भ्रष्ट अधिकृत यादव र लेखा प्रमुख माली माथि नियमनकारी निकायको ध्यान नजांदा पर्सागढीवासीहरु आश्चर्यमा

  • साउन १६, २०८०
  • ५७५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सम्बन्धित समाचार मा केहि त्रुटी भएको हुनाले सच्याएको छ 

रंजित चौरसिया,वीरगंज १६ साउन। पर्सागढी नगरपालिकाका तत्कालिन भ्रष्ट अधिकृत भरत प्रसाद यादव, हाल कार्यरत्त लेखा प्रमुख श्याम नारायण भगत माली र सहायक लेखा प्रमुख सन्तोष प्रसाद कुशवाहाले लाखौं÷करोड भ्रष्टाचार गरि दिन दुगुना रात चौगुना मोटाउँदै आए पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पति शुद्धिकरण विभाग लगायतका नियमकारी निकायले छानबिन गरि कारवाही प्रक्रिया अगाडी नबढाउँदा पर्सागढीबासीहरु आश्चर्यमा परेका छन् ।

पर्सा जिल्लाको वीरगंजबाट उत्तर पश्चिममा रहेको पर्सागढी नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत यादव र हालसम्म कार्यरत्त रहेका लेखा प्रमुख माली र सहायक लेखा प्रमुख कुशवाहाको मिलोमतोमा भुक्तानी दिने सेवाग्रहीहरुको आवश्यक कागजपत्र नभए पनि कमिशनको सेटिङ्गमा आर्थिक वर्ष २०७८÷०७९ मा ४ करोड ६२ लाख ३८ हजार ८१ रुपैया हिनामिना गर्न गराउदां मलेपको कार्यालयले बेरुजु रकम कायम गरेको छ । जसमध्ये सुरक्षित नागरिक आवासमा ९ लाख ८० हजार र आँखा शिविर सञ्चालनमा ४ लाख ९८ हजार ८ सय ५० रुपैया गरी १४ लाख ७८ हजार ८ सय ५० रुपैया हिनामिना गरेको पाईएको छ ।

मलेप प्रतिवेदनको क्रम सं. १३.२ मा सुरक्षित नागरिक आवास कार्यान्वयन कार्यविधि २०७५ को दफा ६ मा किस्ता बमोजिम अनुदान उपलब्ध गराईएको ३ महिना भित्र कार्यप्रगति नभएमा लाभग्राहीबाट अनुदान रकम स्थानिय तहले असूल उपर गर्ने व्यवस्था छ । तर नगरपालिकाले प्रति लाभग्राही रु. २० हजारका दरले ४९ जनाको ९ लाख ८० हजार वितरण गरेकोमा लेखा परीक्षण अवधिसम्म कुनै पनि लाभग्राहीहरुको कार्यप्रगति नभएकोले अनुसुचिमा संलग्न विवरण अनुसार निर्माण भएको प्रमाण पेश गर्नु पर्नेमा सो नभएकोले सो बेरुजु रकम असुल गरी संघिय संचित कोषमा दाखिला गर्नु पर्ने प्रतिवेदनमा उल्लेख रहेको पाईएको छ ।

त्यसैगरी क्रम सं. १६.६ मा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ को नियम ३९ मा बिल भर्पाई तथा खर्च पुष्टयाई हुने प्रमाण श्रेस्ता सहितको लेखा राख्नु पर्ने व्यवस्था भए पनि नगरपालिकाले २०७८ पौष २० देखि २२ गते सम्म आँखा शिविर सञ्चालन गरेको उल्लेख गरी किरण आँखा अस्पताल वीरगंजलाई ४ लाख ९८ हजार ८ सय ५० रुपैया भुक्तानी दिईएकोमा अस्पतालले सो शिविर सञ्चालनको प्रतिवेदन पेश नगरेको देखिन्छ । साथै बिरामीहरुको विवरण तथा चिकित्सकहरुको प्रेस्किप्सन समेत पेश नभएको पाईएको छ । सो शिविर सञ्चालनको प्रतिवेदन बिरामीहरुको विवरण तथा चिकित्सकहरुको प्रेस्किप्सन समेत पेश गर्नु पर्नेमा सो नभएकोले सो बेरुजु असुल गर्नु पर्ने प्रतिवेदनमा उल्लेख रहेको छ ।

तत्कालिन नगरप्रमुख लोकनारायण यादवको पालामा आवश्यक कागजातहरु नभए तापनि भ्रष्ट अधिकृत यादव, लेखा प्रमुख माली र सहायक लेखा प्रमुख कुशवाहाको कमिशनको सेटिङ्गमा भुक्तानी भएको स्थानियको आरोप रहेको छ । जुन आरोपलाई मलेपको प्रतिवेदनले पनि पुष्टि गरेको देखिन्छ । स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ८४(२)(घ) मा बेरुजू फछर्यौट गर्ने गराउने काम कर्तव्य प्रमुख प्रशासकीय अधिकृत कै हुने व्यवस्था छ । ऐन अनुसार जिम्मेवार व्यक्तिको कारण हिनामिना वा हानि–नोक्सानी पारेको रकम किटान गरिएको व्यवहोरालाई असुल गर्नुपर्ने बेरुजूमा वर्गीकरण गरिन्छ । यसले समेत भ्रष्टाचार भएको घाम जतिकै छर्लङ्ग भएको अवस्था देखिन्छ । तत्कालिन अधिकृत यादवले तत्कालिन जिल्ला विकास समिति बारामा कार्यरत्त रहदा भ्रष्टाचारकै मामिलामा निलम्बनमा परेका व्यक्ति हुन ।

बारा जिल्लाको पचरौता नगरपालिका वडा नं. १ पिपरपाती निवासी अधिकृत यादवले भ्रष्टाचारको कमाईबाट अकुत सम्पत्ति जोडन सफल भएको बताईन्छ । उनले कलैयाको मेनरोड मोतिबाग चौकमा आफ्नै भवनमा कलेज सञ्चालन गरेका छन् भने चन्द्रनिगाहपुरमा सुजुकीको सोरुम पनि सञ्चालनमा ल्याएका छन् । भ्रष्ट अधिकृत यादवले करिब तीन वर्ष अगाडि पिपरपाती गाउंमा करिब डेढ बिगहामा रहेको फुलबारी करिब ६५ लाखमा र पिपरपाती चौकमा करिब एक महिना अगाडि २ कठ्ठा जमिन २२ लाखमा किनेको स्रोतले जनाएको छ । उनले यतिमात्र कहां हो र ? काठमाडौंमा १ किता, हेटौडामा २ किता, सिमरामा २ किता र वीरगंजमा २ किता घडेरीहरु भ्रष्टाचारको रकमबाट किन्न सफल भएको बताईन्छ ।

उनको ३ वटा छोराहरु रहेका छन् भने एक जना अष्ट्रेलिया, एक जना भारतको पञ्जाब र एक जना काठमाडौंमा अध्ययन गरिरहेको स्रोतको कथन रहेको छ । हाल उनी कोल्हवी नगरपालिका बारामा कार्यरत्त रहेका छन् । अर्का भ्रष्ट लेखा प्रमुख मालीले आफ्नै नातामा पर्ने भान्जा सन्तोष प्रसाद कुशवाहालाई लेखा सहायकमा भर्ना गरी गराई मामा र भान्जा मिली सो नगरपालिकालाई हालसम्म दुहुनो गाई बनाएको आरोप स्थानियको रहेको छ । मालीले पनि वीरगंज र सिमरामा घडेरीहरु किनेको स्रोतको कथन रहेको छ । हाल उनी पर्सागढी नगरपालिका र कोष तथा लेखा नियन्त्रण कार्यालय पर्सा वीरगंजमा कार्यरत्त रहेका छन् ।

सच्याईएको

यस समाचारमा सहायक लेखा प्रमुख दिपक भण्डारी हुनु पर्नेमा भुलवस सन्तोष प्रसाद कुशवाहा हुन गएको र लेखा प्रमुख श्याम नारायण भगत मालीको नातामा भान्जा पर्ने दिपक भण्डारी हुन । भण्डारीलाई मालीले करारमा सुपरभाईजरको नियुक्ती दिन लगाई लेखा फाँटमा सहायकको जिम्मेवारी दिएका छन् । लेखा प्रमुख सन्तोष प्रसाद कुशवाहा हाल महालेखा नियन्त्रकको कार्यालय काठमाडौंमा कार्यरत्त रहेको व्यवहोरा पाठकवर्गहरुलाई जानकारी गराउदंछौं । सम्पादक

प्रतिक्रिया दिनुहोस

पर्साको श्रीसिया नाक ...

रन्जित चौरसिया वीरगंज ८ मंसिर । पर्सा जिल्लाको श्रीसिया नाका हुदै व्यापक रुपमा तस्करी फस्टाएपनि स्था ...

हिन्दु युवा शक्ति कप ...

धर्मेन्द्र कुमार कुर्मी कपिलवस्तु जिल्लाकाे शिवराज नगरपालिका वडा नं ३ खारेन्द्रपुरमा आज हिन्दु युवा ...

प्राकृतिक प्रकोप बाट ...

रहमुल लहान ६ मंसिर सिरहा र सप्तरी जिल्लाका धगनढीमाई, लक्ष्मीपुर पतारी, सखुवानन्कारकट्टी, भगवानपुर, र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

best free website hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१