गौशाला : महोत्तरीको गौशाला नगरपालिका वडा नं. ५ मा गुणस्तरहीन तरिकाले रातारात कालोपत्रे गरेपछि स्थानियहरु आक्रोशित बनेका छन् ।
गौशाला स्थित निगौल चौकदेखि पश्चिम मरहानदीको पुलसम्मको सो सडकखण्डमा कालोपत्रे गरेको १२ घण्टा नवित्दै सुलभ तरिकाले कालोपत्रे उप्कन थालेपछि स्थानियहरु आज विहानैदेखि निर्माण कार्य अवरोध गरेका हुन । मंगलवार दिउँसो स्थानियहरुले गुणस्तरहीन तवरले सडक निर्माण भईरहेको सुईको पाएपछि निर्माणका लागि सामग्रीसहित आएका प्राविधीकहरुलाई गुणस्तरयुक्त सडक निर्माणको माग गर्दै अवरोध गरेका थिए ।
१ हजार १ सय मिटर लम्बाई र ६ मिटर चौडाई रहेको सो सडकमा रातारात विना मापदण्डकै हिलामै कालोपत्रे गरेका हुन । गएराति सिमसिमे बर्षा भईरहेको समयमा ठेकेदारका मानिसहरुले रातारात कालोपत्रे गर्न भ्याएका हुन । विना लेभल मिलाएर पानी परिरहेको समयमै रातारात कालोपत्रे गर्नु विडम्बना रहेको स्थानिय बद्री ठाकुरले प्रतिक्रिया दिनुभयो । नयाँ सडक निर्माण गर्ने क्रममा डाईभर्सन गर्नुपर्ने, बेसको वरिपरि कम्तीमा २ फिटसम्म ग्राईभेल हालेर मात्र सडक कालोपत्रे हुनुपर्ने भएतापनि त्यस्तो नभएकोले अब पुननिर्माण गर्नुपर्ने ठाकुरले माग राखेका छन ।
५ ईन्च मोटाई हुनुपर्ने सो सडक निर्माणको क्रममा मुश्किलले २ देखि ३ ईन्चसम्म मोटाई सडक निर्माण गर्दै आएको स्थानिय लक्ष्मण महतोले बताउनुभयो । सिमसिमे बर्षाको समयमा रातारात सडक निर्माण गर्न लागेपछि आफुहरु गुणस्तरीय सडक निर्माण हुुनुपर्ने अडान सहित तत्कालको लागि सडक निर्माणको लागि रोक लगाईएको महतोले जानकारी दिनुभयो । हिलोमा सडक निर्माण भएपछि धेरैदिनसम्म टिकाउ नहुने भएकोले सडक अधिक दिन टिकाउ नहुने महतोले तर्क दिनुभयो । ठाँउको अभावको कारण आफुहरुले डाईभर्सन गर्न असमर्थ रहेको कम्पनीको तर्फबाट रेखदेखमा खटिएको दिपनारायण महतोले स्वीकार गर्नुभयो ।
निर्माणको क्रममा कहिकतै काममा समस्या हुन गएकोेले मापदण्ड अनुसारको कामकाज गर्न नसकेको महतोले बताउनुभयो । यस सम्बन्धमा सडक डिभिजन कार्यालय जनकपुरका ईन्जिनियर ध्रुव नारायण पाण्डेले नियमविपरीत एवम गुणस्तरहीन तवरले निर्माण गरिएको कालोपत्रे मान्य नहुने तर्क राख्नुभयो । हातले नै उप्काउदा उप्किने खवर पाएपछि स्थानियहरु रोकिएको खबर पाएका छौ । गुणस्तरहीन तवरले काम भएको पाईएको खण्डमा सो खण्डको सडक पुननिर्माण गरेपछि मात्र सडक निर्माणले पुर्णता पाउने पाण्डेले बताउनुभयो ।
सडक डिभिजन कार्यालय जनकपुरधामको ८० लाखको लागतमा निर्माण हुने सो सडक सर्लाहीस्थित तिरुपति वालाजी कन्ट्क्शनले टेण्डरप्रक्रियामार्फत सो सडक निर्माण गर्ने ठेक्का पाएका हुन । स्थानीयहरुले पुलचौकमा निर्माण कार्यमा अवरोध गरे पछि त्यहाँ छोडी फेरी निगौलचौकमा गएर हिलोमय मै निर्माण कार्य यथावत राखेको भए पनि सरोकारवाला चुपलाग्नु कतै नकतै यसमा मिलिभगत भएको स्थानीयहरुको भनाई रहेकोछ । केही दिन अघि यसरी नै मापदण्ड विपरीत सडक निर्माण कार्य हुदा स्थानीयहरुद्वारा निर्माण कार्य अवरुद्ध बनाएका थिए ।
संघीय सरकारको वजेटमार्फत निर्माण हुने उक्त सडकखण्ड विविध कारणवश अवरुद्ध हुँदै आएको छ । सो सडकखण्डमा सडक डिभिजन कार्यालय मुजेलियाका सहायक ईन्जिनियर बृज किशोर गिरी, निर्माण व्यवसायी जगदिस यादव लगायतका टोलीले अनुगमन गरि विगतमा भएको कमी कमजोरीलाई मनन गर्दै पुर्णरुपमा गुणस्तरीय सडक निर्माण गर्ने प्रतिवद्धता जनाए पनि अहिले निर्माण कार्यमा केही सुधार नभएको कारण स्थानीयहरुले निर्माण कार्यमा रोक लगाएका छन् ।
प्रतिक्रिया दिनुहोस
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2024 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic