डिएसपीको रक्तदानले बच्यो सुत्केरीको ज्यान

  • वैशाख ११, २०८२
  • ५९५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव, लहान वैशाख ११। बझाङ जिल्ला अस्पतालमा उपचाररत बुङगल नगरपालिका–७ की मदरा जाग्रीको ज्यान सशस्त्र प्रहरी बल नेपाल बझाङका डिएसपी दुर्गाप्रसाद भट्टको समयमै गरिएको रक्तदानका कारण जोगिएको छ। अप्ठ्यारो अवस्थामा पुगेकी सात सन्तानकी आमा जाग्रीलाई डिएसपी भट्टले ‘ए पोजेटिभ’ रगत दिँदा उनको जीवन बच्न सफल भएको हो।

दुर्गम गाउँकी बासिन्दा जाग्री केही दिनदेखि जिल्ला अस्पतालमा भर्ना भएकी थिइन्। उनी सुत्केरी व्यथाले छटपटाइरहेकी थिइन्। चिकित्सकले तत्काल रगत आवश्यक भएको बताएपछि उनका श्रीमान् अत्यन्त तनावमा परेका थिए। परिवारमा यसअघि नै दुई छोरी बाल्यकालमै गुमाइसकेकाले जाग्रीको अवस्था प्रति सबै चिन्तित थिए।

जिल्ला अस्पतालका प्रमुख डा. नवराज जोशीले ढाडस दिँदै भए पनि तत्काल रक्तदाता भेटिनेमा अन्योल थियो। जाग्रीका श्रीमान्ले विभिन्न ठाउँमा रक्तदाता खोज्ने प्रयास गरे तर तत्काल रगत पाउन सकेनन्। यस्तै समयमा डिएसपी दुर्गाप्रसाद भट्टलाई सम्पर्क गरिएको थियो। सम्पर्क पाउनेबित्तिकै डिएसपी भट्टले बिना हिचकिचाहट अस्पताल पुगे र रगत दिए। संयोगवश, उनको रगत समूह ‘ए पोजेटिभ’ भएकाले कुनै ढिलाइ नगरी उनी रक्तदानका लागि अघि सरे। रक्तदानपछि डा. जोशीको नेतृत्वमा सुत्केरीको अपरेशन गरिएको थियो, जुन पूर्ण रूपमा सफल रह्यो।

अपरेशनपछि मदरा जाग्रीले एक स्वस्थ छोरालाई जन्म दिइन्। डाक्टरहरूको समर्पण र डिएसपीको मानवीय पहलले जाग्रीको परिवारमा पुनः खुसी ल्याएको छ। उनका श्रीमान्ले भावुक हुँदै भने, “डा. नवराज जोशी हाम्रो लागि भगवान सावित हुनुभयो। डिएसपी भट्टज्यूको सहयोगबिना यो सम्भव थिएन।” यस घटनाले सुरक्षा निकायका कर्मचारीहरूमाझ रहेको सेवा भाव र सामाजिक उत्तरदायित्वप्रतिको संवेदनशीलता उजागर गरेको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका कर्मचारीहरू अहिले बझाङ अस्पतालमा नियमित रक्तदान गर्दै आएका छन्। यसले जिल्लामा रक्तदानको संस्कार बढेको संकेत दिएको छ।

तर, अस्पतालमा स्थायी ब्लड बैंकको अभाव अझै टड्कारो रहेको देखिएको छ। रगत अभावका कारण बझाङ लगायत सुदूरपश्चिमका अन्य दुर्गम जिल्लामा वर्षेनी सयौं बिरामीको ज्यान जोखिममा पर्ने गरेको तथ्यांकले देखाएको छ। जिल्ला अस्पतालका प्रमुख डा. जोशी भन्छन्, “हाम्रो अस्पतालमा अझै स्थायी ब्लड बैंक छैन। सुरक्षा निकायका कर्मचारीहरूले सहयोग गरिरहेका छन्, तर यो दीर्घकालीन समाधान होइन। ब्लड बैंक स्थापना भएमा आकस्मिक अवस्थामा रगतको अभाव हुने समस्याबाट मुक्ति मिल्छ।” हाल अस्पतालमा उपचाररत मदरा जाग्री र नवजात शिशुको अवस्था सामान्य रहेको डाक्टरहरूले जनाएका छन्। सुत्केरीको स्वास्थ्यमा सुधार भइरहेको छ भने शिशु पूर्ण रूपमा स्वस्थ छ।

स्थानीय बासिन्दा र बिरामीका आफन्तहरूले समेत डिएसपी भट्टको मानवता र डा. जोशीको दक्षता प्रति धन्यवाद व्यक्त गरेका छन्। स्थानीय सरकारले पनि अब स्थायी ब्लड बैंक स्थापना गर्नका लागि बजेट सुनिश्चित गर्नु पर्ने आवाज उठ्न थालेको छ। यस घटनाले पुनः प्रमाणित गरेको छ कि समाजमा सच्चा नायकहरू केवल हातमा हतियार लिने मात्र होइन, आवश्यक पर्दा रक्तदान गरेर पनि बन्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस

घरायसी विवादले हिंसा ...

लहान २ जेठ । सिरहाको भगवानपुर गाउँपालिका ३ अभयनगरमा घरायसी विवादले हिंसात्मक रुप लिँदा ६ जना गम्भीर ...

लहान नगरपालिकाका वडा ...

रहमुल, लहान जेठ १ । सिरहाको लहान नगरपालिका अन्तर्गतका २४ वटै वडाका वडा अध्यक्ष तथा वडा सदस्यहरु जेठ ...

युवा संघ पर्सा आफ्नो ...

वीरगंज १ जेष्ठ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट युवा संघ नेपाल पर्सा जिल्ला कमिटीले ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१