Siraha Times
ताजा समाचार

रातीदेखि निरन्तर पानी, खोला नदीहरुमा पानीको बहाब उच्च, नाईट बस बन्द

  • असोज ११, २०८१
  • ६०५ पटक पढिएको
  • रहमुल
alt

देशका धेरै ठाउँमा रातिदेखि नै पानी परिरहेको छ । पूर्व र पश्चिमका केही ठाउँमा ठूलो पानी परेको छ । ठूलो पानी परेका ठाउँमा रहेका खोला र नदीहरुमा बाढी आएको छ ।

उदयपुर, सप्तरी, सिराहाका विभिन्न ठाउँमा ठूलो पानी परेको र थप पानी पर्न सक्ने सम्भावना रहेकोले ती क्षेत्रहरु भई बहने खाडो खोला, बालन नदी, कोरिय नदी र अन्य ससाना खोलाहरूमा आकस्मिक बाढीको तथा होचो भूभागमा डुबानको जोखिम रहेकोले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

यस्तै, कञ्चनपुरको सुन्दरपुर वर्षामापन केन्द्र आसपासको क्षेत्रमा ठूलो वर्षा भएको र थप वर्षा हुन सक्ने सम्भावना रहेकोले ती क्षेत्रहरु भई बहने सिहाली नदी, दोदा नदी र अरु ससाना खोलाहरूमा आकश्मिक बाढीको तथा होचो भूभागमा डुबानको जोखिम रहेकोले सतर्कता अपनाउन महाशाखाको आग्रह छ ।

महाशाखाका अनुसार नारायणी,  कन्काई, कमला,  बाग्मती,  राप्ती, बबई लगायतका नदीहरुमा आज र भोलि बाढीको जोखिम छ । पर्सि आइतवारसम्म नै ठूलो पानी पर्ने सम्भावना भएकाले आज र भोलि पहाडी र हिमाली क्षेत्रमा रात्रिबस नचलाउन सरकारले आग्रह गरेको छ  ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कमाण्ड पोष्टको बैठकले पर्सि आइतवारसम्म ५६ वटा जिल्लामा ठूलो पानी पर्ने भएकाले पहाडी र हिमाली जिल्लामा रात्रिबस नचलाउन आग्रह गरेको हो ।

रातको समयमा यात्रा गर्दा पहिरो तथा बाढीको आँकलन गर्न कठिन हुने भएकोले उच्च जोखिम रहेका हिमाली तथा पहाडी जिल्लाहरुमा बस नचलाउन भनिएको प्राधिकरणले जनाएको छ ।

यस्तै धान नकाट्न, अत्यन्त जरुरी अवस्थामा बाहेक यात्रा नगर्न, तराई तथा मधेश क्षेत्रमा सकेसम्म भुइँतलामा अन्नपात नराख्न, पहिरोको जोखिम भएका ठाउँमा र नदी किनाराका बस्तीमा उच्च सतर्कता अपनाउन, दाउरा निकाल्न तथा माछा मार्न नदी किनारमा नजान पनि सरकारले आग्रह गरेको छ ।

बङ्गालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावाका साथै त्यस क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको प्रभावका कारण पर्सि आइतवारसम्म मेघगर्जन र चट्याङसहित ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

शौचालय बनेपछि विद्या ...

लहान । विद्यालयमा सुरक्षित, सफा र प्रयोगयोग्य शौचालय निर्माण भएपछि किशोरी विद्यार्थीको विद्यालय जीवन ...

सरकारी अस्पतालमा एन् ...

रहमुल, लहान, ३१ असार मधेश प्रदेशअन्तर्गतका सरकारी तथा प्रादेशिक अस्पतालहरूमा लामो समयदेखि एन्टी स्ने ...

मलखाद वितरणमा पक्षपा ...

ओम प्रकाश यादव लहान, असार ३१ । खेतीपातीको मुख्य सिजनमा आवश्यक रासायनिक मलखाद नपाएको भन्दै सिरहाको भग ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१