ताजा समाचार

अंतरजातीय प्रेम विवाहपछि उत्पन्न सामाजिक झमेलाले एक परिवार संकटमा

  • वैशाख १८, २०८२
  • १६८९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान वैशाख १८ । सिरहा जिल्लाको लहान नगरपालिका–१२, जट्टीयाहीस्थित एक दलित परिवार अहिले सामाजिक उत्पीडन र हिंसाको चपेटामा परिरहेको छ । प्रेम सम्बन्धका आधारमा गरिएको अन्तरजातीय विवाहपछि बुवा दिनेश राम, आमा सुनीता देवी रामका छोरा करण कुमार राम र उनकी पत्नी सर्लाही जिल्ला, वैलवास नगरपालिका वडा नम्बर–७ बुवा जोगिन्द्र सिंह, आमा निर्मला सिंहकी छोरी मंजिता कुमारी सिंह निरन्तर त्रासमा जीवन यापन गरिरहेका छन् । प्रेम विवाह गरेकै कारण स्थानीय केही व्यक्तिहरूबाट उनीहरू हिंसा र धम्कीको सिकार भएका छन्।

करण कुमार राम र मंजिता कुमारी सिंहबीचको प्रेम सम्बन्ध सामाजिक सञ्जाल ‘टिकटक’ मार्फत सुरु भएको थियो। दुवै जनाले एकअर्कालाई चिनेपछि उनीहरूबीच प्रेम सम्बन्ध बढ्दै गयो। केही समयपछि सामाजिक बन्धनलाई तोड्दै उनीहरूले प्रेम विवाह गर्ने निर्णय गरे। विवाह पूर्णतः आपसी सहमति र स्वतन्त्र निर्णयका आधारमा धनगढीमाई बजारमै रहेको रामजानकी मंदिरमा भएको हो। मंजिताले भनिन्, “म अलिकति पढेकी छु, बालिक पनि छु । मलाई मेरो जीवनसाथी छान्ने अधिकार छ । पहिला मेरो परिवारले परम्परागत शैलीमा विवाह गराए पनि त्यो मेरो इच्छा विपरीत थियो। मैले जब आफूले रोजेको व्यक्तिसँग विवाह गरेँ, त्यसपछि मेरो जीवनमा संकट आयो।”

विवाह भएपछि करण कुमार रामको घरमा बसेकी मंजिता र उनका परिवारमाथि गाउँका केही व्यक्तिहरूले सामाजिक रुपमा बहिष्कार गर्नुका साथै हिंसात्मक व्यवहार गर्न थाले । पीडितका अनुसार विशेष गरी दनुवार समुदायका केही व्यक्तिहरूले बारम्बार उनीहरूको घरमै पसेर गालीगलौज, कुटपिट र धम्की दिँदै आएका छन्। करण कुमार रामले भने, “हामीले विधिवत रूपमा विवाह गरेका हौं। हामी कसैलाई हानी पुर्‍याउन चाहँदैनौं। तर, हाम्रो अन्तरजातीय विवाह स्वीकार गर्न नसक्ने मानसिकता बोकेका केही व्यक्तिहरूले हामीलाई सताइरहेका छन्। म, मेरी श्रीमती र मेरी आमालाई घरमै आएर बारम्बार कुटपिट गर्ने गरिन्छ।”

यो घटनाले देखाएको छ कि समाजमा अझै पनि जातीय भेदभाव गहिरो छ । अन्तरजातीय विवाहलाई स्वीकार नगर्ने मानसिकताले पीडित परिवारको दैनिकी संकटमा पारेको छ । जट्टीयाहीका स्थानीय भद्रभलादमीहरू — राम रति राम, वैजनाथ राम, विष्णु राम, झौली राम, कुभेलिया देवी राम लगायतका व्यक्तिहरूको बिचमा पीडित पक्षले स्थानीय प्रशासनसँग आफ्नो सुरक्षाको माग गरेका छन्। उनिहरूले प्रशासनसँग हस्तक्षेपको माग गर्दै भनेका छन्, “हामीलाई शान्तिपूर्वक बाँच्न चाहिन्छ । विधिवत रूपमा गरिएको विवाहलाई सामाजिक रूपमा अस्वीकार गरेर हाम्रो घरपरिवारलाई सताउनेलाई कारबाही हुनुपर्छ।”

पीडित पक्षले लहान प्रशासनसँग लिखित रूपमा उजुरी दिएका छन् । उनीहरूले आफूमाथि भएको घटनाको अनुसन्धान गरी दोषीमाथि कानुनी कारबाही गर्न माग गरेका छन्। साथै, आगामी दिनमा यस्ता हिंसात्मक घटनाबाट जोगाउन घरपरिवारलाई पूर्ण सुरक्षा दिन अनुरोध गरिएको छ।

यस घटनाले नेपालको ग्रामीण क्षेत्रमा अझै पनि महिला अधिकार, स्वतन्त्रता र अन्तरजातीय विवाहप्रति रहेको सामाजिक चेतनाको अभावलाई उजागर गरेको छ। मंजिताजस्तो एक शिक्षित युवतीले आफैंले जीवनसाथी छान्ने निर्णय गर्दा सामाजिक प्रतिशोध खेप्नु परेको तथ्यले सामाजिक संरचनामा गहिरो सोच परिवर्तनको आवश्यकता देखिएको छ। मानव अधिकारकर्मीहरूको भनाइमा, “कानुनी रूपमा वयस्क व्यक्तिहरूले आपसी सहमतिमा विवाह गर्न पाउने अधिकार संविधानले नै सुनिश्चित गरेको छ। यस्तो अवस्थामा सामाजिक धम्की, कुटपिट र बहिष्कार गर्नेहरूको तत्काल कारबाही हुनुपर्छ।”

प्रेम विवाह गर्नु अपराध होइन, तर अझै पनि नेपालमा जातीय तथा सामाजिक संरचनाले यस्तो वैवाहिक सम्बन्धलाई सहज रूपमा स्वीकार्न नसकेको देखिन्छ। कुमार र मंजिताको यो घटना हाम्रो समाजको यथार्थ हो, जहाँ प्रेमभन्दा पनि जात, धर्म र परम्पराले निर्णायक भूमिका खेलिरहेको छ। पीडित परिवार अहिले पनि सुरक्षाको प्रत्याभूति माग्दै प्रशासनको ढोका ढक्ढक्याइरहेका छन्। प्रशासन र समाज दुवैले यस्ता घटनामा संवेदनशीलता देखाउँदै पीडितलाई न्याय दिलाउने दिशामा कदम चाल्नैपर्छ, ताकि यस्ता पीडादायक अनुभव अरूलाई नपर्न सकोस्।

प्रतिक्रिया दिनुहोस

कृषकलाई एकताबद्ध गर् ...

रहमुल, लहान ११ असोज । सिरहाको लहान नगरपालिका–२३ मा रहेको प्रगति कृषि सहकारी संस्था लिमिटे ...

आर्थिक अभावले घरमै प ...

रहमुल,लहान ११ असोज । आर्थिक अभावका कारण अस्पतालसम्म पुग्न नसकी घरमै असुरक्षित रूपमा शिशुलाई जन्म दिन ...

नालाको पानी निकासका ...

रामअधार यादव रौतहट असोज ११ । रौतहटको कटहरिया नगरपालिका–५ स्थित पोखरीनजिकै पानी निकासका लागि सड ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤