Siraha Times
ताजा समाचार

सलहेश फूलबारीमा 'अम्बेडकर पार्क' बन्ने, डा. सीके राउत र मुख्यमन्त्री सिंहद्वारा शिलान्यास

  • वैशाख १५, २०८२
  • ९९८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान वैशाख १५ । सिरहाको लहानस्थित ऐतिहासिक धार्मिक तथा पर्यटकीय क्षेत्र सलहेश फूलबारी परिसरमा 'अम्बेडकर पार्क' बन्ने भएको छ। सोमबार आयोजित एक विशेष समारोहमा जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले संयुक्त रूपमा पार्कको शिलान्यास गरे। पार्क निर्माणका लागि मधेस प्रदेश सरकारको एक करोड़ रुपैयाँ बजेट विनियोजन गरिएको छ। डिभिजन वन कार्यालय, लहानले आगामी असार १५ भित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्यसहित काम अगाडि बढाएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले सलहेश फूलबारी क्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनका लागि प्रदेश सरकारले मास्टर प्लानसहित योजना अघि सारेको जानकारी गराए। उनले भने, “यो क्षेत्र आफैँमा धार्मिक, सांस्कृतिक र पर्यटकीय महत्त्व बोकेको छ। यसको ऐतिहासिक र प्राकृतिक गरिमालाई व्यवस्थित गर्दै धार्मिक पर्यटन विकासमा टेवा पुर्‍याउन अम्बेडकर पार्क निर्माण थालिएको हो।”मुख्यमन्त्री सिंहले विश्वव्यापी प्रतिष्ठा कमाएका बाबासाहेब भीमराव अम्बेडकरको नाममा पार्क निर्माण गर्दा दलित तथा अन्य समुदायका लागि प्रेरणा बन्ने विश्वास व्यक्त गरे। साथै, सलहेश फूलबारी क्षेत्रको जैविक विविधता संरक्षणलाई समेत ध्यानमा राखेर पार्क निर्माण गरिने उनले स्पष्ट पारे।

डिभिजन वन कार्यालय, लहानका प्रमुख शैलेन्द्रकुमार मिश्रका अनुसार पार्कभित्र बाबासाहेब अम्बेडकरको पूर्णकदको शालिक, पानीको झरना, हात्तीको मूर्ति, भव्य प्रवेशद्वारसहित विभिन्न आकर्षक संरचना निर्माण गरिनेछ। धार्मिक वनअन्तर्गत फैलिएको करिब नौ बिघा क्षेत्रफलमा पार्क निर्माण गरिनेछ। पार्क निर्माणमा थप सहजता मिलोस् भनेर स्थानीय पुजारी तथा समाजसेवी जीतेन्द्रदेव धामी (दनुवार) ले फूलबारीसँग जोडिएको आफ्नै दस लाख मूल्य पर्ने १० घुर जग्गा दान गरेका छन्। सलहेश फूलबारी क्षेत्रमा प्रत्येक वर्ष वैशाख १ गते विशेष फूलबारी मेला लाग्ने गर्दछ। सो अवसरमा विशेषगरी सोही दिन मात्र फुल्ने विश्वास गरिएको सुनाखरी फूल अवलोकन तथा मन्दिरमा पूजापाठ गर्न नेपाल तथा भारतबाट हजारौँ भक्तजन आउने गर्छन्।

बाबासाहेब भीमराव अम्बेडकर भारतीय नागरिक थिए। उनी भारतीय संविधान निर्माण समितिका अध्यक्षका रूपमा चिनिन्छन्। उनले जातीय, धार्मिक तथा सामाजिक विभेदविरुद्ध आजीवन संघर्ष गरेका थिए। सन् १९४७ मा भारतीय संविधान मस्यौदा समितिको अध्यक्ष निर्वाचित भई उनले अनुसूचित जातिलाई अधिकारसम्पन्न बनाउन विशेष संवैधानिक व्यवस्था गरे। बाबासाहेबले बेलायतको लण्डन स्कुल अफ इकोनोमिक्सबाट 'डाक्टर अफ अल साइन्स' उपाधि प्राप्त गरेका थिए। विश्व प्रसिद्ध विचारक कार्ल मार्क्सको सालिकसँगै लण्डनको म्युजियममा अम्बेडकरको सालिक समेत राखिएको छ।

सन् २००४ मा कोलम्बिया विश्वविद्यालयले प्रकाशित गरेको विश्वका एक सय महान् विद्वान्हरूको सूचीमा अम्बेडकरको नाम पहिलो नम्बरमा राखिएको थियो। उनको मानवताका लागि पुर्‍याएको योगदानको सम्मानमा विश्वका विभिन्न स्थानहरूमा उनका सालिकहरू स्थापना गरिएका छन्। अम्बेडकर पार्कको निर्माणले सलहेश फूलबारी क्षेत्रको गरिमा थप बढ्ने र धार्मिक पर्यटन प्रवर्द्धनमा नयाँ युगको शुरुआत हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

विद्यालय व्यवस्थापन ...

ओम प्रकाश यादव लहान, असार १। औरही गाउँपालिका–१ स्थित श्री आधारभूत विद्यालय हर्कट्टीमा विद्यालय ...

सेवा गर्न धन होइन मन ...

कृष्णानगर, अषाढ १ कपिलवस्तु जिल्लाको कृष्णानगर बजार संग सटेको भारतीय बजारमा भिडभाड प्राय बढी नै रहेक ...

कटारी वडा नं. ५ द्वा ...

विनोद अविरल, सिरहा आषाढ १ ​। उदयपुर जिल्लाको कटारी नगरपालिका वडा नं. ५ कार्यालयले आफ्नो क्षेत्रभित्र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१