निर्वाचन मिति तोकियो, तर ५ लाख बढी युवाले भोट हाल्न पाउँदैनन्

  • साउन २१, २०७९
  • ७४३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै करिब ५ लाख युवा यसपटकको चुनावमा मत हाल्नबाट वञ्चित हुने भएका छन्। गृहमन्त्रालयको रेकर्डअनुसार अघिल्लो वर्षको फागुनसम्म ६ लाख ८० हजार ५३३ युवाले नागरिकता लिन बाँकी छ। यीमध्ये करिब ५ लाख १८ वर्षमाथिका छन्। नागरिकता बनाउनै बाँकी उनीहरुले अब मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा भोट खसाल्न पाउने छैनन्। चुनावको मिति घोषणा भएकै दिनदेखि मतदाता नामावलीमा नाम दर्ता रोकिन्छ।सरकारले विहीबार (१९ साउन)मा आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव गर्ने मिति घोषणा गरेको छ। चुनावको मिति घोषणासँगै ठूलो संख्यामा युवाहरु मत खसाल्नबाट रोकिने भएका हुन्।

किन छुटे?
संसदको दुवै सदनबाट पारित भइ सभामुखले १५ साउनमा प्रमाणित गरेर राष्ट्रपति कार्यालय शीतल निवासमा पठाएको नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएको छैन। नागरिकता विधेयक ऐन बनेर कार्यान्वयनमा नजाँदै सरकारले बिहीबार चुनावको मिति घोषणा गरेको छ। चुनावको मिति घोषणा गरिएकै दिनदेखि मतदाता नामावली संकलन कार्य बन्द गर्नुपर्ने कानूनी प्रावधान छ। मत हाल्नका लागि मतदाता नामावलीमा नाम हुनुपर्छ, त्यसका लागि नागरिकता चाहिन्छ। तर, १६ वर्ष उमेर पुगेका ६ लाख ८० हजार ५३३ जनासँग नेपाली नागरिकता छैन। नागरिकता नभएपछि उनीहरुको नाम मतदाता नामावलीमा पर्ने कुरै भएन। नेपालको संविधान २०७२ ले मतदानको अधिकारलाई मौलिक हकमा राख्दै मतदाता नामावलीमा नाम हुन नेपाली नागरिकता हुनैपर्ने बाध्यात्मक व्यवस्था गरेको छ। नेपाली नागरिकता पाउन १६ वर्ष उमेर हुनुपर्छ। तर, नागरिकता नभएका झण्डै ७ लाखले नागरिकता पाउने गरी सरकारले नागरिकता विधेयक प्रतिनिधि र राष्ट्रियसभाबाट पारित गरेर सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गराई राष्ट्रपति कार्यालय पठाइसकेको छ। तर, १९ साउनसम्म पनि राष्ट्रपति कार्यालयबाट नागरिकता विधेयक प्रमाणीकरण गरेको छैन। राष्ट्रपतिले प्रमाणीकरण नगरी राजपत्रमा सूचना प्रकाशित हुँदैन। राजपत्रमा सूचना प्रकाशित नभई विधेयक प्रमाणित भएको मानिँदैन। 

अब विधेयक प्रमाणित भए पनि मतदाता नामावलीमा नाम दर्ता गर्न पाइँदैन। किनभने सरकारले चुनावको मिति घोषणा गरिसकेको छ। निर्वाचनको मिति घोषणा भएपछि नयाँ मतदाता नामावली भर्न पाइदैन। अर्थात, मतदाता नामावलीमा नाम दर्ता प्रक्रिया रोकिन्छ। चुनावको मिति घोषणा हुनु अघिल्लो दिनसम्म दर्ता भएका नागरिकले भने मंसिरमा हुने चुनावमा मत खसाल्न पाउँछन्। निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार निर्वाचनको मिति घोषणा भएको अघिल्लो दिनसम्म नेपाली नागरिकता पाएको व्यक्तिले मतदाता नामावलीमा नाम दर्ता भए मतदान गर्न पाउँछन्। नागरिकता नलिई नाम दर्ता हुँदैन। ‘चुनावको मिति घोषणा हुनु अघिल्लो दिन १८ वर्ष उमेर पुगेको र मतदाता नामावलीमा नाम समावेश भएको नागरिकले मतदानमा भाग लिन पाउँछ,’ थपलियाले नेपालखबरसँग भने, ‘चुनावको मिति घोषणा भइसकेपछि भने पाउँदैनन्।’ अहिले राष्ट्रपति कार्यालय शितल निवासमा रोकिएको नागरिकता ऐन प्रमाणीकरण गरिए पनि ७ लाखले मतदाता बन्न सक्दैनन्। किनभने नागरिकता ऐन कार्यान्वयनमा आउने वित्तिकै ह्वारह्वारती वितरण हुन सम्भव छैन।

सरकारले कानुन बनाएपछि त्यसलाई ७७ वटै जिल्ला प्रशासन कार्यालय, ७ वटै प्रदेश कार्यालयलाई परिपत्र गर्नुपर्छ। नागरिकता लिनेहरूले पनि स्थानीय तहको सिफारिस लिने लगायतका विभिन्न प्रक्रिया पूरा गर्नुपर्नेछ। वंशजको, जन्म सिद्ध वा अंगीकृत के हो? त्यसबारे छुट्याएर मात्र नागरिकता लिन पाइने भएकाले नागरिकता लिँदा नै केही समय लाग्छ। यसैले पनि ठूलो संख्याका नागरिक चुनावमा जनप्रतिनिधि छान्न छुटेका छन्। त्यसो त अहिले नेपाली नागरिकता लिने वित्तिकै मतदाता नामावलीमा नाम लेखाउने अटोमेटिक प्रणाली निर्वाचन आयोगले लागू गरिसकेको छ। नागरिकताको फर्म भर्ने बित्तिकै मतदाता नामावली पनि भर्ने गरिन्छ।

प्रतिक्रिया दिनुहोस

द्वन्द्व प्रभावित ना ...

रहमुल, लहान, २० चैत्र । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाको सभाहलमा द्वन्द्व प्रभावित नागरिकहरूका ...

स्थानीय तहमा वित्तीय ...

लहान चैत २० । नेपाल सरकारबाट स्थानीय सरकारलाई गरिने वित्तीय हस्तान्तरणलाई अझ प्रभावकारी, पारदर्शी र ...

सहकारी दिवसको अवसरमा ...

वीरगंज २० चैत। ६९औं राष्ट्रिय सहकारी दिवसको अवसरमा को–अपरेटिभ म्यानेजर्स क्लब, पर्सा (सीएमसी)ल ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१