ओम प्रकाश यादव लहान, ७ कात्तिक । सिरहाको लहान नगरपालिका वडा नम्बर २१ अन्तर्गत कलाबञ्जर र बेतहा गाउँका छठ पर्वका बर्तालु महिलालाई साडी वितरण गरिएको छ। धार्मिक र सांस्कृतिक सौहार्दका प्रतीकका रूपमा लहान नगरपालिकाका मेयर महेश चौधरीले शुक्रबार १८० जना महिलालाई साडी वितरण गरेका हुन्।
मेयर चौधरीले यस वर्ष दुर्गा पूजामा चढाइएका ८० पीस साडी र नगरपालिकाबाट थप १०० पीस गरी कुल १८० थान साडी वितरण गरेका हुन्। साडी वितरण कार्यक्रममा वडा न. २० का वडाअध्यक्ष गणेश चौधरी,वडा न. २१ का वडाअध्यक्ष राज कुमार यादव समाजसेवी, महिला समूहका प्रतिनिधि र अन्य अगुवा व्यक्तिहरूको उपस्थिति रहेको थियो।
मेयर चौधरीका अनुसार दुर्गा पूजामा चढाइएका साडीलाई सदुपयोग गर्दै छठ पर्वका बर्तालु महिलालाई सम्मान स्वरूप वितरण गरिएको हो। “धार्मिक पर्वले समुदायबीच एकता र सौहार्द बढाउँछ। त्यसैले नगरपालिकाले हरेक चाडपर्वमा जनसहभागिता र सहयोगको भावना विकास गर्न चाहन्छ,” मेयर चौधरीले बताए।
छठ पर्व विशेषगरी महिलाले सूर्यदेवको आराधना गर्दै मनाउने पर्व हो। यो पर्वमा महिलाले कठोर व्रत बस्ने र नदीनालामा अस्ताउँदो तथा उदाउँदो सूर्यलाई अर्घ्य दिने परम्परा रहँदै आएको छ। यस सन्दर्भमा मेयर चौधरीले साडी वितरणलाई बर्तालु महिलाप्रति सम्मान र प्रोत्साहनको प्रतीकका रूपमा व्याख्या गरे।
नगरप्रमुखले निरन्तरता दिएको सामाजिक कार्यप्रति स्थानीयले प्रसंसा गर्दै भने, “गत वर्ष वडा नम्बर १५ मा दुर्गा पूजामा चढाइएका साडी वितरण गरिएको थियो। यसपालि वडा २१ का महिलाले त्यो अवसर पाएका छन्, जुन सराहनीय काम हो।” स्थानीयवासीका अनुसार पछिल्ला दुई वर्षदेखि दुर्गा पूजामा चढाइएका साडीलाई पुनः वितरण गर्ने परम्परा सुरु गरिएको हो। यसअघि वर्षौंसम्म ती साडीहरू विभिन्न मन्दिर वा गोदाममा सीमित रहँदै आएका थिए। नगरपालिकाले ती साडीलाई सामाजिक उपयोगमा ल्याएर महिला समुदायलाई सशक्तीकरणतर्फ प्रेरित गरेको स्थानीय महिलाको भनाइ छ।
छठ पर्वको अवसरमा गरिएको यो साडी वितरण कार्यक्रमले नगर क्षेत्रमा धार्मिक सद्भाव र सामाजिक एकताको सन्देश दिएको सहभागीहरूले बताएका छन्। उनीहरूका अनुसार यस्ता कार्यक्रमले स्थानीय सरकारप्रति जनविश्वास बढाउने र समुदायबीच आपसी सहयोगको भावना सुदृढ गर्ने काम गर्छ।कार्यक्रममा उपस्थित बर्तालु महिलाहरूले नगर प्रमुख र वडा कार्यालयलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता जनमुखी कार्यक्रम निरन्तर रहोस् भन्ने अपेक्षा व्यक्त गरेका छन्।
प्रतिक्रिया दिनुहोस
Water Aid UK टोलीद्वारा लहानका खानेपानी तथा सरसफाइ कार्यक्रमको अनुगमन, नगर विकासमा सहकार्य प्रभावकारी
१८ वर्षदेखि अलपत्र मुक्सारको खानेपानी ट्याङ्की: स्थानीय बासिन्दा काकाकुल, आश्वासनमै सीमित बन्दै योजना
बरियारपट्टी छोटी भन्सार कायम राख्न माग गर्दै जिरोमाईलमा राजमार्ग अवरुद्ध, जनप्रतिनिधि र राजनीतिक दलको समर्थन
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic