ओम प्रकाश यादव सप्तरी भदौ ३१ । खडक नगरपालिकामा सक्रिय क्षयरोग (TB) खोजपडताल तथा AI-XRAY सहितको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। खडक नगरपालिका स्वास्थ्य शाखा, कल्याणपुर, सप्तरी, मधेश प्रदेशको आयोजनामा नगरपालिकाका वडा नं. १ देखि ११ सम्म सञ्चालन गरिएको अभियानअन्तर्गत ठूलो संख्यामा नागरिकको क्षयरोग परीक्षण तथा आँखा जाँच गरिएको हो।
२०८३ भदौ २३ गतेदेखि २०८३ भदौ ३१ गतेसम्म सञ्चालन भएको सक्रिय क्षयरोग खोजपडताल अभियानका क्रममा नगरपालिकाभित्रका विभिन्न स्थानमा कुल १ हजार ७ सय जनाको TB Screening गरिएको स्वास्थ्य शाखाले जनाएको छ। परीक्षणका क्रममा करिब २०० जना TB suspected case अर्थात् क्षयरोगको शंकास्पद अवस्थामा रहेका व्यक्तिहरू पहिचान भएका छन्।शंकास्पद देखिएका व्यक्तिहरूलाई आवश्यक थप परीक्षण तथा स्वास्थ्य परामर्शका लागि सम्बन्धित स्वास्थ्य संस्थामार्फत आवश्यक प्रक्रिया अघि बढाइने जनाइएको छ। समुदायस्तरमै क्षयरोगका सम्भावित बिरामी पहिचान गरी समयमै उपचारको पहुँचमा ल्याउने उद्देश्यले अभियान सञ्चालन गरिएको स्वास्थ्य शाखाले जनाएको छ।
कार्यक्रमअन्तर्गत आधुनिक AI-XRAY प्रविधिको प्रयोग गरी क्षयरोगको प्रारम्भिक खोजपडताल गरिएको थियो। कृत्रिम बुद्धिमत्तामा आधारित प्रविधिको सहयोगबाट सम्भावित क्षयरोगका बिरामी पहिचान गर्न सहज हुने भएकाले समुदायमा लुकेर रहेका क्षयरोगका बिरामीलाई समयमै पहिचान गरी थप परीक्षण तथा उपचारमा जोड्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।स्वास्थ्य परीक्षणका लागि नगरपालिकाका विभिन्न वडाबाट नागरिकहरूको सहभागिता रहेको थियो। विशेषगरी ग्रामीण तथा स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका नागरिकलाई स्थानीयस्तरमै परीक्षणको अवसर उपलब्ध गराउने उद्देश्यले कार्यक्रमलाई वडा तहसम्म विस्तार गरिएको हो।
क्षयरोग खोजपडतालसँगै खडक नगरपालिकाका वडा नं. १ देखि ११ सम्म आँखा शिविरसमेत सञ्चालन गरिएको थियो। आँखा सम्बन्धी समस्या भएका नागरिकलाई लक्षित गरी सञ्चालन गरिएको शिविरमा स्थानीय बासिन्दाले आँखाको परीक्षण तथा आवश्यक स्वास्थ्य परामर्श प्राप्त गरेका छन्।आँखा शिविर सञ्चालनमा सगरमाथा चौधरी आँखा अस्पतालका शिविर प्रमुख राजकुमार यादवको समेत सहभागिता रहेको थियो। स्थानीयस्तरमै आँखा परीक्षणको सुविधा उपलब्ध भएपछि विभिन्न वडाका नागरिकले शिविरबाट प्रत्यक्ष लाभ लिएका थिए।
क्षयरोगजस्तो संक्रामक रोगको प्रारम्भिक पहिचानसँगै आँखासम्बन्धी समस्याको समयमै परीक्षण र परामर्श उपलब्ध गराउने उद्देश्यले नगरपालिकाले स्वास्थ्यसम्बन्धी दुवै कार्यक्रमलाई एकीकृत रूपमा अघि बढाएको हो। कार्यक्रममा खडक नगरपालिकाका नगर प्रमुख जयप्रकाश चौधरी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरेन्द्र श्रेष्ठ विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।त्यस्तै वडा नं. ३ का वडा अध्यक्ष देवनारायण चौधरी, स्थानीय बुद्धिजीवी नरसिंहप्रसाद चौधरी तथा सगरमाथा चौधरी आँखा अस्पतालका शिविर प्रमुख राजकुमार यादवलगायतको उपस्थिति रहेको थियो। खडक नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख जीव नारायण चौधरी, स्वास्थ्यकर्मी तथा स्थानीय नागरिकहरूको समेत कार्यक्रममा सहभागिता रहेको थियो।कार्यक्रममा सहभागी अतिथिहरूले समुदायस्तरमै स्वास्थ्य परीक्षण तथा रोग खोजपडताल सञ्चालन गर्नुको महत्वबारे चर्चा गरेका थिए। समयमै रोग पहिचान गर्न सके जटिलता न्यूनीकरण गर्नुका साथै परिवार तथा समुदायमा रोगको संक्रमण फैलिनबाट रोक्न सहयोग पुग्ने भएकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिइएको थियो।
स्वास्थ्य शाखाका अनुसार सक्रिय क्षयरोग खोजपडताल तथा AI-XRAY सहितको कार्यक्रम सशर्त अनुदान तथा खडक नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालन गरिएको हो। नगरपालिकाले नागरिकलाई सहज र पहुँचयोग्य स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले यस्ता स्वास्थ्य कार्यक्रमलाई प्राथमिकतामा राखेको जनाएको छ। वडा तहसम्म पुगेर स्वास्थ्य परीक्षण गर्दा रोगको प्रारम्भिक अवस्थामा नै पहिचान गर्न तथा आवश्यक उपचारका लागि स्वास्थ्य संस्थासम्म पुर्या उन सहज हुने अपेक्षा गरिएको छ। अभियानका क्रममा पहिचान भएका क्षयरोगका शंकास्पद व्यक्तिहरूको थप परीक्षण र आवश्यक उपचार प्रक्रियालाई प्रभावकारी रूपमा अगाडि बढाउन सम्बन्धित स्वास्थ्य निकायसँग समन्वय गरिने जनाइएको छ।
स्वास्थ्यकर्मीहरूका अनुसार क्षयरोगको संक्रमण समुदायमा फैलिन नदिन समयमै खोजपडताल, परीक्षण र उपचार महत्वपूर्ण हुन्छ। लामो समयसम्म खोकी लाग्ने, ज्वरो आउने, राति पसिना आउने, तौल घट्ने तथा भोक कम हुनेजस्ता लक्षण देखिएका व्यक्तिले समयमै स्वास्थ्य परीक्षण गराउनुपर्नेमा स्वास्थ्यकर्मीहरूले जोड दिएका छन्। खडक नगरपालिकाका ११ वटै वडामा सञ्चालन गरिएको यस अभियानले नागरिकमा स्वास्थ्य परीक्षणप्रतिको जागरूकता बढाउनुका साथै सम्भावित क्षयरोगका बिरामी पहिचान गर्न सहयोग पुर्याएएको छ।
नगरपालिकाले आगामी दिनमा पनि आवश्यकता र प्राथमिकताका आधारमा निःशुल्क स्वास्थ्य परीक्षण, रोग खोजपडताल, जनचेतनामूलक कार्यक्रम तथा विशेषज्ञ स्वास्थ्य शिविरहरू सञ्चालन गर्दै नागरिकको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्ने जनाएको छ।यसरी क्षयरोगको सक्रिय खोजपडतालसँगै आँखा स्वास्थ्य सेवासमेत वडा तहसम्म पुर्या इनुले खडक नगरपालिकाको समुदायमुखी स्वास्थ्य सेवाको पहुँच विस्तारमा थप योगदान पुगेको देखिएको छ।
प्रतिक्रिया दिनुहोस
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic