कर्जन्हामा दनुवार समुदायका युवती कुमर बैध दनुवारको नृशंस हत्या, निष्पक्ष छानबिन र कडा कारबाहीको माग

  • मंसिर २७, २०८२
  • ३१९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

जितेन्द्र सिंह दनुवार सिरहा मंसिर २७ । हालै सिरहा जिल्लाको कर्जन्हा नगरपालिका वडा न.१, वल्टीया निवासी अमिना कुमर बैध दनुवारको नृशंस हत्या घटनाले सम्पूर्ण दनुवार समुदाय मात्र होइन, सम्पूर्ण न्यायप्रेमी नागरिकलाई गहिरो पीडा, आक्रोश र चिन्तामा पारेको छ । एक निर्दोष नागरिकमाथि गरिएको यस्तो अमानवीय, क्रूर र जघन्य अपराधको दनुवार जागरण समितिले घोर भर्त्सना गरेको छ ।

समितिका अनुसार घटनाको प्रारम्भिक विवरणले हत्या योजनाबद्ध र सुनियोजित रूपमा गरिएको गम्भीर आशंका उत्पन्न गरेको छ । यस घटनाले हाम्रो समाजमा अझै पनि कमजोर, सीमान्तकृत समुदायमाथि भइरहेका हिंसा, विभेद र दण्डहीनताको भयावह अवस्थालाई उजागर गरेको बताइएको छ । पीडित परिवारले भोग्नुपरेको असह्य पीडाप्रति दनुवार जागरण समितिले गहिरो समवेदना व्यक्त गरेको छ ।

दनुवार जागरण समितिले अमिना कुमर बैध दनुवार हत्या घटनाको निष्पक्ष, पारदर्शी र द्रुत छानबिन गरी वास्तविक दोषीलाई अविलम्ब सार्वजनिक गर्न माग गरेको छ । घटनामा संलग्न सबै दोषीमाथि कानूनबमोजिम कडा भन्दा कडा कारबाही गरिनुपर्ने समितिको स्पष्ट माग छ । साथै पीडित परिवारलाई तत्काल उचित क्षतिपूर्ति, सुरक्षा तथा आवश्यक न्यायिक सहयोग प्रदान गर्न राज्यसँग आग्रह गरिएको छ ।

समितिले यस्ता जघन्य घटना पुनः दोहोरिन नदिन सीमान्तकृत समुदायको सुरक्षा सुनिश्चित गर्ने दीर्घकालीन व्यवस्था अविलम्ब लागू गर्न राज्यसँग माग गरेको छ । यदि घटनामा कुनै किसिमको लापरवाही, बेवास्ता वा अपराधीलाई संरक्षण गरेको देखिएमा सम्बन्धित जिम्मेवार निकायमाथि पनि छानबिन गरी कडा कारबाही गरिनुपर्ने चेतावनी दिइएको छ ।

दनुवार जागरण समितिले स्पष्ट रूपमा चेतावनी दिँदै भनेको छ कि यदि यस घटनामा न्याय सुनिश्चित गर्न ढिलासुस्ती, पक्षपात वा दण्डहीनताको अवस्था देखिएमा समिति पीडित परिवारको पक्षमा उभिएर शान्तिपूर्ण तर सशक्त आन्दोलनका कार्यक्रम अघि बढाउन बाध्य हुनेछ ।

समितिले सरकार, सुरक्षा निकाय, मानव अधिकारकर्मी, सञ्चार माध्यम तथा सम्पूर्ण नागरिक समाजलाई यस घटनाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै न्यायका लागि एकजुट हुन हार्दिक आग्रह गरेको छ । “न्याय नपाएसम्म हाम्रो संघर्ष जारी रहनेछ,” भन्दै दनुवार जागरण समितिले पीडित परिवारलाई न्याय दिलाउन अन्तिम हदसम्म लड्ने दनुवार जागरण समितिका सूचना अधिकारी जितेन्द्र सिंह दनुवारले जनाए ।

प्रतिक्रिया दिनुहोस

परोपकार हेल्थ केयर स ...

ओम प्रकाश यादव लहान मंसिर २७ । सिरहा जिल्लाको लहान नगरपालिका वडा न. १२, भोटियाटोलस्थित चौकमा सञ्चालन ...

सिरहाका मालपोत प्रमु ...

रहमुल लहान २५ मंसिर । भूमिसुधार तथा मालपोत कार्यालय, सिरहाका प्रमुख मालपोत अधिकृत ध्रुवप्रसाद कोइराल ...

नेशनल मेडिकल कलेज र ...

वीरगंज २४ मंसिर। नेशनल मेडिकल कलेज प्रा.लि. तथा नेशनल इन्फोटेक कलेज (एनआई कलेज) बीच स्वास्थ्य सेवा स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१