Siraha Times
ताजा समाचार

जामिया सिराजुल उलूम अलसल्फियह झण्डानगर र मुस्लिम समुदायको बाढीपीडितका लागि २ लाख ७४ हजार सहयोग

  • भदौ २६, २०८३
  • ३१७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु, भाद्र २६ । भोटेकोशी र त्रिशूलीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा पुनर्स्थापनाका लागि जामिया सिराजुल उलूम अलसल्फियह झण्डानगर तथा कृष्णनगर र शिवराज नगरपालिका क्षेत्रका मुस्लिम समुदायले मानवीय संवेदना, धार्मिक भ्रातृत्व र राष्ट्रिय जिम्मेवारीको प्रशंसनीय उदाहरण प्रस्तुत गरेका छन्।

जामिया सिराजुल उलूम अलसल्फियह झण्डानगरका नाजिम-ए-आला फजिलतुस् शेख शमीम अहमद नदवी हाफिजहुल्लाहले बाढीका कारण थुप्रै परिवार गम्भीर समस्यामा परेको उल्लेख गर्दै विपद्को यस कठिन घडीमा पीडितको सहारा बन्नु धार्मिक, मानवीय तथा राष्ट्रिय दायित्व भएको बताउनुभयो। उहाँले राहत तथा पुनर्स्थापनाका लागि आ-आफ्नो क्षमताअनुसार सहयोग गर्न सर्वसाधारण तथा सहयोगी मन भएका व्यक्तिहरूलाई आह्वान गर्नुभयो।

शुक्रबार, ११ सेप्टेम्बर २०२६ मा जामिया सिराजुल उलूम अलसल्फियह झण्डानगर तथा मुस्लिम समुदायको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गराउन १ लाख २३ हजार १४० रुपैयाँ कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी (सीडीओ) जनार्दन शर्मालाई हस्तान्तरण गरिएको थियो। हस्तान्तरण कार्यक्रममा जामियाका प्रवक्ता मौलाना मशहूद खाँ नेपाली, डा. सलमान खाँ, शेख मुजीबुर्रहमान मदनी, मुस्तफा वकिललगायतको उपस्थिति थियो। सोही अवसरमा डा. सलमान खाँले आफ्नो व्यक्तिगत तर्फबाट थप १ लाख ५१ हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि सहयोग गर्नुभयो। यससँगै कुल सहयोग रकम २ लाख ७४ हजार १४० रुपैयाँ पुगेको छ।

जामियाका प्रवक्ता मौलाना मशहूद खाँ नेपालीले भोटेकोशी र त्रिशूलीको बाढीले थुप्रै परिवारलाई गम्भीर समस्यामा पारेको बताउँदै विपद्को यस घडीमा पीडितलाई एक्लो महसुस हुन नदिन सबैले आ-आफ्नो स्तरबाट सहयोग गर्नुपर्ने बताउनुभयो। उहाँले इस्लामले मानवताप्रतिको प्रेम, विपद्मा परेकाको सहयोग र आवश्यकतामा रहेका व्यक्तिको सहारा बन्न प्रेरित गर्ने उल्लेख गर्दै बाढीपीडितको राहत तथा पुनर्स्थापनामा उदारतापूर्वक सहयोग गर्न आह्वान गर्नुभयो।

डा. सलमान खाँले प्राकृतिक विपद् कुनै एक वर्ग वा समुदायमा मात्र सीमित नहुने उल्लेख गर्दै यस्तो कठिन परिस्थितिमा सम्पूर्ण राष्ट्र एकजुट भएर पीडितको साथमा उभिनुपर्ने बताउनुभयो। उहाँले सक्षम प्रत्येक व्यक्तिलाई राहत कार्यमा योगदान गर्न आग्रह गर्नुभयो। शेख मुजीबुर्रहमान मदनीले विपद्मा परेका परिवारलाई समयमै सहयोग गर्नु धार्मिक, मानवीय तथा सामाजिक दायित्व भएको बताउँदै सर्वसाधारण तथा सहयोगी मन भएका व्यक्तिहरूलाई राहत अभियानमा सक्रिय सहभागिता जनाउन आग्रह गर्नुभयो।

त्यस्तै, मुस्तफा वकिलले भोटेकोशी बाढीपीडितको पीडा कम गर्न समाजका हरेक वर्गले आफ्नो क्षमताअनुसार भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो। सामूहिक सहयोग र सहकार्यबाट प्रभावित परिवारलाई कठिन घडीमा प्रभावकारी सहयोग पुर्‍याउन सकिने उहाँको भनाइ थियो। जामिया सिराजुल उलूम अलसल्फियह झण्डानगर र मुस्लिम समुदायको यो सहयोग विपद्को समयमा मानवीयता, त्याग, धार्मिक भ्रातृत्व, सामाजिक उत्तरदायित्व र राष्ट्रिय एकताको प्रेरणादायी उदाहरण बनेको छ।

प्रतिक्रिया दिनुहोस

अस्पतालको छेउमै सडकप ...

रहमुल, लहान, २६ भदौ । सुत्केरी बेथा लागेपछि उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल प ...

खडक नगरपालिकामा निःश ...

ओम प्रकाश यादव लहान भदौ २६ । सप्तरी जिल्लाको खडक नगरपालिकाले क्षयरोग (ट्युबरकुलोसिस– ...

बाल दिवसको अवसरमा खड ...

ओम प्रकाश यादव लहान भदौ २६ । बाल दिवसको अवसर पारेर बालबालिकाहरूको नेतृत्व विकास, स्थानीय सरकार सञ्चा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१