Siraha Times
ताजा समाचार

नेशनल मेडिकल कलेज र शिवम फार्मास्युटिकल्सबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता

  • भदौ १२, २०८२
  • ९२० पटक पढिएको
  • सिरहा टाइम्स
alt

वीरगञ्ज १२ भदौ ।नेशनल मेडिकल कलेज प्रा. लि. र शिवम फार्मास्युटिकल्स लिमिटेडबीच आज एक महत्वपूर्ण स्वास्थ्य सेवा सम्बन्धी आपसी सम्झौता सम्पन्न भएको छ। वीरगञ्ज–१५, पर्सास्थित नेशनल मेडिकल कलेजको दर्ता कार्यालयमा आयोजित कार्यक्रममा दुवै पक्षका प्रतिनिधिहरूको उपस्थितिमा यो सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो।

सम्झौताअनुसार, शिवम फार्मास्युटिकल्सका सञ्चालक समिति सदस्य, कर्मचारी तथा उनीहरूका प्रत्यक्ष आश्रितहरूलाई नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालबाट विशेष छुट र सुविधा सहितको स्वास्थ्य सेवा उपलब्ध गराइनेछ। सामाजिक सुरक्षा कोषमा आबद्ध लाभार्थीहरूका लागि अस्पतालको नीतिअनुसार ८० प्रतिशत खर्च सामाजिक सुरक्षा कोषबाट व्यहोरणेछ भने बाँकी २० प्रतिशत रकम एक महिनाभित्र GOP सुविधामार्फत भुक्तानी गर्नुपर्नेछ। सामाजिक सुरक्षा कोषमा नजोडिएका लाभार्थीहरूलाई उपचार सेवामा २० प्रतिशत र औषधिमा ५ प्रतिशत छुट प्रदान गरिनेछ।

सम्झौता अनुसार, शिवम फार्मास्युटिकल्सका कर्मचारीहरूको उपचार खर्चमा दुई लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्मको सीमा भित्र ३० दिनको GOP सुविधा र पाँच लाखभन्दा माथिको खर्चमा ४५ दिनको GOP सुविधा दिइनेछ। पूर्व–रोजगार तथा वार्षिक स्वास्थ्य परीक्षण, साथै अस्पतालमा हुने अन्य स्वास्थ्य सेवा आपसी समझदारीमा भुक्तानीयोग्य हुनेछन्। साथै, शिवम फार्मास्युटिकल्सको परिसरमा प्रत्येक तीन महिनामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिनेछ।

दुवै पक्षको सहमतिमा संयुक्त पहिचानसहितको ब्राण्ड प्रयोग गर्ने व्यवस्था मिलाइएको छ। शिवम फार्मास्युटिकल्सका कार्यक्रमहरूमा नेशनल मेडिकल कलेजलाई चिकित्सकीय साझेदारको रूपमा समावेश गरिनेछ। सेवाको सहज सञ्चालन सुनिश्चित गर्न दुवै पक्षले एक–एक जना सम्पर्क व्यक्ति तोक्नेछन्। लाभार्थीको पहिचानका लागि फोटो परिचयपत्रको प्रयोग गरिनेछ, र आवश्यकता अनुसार प्रत्यक्ष आश्रितहरूको विवरण शिवम फार्मास्युटिकल्सले अस्पताललाई उपलब्ध गराउनेछ। साथै, सेवा र सुविधाबारे जानकारी इमेल, वेबसाइट वा सामाजिक सञ्जालमार्फत लाभार्थीहरूलाई दिइनेछ।

सम्झौतापत्रमा नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल निर्देशक तर्फबाट डा. इशरत जहाँ अन्सारी ले हस्ताक्षर गर्नुभएको थियो। सो अवसरमा कलेजको तर्फबाट ईन्जिनियर प्रदीप चौधरी, मार्केटिंग प्रबन्धक जितेश चन्द्र दास, प्रशासन अधिकृत विश्वनाथ कान्त , प्रशासन अधिकृत पप्पु सिंह र नेशनल मेडिकल कलेजका प्रेस सल्लाहकार आशिक अन्सारी को उपस्थिति रहेको थियो।

त्यसैगरी, शिवम फार्मास्युटिकल्स तर्फबाट प्रशासन अधिकृत सञ्जय चौधरी ले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो। साथै, शिवम फार्मास्युटिकल्सको तर्फबाट उत्पादन विभाग प्रमुख निरज प्रसाद चौधरी र गुणस्तर नियन्त्रण प्रमुख प्रविन चौधरी को समेत उपस्थिति रहेको थियो।

सम्झौताले अस्पताल र औद्योगिक क्षेत्रबीचको सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास लिइएको छ। स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै गरिएको यस सहकार्यले संस्थागत सामाजिक उत्तरदायित्व, पारदर्शिता र दीर्घकालीन सम्बन्ध सुदृढ पार्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

विश्व आदिवासी दिवसमा ...

रहमुल, लहान, २८ साउन । विश्व आदिवासी दिवस २०८३ सिरहामा पनि विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको ...

लहानमा खाद्य व्यवस्थ ...

रहमुल, लहान, २८ साउन । ‘खाद्य सुरक्षा, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ खाद्य व् ...

म नेता बनेर होइन, रा ...

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१