ओम प्रकाश यादव, सप्तरी भदौ २८ । राष्ट्रिय बाल दिवस–२०८३ को अवसरमा सप्तरीको खडक नगरपालिकामा प्रथम नगरस्तरीय बाल नगरसभा अभ्यास कार्यक्रम सम्पन्न भएको छ । बालबालिकालाई स्थानीय तहको शासन प्रणाली, नगरसभा सञ्चालन प्रक्रिया तथा जनप्रतिनिधि र कर्मचारीको भूमिकाबारे व्यावहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको दुईदिने कार्यक्रम भव्य रूपमा सम्पन्न भएको हो ।
खडक नगरपालिका, कल्याणपुरस्थित नगरपालिकाको सभाहलमा भाद्र २६ र २७ गते सञ्चालन भएको उक्त कार्यक्रम नगर बाल क्लब सञ्जाल, खडक नगरपालिका सप्तरीको आयोजनामा सम्पन्न भएको हो । कार्यक्रमलाई खडक नगरपालिका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा, कल्याणपुर, सप्तरीले सहयोग गरेको थियो ।
कार्यक्रममा बालबालिकालाई स्थानीय सरकारको संरचना, नगरसभा सञ्चालन गर्ने तरिका, नगरसभामा जनप्रतिनिधि तथा कर्मचारीको जिम्मेवारी र नगर विकासमा बालबालिकाको भूमिकाबारे जानकारी गराइएको थियो ।
बाल नगरसभा अभ्यास कार्यक्रमको मुख्य आकर्षणका रूपमा बालबालिकाले नगरपालिकाका विभिन्न पदाधिकारीको भूमिका निर्वाह गरेका थिए । अभ्यासका क्रममा सज्दा खातुनले नगर प्रमुखको भूमिका सम्हालेकी थिइन् भने आयुश कुमार साहले उपप्रमुखको भूमिका निर्वाह गरेका थिए ।
त्यसैगरी शिव शंकर मण्डलले प्रमुख प्रशासकीय अधिकृतको भूमिका निर्वाह गर्दै नगरसभा सञ्चालन प्रक्रिया तथा प्रशासनिक जिम्मेवारीबारे अभ्यास गरेका थिए । बालबालिकाले नगरसभाको बैठक कसरी सञ्चालन गर्ने, प्रस्तावमाथि कसरी छलफल गर्ने, निर्णय प्रक्रिया कसरी अघि बढाउने तथा स्थानीय तहमा जनप्रतिनिधि र कर्मचारीको भूमिका के हुन्छ भन्ने विषयमा अभ्यास गरेका थिए ।
कार्यक्रमका क्रममा नगरसभा सञ्चालनको विधि, स्थानीय तहको काम, कर्तव्य र अधिकार तथा नगर विकासमा बाल सहभागिताको महत्त्वबारे विशेष बहस र छलफल भएको थियो । बालबालिकाले विभिन्न विषयमा आफ्ना धारणा प्रस्तुत गर्दै नगरसभा सञ्चालन प्रक्रियाबारे व्यवहारिक अनुभव हासिल गरेका थिए ।
बाल नगरसभा अभ्यास कार्यक्रमले बालबालिकालाई स्थानीय सरकारको कार्यप्रणाली नजिकबाट बुझ्ने अवसर प्रदान गरेको आयोजकले जनाएको छ । यस्ता कार्यक्रमले बालबालिकामा नेतृत्व क्षमता, निर्णय क्षमता, वक्तृत्वकला तथा सार्वजनिक विषयमा आफ्नो धारणा राख्ने आत्मविश्वास विकास गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।
नगरसभा अभ्यासका क्रममा बालबालिकाले नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत लगायतका पदाधिकारीको जिम्मेवारी र भूमिकाबारे जानकारी प्राप्त गरेका थिए । यसले बालबालिकालाई भविष्यमा जिम्मेवार नागरिकका रूपमा विकास गर्न तथा स्थानीय शासनमा बाल सहभागिताको महत्त्व बुझ्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
दुईदिने कार्यक्रमको समापन समारोहमा सहभागी बालबालिकालाई खेलकुद सामग्री हस्तान्तरण गरिएको थियो । बालबालिकाको शारीरिक तथा मानसिक विकासमा खेलकुदको महत्त्वलाई ध्यानमा राख्दै आयोजक तथा सहयोगी पक्षको तर्फबाट खेलकुद सामग्री प्रदान गरिएको हो ।
समापन कार्यक्रममा खडक नगरपालिकाका नगर प्रमुख जय प्रकाश चौधरी, महिला तथा बालबालिका विकास शाखाकी अनिता साह, नगर बाल सञ्जालका सहजकर्ता अशोक कुमार साह, नगर बाल क्लबका अध्यक्ष शिव शंकर मण्डल, प्रशिक्षक निरज साह लगायतको सहभागिता रहेको थियो । उनीहरूले बालबालिकालाई खेलकुद सामग्री हस्तान्तरण गर्दै बालबालिकाको क्षमता विकास, नेतृत्व निर्माण तथा सिर्जनात्मक गतिविधिमा निरन्तर सहयोग आवश्यक रहेको धारणा व्यक्त गरेका थिए ।
कार्यक्रममा सहभागी बालबालिकाले नगरसभा अभ्यासमार्फत स्थानीय सरकारको काम गर्ने शैली, जनप्रतिनिधिको जिम्मेवारी तथा नगर विकासका विषयमा महत्वपूर्ण ज्ञान प्राप्त गरेको बताएका थिए । खडक नगरपालिकामा आयोजना गरिएको प्रथम नगरस्तरीय बाल नगरसभा अभ्यास कार्यक्रमले बालबालिकालाई स्थानीय शासन प्रक्रियासँग जोड्ने महत्वपूर्ण अवसर प्रदान गरेको छ । बालबालिकाको सहभागिता, नेतृत्व विकास र अधिकारप्रति सचेतना अभिवृद्धि गर्ने यस्ता कार्यक्रमले बालमैत्री स्थानीय शासन निर्माणमा सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
राष्ट्रिय बाल दिवस–२०८३ को अवसरमा सम्पन्न उक्त कार्यक्रमले बालबालिकालाई केवल दर्शकका रूपमा नभई स्थानीय शासन प्रक्रियाको अभ्यास गर्ने सक्रिय सहभागीका रूपमा अघि बढाउने सन्देश दिएको छ ।
प्रतिक्रिया दिनुहोस
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic