नागको पूजा मनाईदै

  • श्रावण १७, २०७९
  • १०२२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल साउन १७ सिराहा । मूलढोकामा नागको तस्बिर राखेर प्रत्येक बर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नाग पञ्चमी परम्पराअनुसार नागको पूजा अर्चना गरी मनाइँदै छ । ढोकाको मूल गेटमा नागको तस्बिर टाँस्दा वर्षभर बढी विषालु किराहरुले दुःख नदिनुका साथै प्राकृतिक विपत्तिबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ । हाम्रो हिन्दू संस्कृतिमा नाग पूजाको प्रचलन वैदिककालदेखि नै शुरु भएको जनविश्वास रहिआएको पाइन्छ , वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । वराहपुराणमा उल्लेख भएअनुसार श्रावण शुक्ल पञ्चमीमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिन नाग पूजाका लागि प्रसिद्ध मानिन्छ । जनविश्वास अनुसार प्रत्येक घरको जगमुनि नाग बसेका हुन्छन् र नाग रिसाइ गएमा घरमा अशान्ति हुने धार्मिक विश्वासका कारण पनि नाग पूजा गर्ने परम्परा रहेको पाइन्छ । धार्मीक मान्यता अनुशार भगवान् शिवले नागको माला लगाउने र भगवान् विष्णु जलमाथि शेष नागको शय्यामा फणको छाता ओढी शयन गर्ने भएकाले दुवै भगवान्लाई नागका रुपमा मान्ने गरिएको हो । भगवान् विष्णुको अवतारका रुपमा जन्म लिनुभएका श्रीरामचन्द्रका भाई लक्ष्मण र कृष्णका दाजु बलरामलाई पनि शेषनागको अवतारका रुपमा मानिन्छ । दुवैले दुर्जनको नाश गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुको अवतारका रुपमा जन्म लिएका श्रीराम र श्रीकृष्णलाई सहयोग गर्न जन्म लिएको कथा विभिन्न पुराणमा उल्लेख गरिएको छ । श्रीकृष्णले बाल्यकालमै कालीनागको दमन गरेको प्रसङ्ग विभिन्न पुराणमा वर्णन गरिएको छ । भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिनुभएका बुद्धको मूर्तिको शिरमा मुकुटाकारका रुपमा सर्पको आकृति रहेको हुन्छ ।

पाण्डुपुत्र अर्जुन र चन्द्रगुप्त द्वितीयले नागकन्यासँग विवाह गरेको प्रसङ्ग धर्मशास्त्रमा उल्लेख गरिएको छ । लक्ष्मीको वास त्यो घरमा हुन्छ जुन घरमा नागको पूजा हुन्छ भन्ने मान्यता हाम्रो समाजमा सनातनदेखि छ । नागपञ्चमी कसरी र किन मनाउन थालियो भन्ने सम्बन्धमा विभिन्न किम्बदन्ती प्रचलित छन् । जसमध्ये एउटा प्रख्यात किम्बदन्ती यस्तो छ । एक किसानले आफ्नो खेत खनिरहेका बेला नागका तीनवटा बच्चा भेट्टाए र मारिदिए । ती बच्चाकी आमा आहरा खोजेर आउँदा आफ्ना सबै बच्चा मरेकोदेखि किसानसँग क्रुद्ध भइन् । रीसले चुर भएकी नागिनीले तत्काल किसानलाई मार्दा पनि रीसबाट मुक्त नभएकीले किसानको घरमा गएर श्रीमती र दुई छोरालाई पनि मारिदिइन् । संयोगले किसानकी छोरी घर बाहिर रहेकीले बच्न सफल भइन् । नागिनीले किसानकी छोरीलाई पनि खोज्दै हिँडेपछि बाटामा फेला पारी मार्न खोजिन् । किसानकी छोरीले अनेक प्रकारले अनुनय विनय गरी नमार्नुस् म तपाईँको पूजाआजा गर्छु र दूध खान दिन्छु भनेर बिन्ती गरेपछि नागिनीले दया गरी किसानकी छोरीलाई छोडिन् ।

मृत्युको मुखबाट बची प्रसन्न भएकी किसानकी छोरीले नागिनीलाई शोडषोपचारले पूजा आजा गरी कचौरामा दूध पनि खान दिइन् । किसानकी छोरीको प्रार्थनाबाट प्रसन्न भएकी नागिनीले तिम्रो भक्तिबाट म प्रसन्न भएँ वर माग भनेपछि उनले मौका छोपी मेरा मातापिता र भाईहरुलाई पनि जीवनदान दिनुहोस् भनी वर मागिन् । प्रसन्न भएकी नागिनीले तथास्तु भनी किसानका सपरिवारलाई बचाइदिइन् । यसरी नागिनीले किसान परिवारलाई बचाइदिएको दिन श्रावण शुक्ल पञ्चमी अर्थात् आजैको दिन भएकाले त्यही समयदेखि नाग देवताको पूजा गर्ने चलन रहिआएको पाइन्छ । श्रोत गूगल । साभार

प्रतिक्रिया दिनुहोस

स्कुल बस अनियन्त्रित ...

जग जीवन राम सुरुङ्गा २१ बैशाख । सप्तरीको खडक नगर पालिकामा विद्यालय बस दुर्घटना भएको हो भने मानवीय क् ...

सप्तरीको महदेवा चिमट ...

ओम प्रकाश यादव / सन्जु कुमारी दास लहान २१ वैशाख । मुक्ति नेपाल गोलबजार सिरहा र नागरीक आवाज ललित ...

सप्तरीको अग्निपीडितल ...

सप्तरी , बैशाख २० । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले सप्तरीको महादेवा गाउँपालिका-१ चिम्ट ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१