको बताउनुभयो ।
“लागू औषधले युवाको भविष्य अन्धकारतर्फ धकेलिरहेको छ, यस्तो अवस्थामा खेलकुदले युवालाई अनुशासित, आत्मविश्वासी र जिम्मेवार नागरिक बनाउन सहयोग गर्छ,” उहाँले भन्नुभयो । उहाँले यस्ता प्रतियोगिताले लागू औषध विरुद्ध चेतना फैलाउने मात्र नभई समाजमा स्वस्थ प्रतिस्पर्धा र एकताको भावना विकास गर्ने पनि उल्लेख गर्नुभयो ।
प्रतियोगितामा विभिन्न वडाका क्रिकेट टिमहरूको सहभागिता रहेको आयोजक समितिले जनाएको छ । स्थानीय स्तरमै क्रिकेट प्रतिभा पहिचान गरी खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकको भनाइ छ । साथै, खेल मैदानलाई युवा जमघटको सकारात्मक केन्द्रका रूपमा विकास गर्दै लागू औषध नियन्त्रण अभियानलाई समुदायस्तरमै सशक्त बनाउने अपेक्षा गरिएको छ ।
उद्घाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी, खेलप्रेमी तथा ठूलो संख्यामा स्थानीय युवाहरूको उपस्थिति रहेको थियो । सहभागीहरूले खेलकुद र सामाजिक सचेतनालाई एकसाथ जोडिएको यस्तो कार्यक्रमले समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको प्रतिक्रिया दिएका छन् ।
BPL–3 सिजन क्रिकेट प्रतियोगिता केही दिनसम्म सञ्चालन हुने जनाइएको छ । प्रतियोगिताको समापन अवसरमा उत्कृष्ट खेलाडी, अनुशासित टिम तथा विजेता–उपविजेता टिमलाई पुरस्कार प्रदान गरिने आयोजकले जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic