असोज पहिलो साताभित्र नयाँ शिक्षकको पदपूर्ति

  • साउन २६, २०७८
  • ५६९ पटक पढिएको
  • रामएकवाल राम
alt

काठमाडौँ: शिक्षक सेवा आयोगले असोज पहिलो साताभित्र नयाँ शिक्षकको पदपूर्ति प्रक्रिया अगाडि बढाउने भएको छ । झन्डै १५ हजारको हाराहारीमा नयाँ जनशक्ति शिक्षण पेसामा भित्र्याउने गरी शिक्षक पदपूर्तिको प्रक्रिया अगाडि बढाइने भएको हो ।

शिक्षक सेवा आयोगका नवनियुक्त अध्यक्ष मधु रेग्मीले ढिलामा पनि असोज पहिलो सातासम्म शिक्षकको नयाँ पदपूर्ति गर्ने हिसाबले आफूहरू अगाडि बढेको जानकारी दिनुभयो ।

आयोगले पदपूर्ति प्रक्रिया अगाडि बढाउन शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई देशभरका सार्वजनिक विद्यालयमा शिक्षकको रिक्त दरबन्दीको विवरण अद्यावधिक गरिदिन अनुरोध गरेको छ ।

केन्द्रले शिक्षक सेवा आयोगलाई गत चैत मसान्तसम्मको रिक्त शिक्षकको विवरण पठाएको भए पनि पछिल्लो विवरणसमेत थप गर्न भनिएको आयोगले जनाएको छ । आयोगको आग्रहपछि केन्द्रले आगामी भदौ १० सम्म रिक्त विवरण पठाउन जिल्लाका शिक्षा विकास तथा समन्वय एकाइलाई परिपत्र गरेको छ । अध्यक्ष रेग्मीले चैत मसान्तसम्म १२ हजार शिक्षकको दरबन्दी रिक्त रहेको विवरण आयोगमा प्राप्त भएको जानकारी दिनुभयो । हरेक दिनजसो शिक्षकहरू सेवानिवृत्त हुने भएकाले बढीमा १५ हजारसम्म शिक्षक दरबन्दी रिक्त भएको हुनसक्ने आयोगको अनुमान छ ।

सार्वजनिक विद्यालयको प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहमा गरी अब यी दरबन्दीको पूर्ति हुनेछ । चार वर्षपछि शिक्षण सेवामा नयाँ शिक्षकको पदपूर्ति हुन लागेको हो ।

यसअघि २०७४ सालमा आयोगले नयाँ शिक्षकको पदपूर्ति गरेको थियो । यस पटक अस्थायी शिक्षकको व्यवस्थापन गर्नुपर्ने अवस्था नरहेकाले सबै पदपूर्ति खुला तरिकाले हुने जनाइएको छ ।

संविधानले नेपालको विद्यालय तहको शिक्षा प्रणालीलाई आधारभूत र माध्यमिक तहका रूपमा परिभाषित गरे पनि कानुनतः अझै विद्यालय शिक्षाको शिक्षकको पदपूर्ति भने पुरानै हिसाबले भइरहेको छ । पुरानै कानुनअनुसार प्रावि, निमावि, मावि तहकै हिसाबले शिक्षकको पदपूर्ति प्रक्रिया अघि बढाइने जानकारी अध्यक्ष रेग्मीले दिनुभयो ।, याे समाचार गाेरखापत्र दैनिकमा छापिएकाे छ ।

प्रतिक्रिया दिनुहोस

जितिया पर्वमा आधारित ...

बिरेन्द्र प्रसाद नेपाल सिरहा, १ असोज । थारु समुदायको संस्कृति र जितिया पर्वसँग सम्बन्धित थारु लघु चल ...

नवराजपुर-१ श्री अवधि ...

ओम प्रकाश यादव लहान, १ असोज । सिरहाको नवराजपुर गाउँपालिका–१ स्थित श्री अवधि फेकनी आधारभूत विद् ...

शिक्षा नै प्रगतिको आ ...

लहान / भदौ ३१ । स्वतन्त्र नाई संघ (एस.एन.एस) को आयोजनामा काठमाडौं गौशालास्थित मिथिला थालीमा मंगलबार ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१