ताजा समाचार

गौरमा केवाइसी अपडेटको बहानामा ५० लाख ठगी, भारतीय नागरिक सहित तीन जना पक्राउ

  • असोज २६, २०८३
  • ३५२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने बहानामा सर्वसाधारणको बैंक खाता तथा डिजिटल वालेटमा अनधिकृत पहुँच पुर्‍याई करिब ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा भारतीय नागरिकसहित तीन जना पक्राउ परेका छन्। रौतहट प्रहरीले उनीहरूलाई सार्वजनिक गर्दै घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटले सोमबार गौरमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक (एसपी) सीताराम रिजालले अनलाइन ठगीमा संलग्न रहेको आरोपमा पक्राउ परेका तीन जनाबारे जानकारी दिएका हुन्। पीडितहरूको उजुरीका आधारमा अनुसन्धान गर्ने क्रममा गत असोज २३ गते दिउँसो करिब ४ बजे गौर नगरपालिका–३ स्थित पोखरिया टोल र वडा नं. ५ कोइरी टोलमा छापा मारेर उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा भारतको बिहार राज्यअन्तर्गत सीतामढी जिल्लाको बैगनियाका स्थायी बासिन्दा तथा गौर नगरपालिका–३ मा डेरा गरी बस्ने २४ वर्षीय मोहम्मद साहिल, सोही स्थानमा बस्ने २२ वर्षीया सलोनी कुमारी सोनी र गौर नगरपालिका–५ का १८ वर्षीय नितेश कुशवाहा रहेका छन्। प्रहरीका अनुसार पक्राउ परेकाहरूमाथि ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।

प्रहरी उपरीक्षक रिजालका अनुसार हालसम्म केवाइसी अपडेट गर्ने बहानामा अनलाइन ठगी गरिएको भन्दै २२ वटा उजुरी प्राप्त भएका छन्। प्राप्त उजुरी तथा प्रारम्भिक अनुसन्धानबाट ४९ लाख ८७ हजार ३३३ रुपैयाँ ठगी भएको खुलेको उनले जानकारी दिए। ठगीमा परेको कुल रकम, अन्य पीडितको संख्या तथा रकम स्थानान्तरणमा संलग्न व्यक्तिहरूबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पक्राउ परेका व्यक्तिहरूको साथ तथा सम्बन्धित स्थानबाट प्रहरीले एक लाख ६२ हजार २१० नेपाली रुपैयाँ र तीन हजार २३६ भारतीय रुपैयाँ बरामद गरेको छ।

त्यस्तै, सात थान मोबाइल, ११ थान सिमकार्ड, विभिन्न बैंक तथा वित्तीय संस्थामा रकम जम्मा गरिएका ३० थान भौचर, तीन थान एटीएम कार्ड, तीन थान चेकबुक, एक थान पेनड्राइभ र दुई थान मेमोरी कार्ड बरामद गरिएको एसपी रिजालले जानकारी दिए। प्रहरीले ठगीमा प्रयोग भएको हुन सक्ने रकमको हिसाबकिताब, खातावालालाई फोन गर्दा प्रयोग गरिने संवाद तथा मोबाइलको स्क्रिन सेयर गराउने तरिकाबारे लेखिएका डायरी र कापीसमेत नियन्त्रणमा लिएको जनाएको छ।

त्यसैगरी, प्रभु बैंकको १६ हजार रुपैयाँको एक थान चेक, ग्लोबल आईएमई बैंकको २० लाख रुपैयाँको एक थान चेक तथा विभिन्न बैंकिङ विवरण उल्लेख गरिएका कागजातसमेत बरामद गरिएको प्रहरीले जनाएको छ। घटनामा संलग्न मुख्य योजनाकार तथा अन्य व्यक्तिहरूको पहिचान भइसकेको र उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। ठगीको रकम कहाँ–कहाँ स्थानान्तरण भयो, त्यसमा अन्य को–को संलग्न छन् र डिजिटल कारोबार कसरी सञ्चालन गरिएको थियो भन्ने विषयमा अनुसन्धान भइरहेको एसपी रिजालले बताए।

प्रहरीले बैंक वा डिजिटल वालेटको केवाइसी अपडेट गर्ने बहानामा अपरिचित व्यक्तिले फोन गरेमा सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ। त्यस्ता व्यक्तिलाई मोबाइलको स्क्रिन सेयर नगर्न, ओटीपी, पिन, पासवर्ड तथा बैंकिङ विवरण नदिन र कुनै शंका लागेमा सम्बन्धित बैंक वा डिजिटल वालेटको आधिकारिक सम्पर्क माध्यमबाट पुष्टि गर्न प्रहरीले सुझाव दिएको छ। यस्ता अनलाइन ठगीमा परेका व्यक्तिहरूलाई नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरी उजुरी दिनसमेत प्रहरीले अपिल गरेको छ।

प्रतिक्रिया दिनुहोस

लहानको नयाँ बजारमा श ...

ओम प्रकाश यादव लहान, असोज २६ । “शौचालय बनाऔँ, सम्मान र स्वास्थ्य जोगाऔँ!” भन्ने नारासहित ...

गोलबजारमा अवैध ग्राभ ...

ओम प्रकाश यादव, लहान असोज २६। सिरहाको गोलबजार नगरपालिका–१ बलडाँडा मुसहरस्थित क्षेत्रमा अवैध रू ...

सिरहाको सुखीपुरबाट ५ ...

ओम प्रकाश यादव लहान, असोज २६ । सिरहाको सुखीपुर नगरपालिका–२, छजनाबाट प्रहरीले ठूलो परिमाणमा प्र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤