ओम प्रकाश यादव लहान भदौ २६ । सप्तरी जिल्लाको खडक नगरपालिकाले क्षयरोग (ट्युबरकुलोसिस–TB) को समयमै पहिचान तथा निदान गर्ने उद्देश्यले नगरपालिकाका विभिन्न स्वास्थ्य संस्थामा निःशुल्क AI–X-ray स्क्रिनिङ शिविर सञ्चालन गर्ने भएको छ। खडक नगरपालिका नगर कार्यपालिकाको कार्यालय, कल्याणपुर सप्तरी अन्तर्गतको स्वास्थ्य शाखाले सार्वजनिक गरेको अत्यन्त जरुरी सूचनाअनुसार नगरपालिकाका विभिन्न वडामा रहेका स्वास्थ्य चौकी तथा स्वास्थ्य संस्थामा तोकिएको मितिअनुसार शिविर सञ्चालन गरिनेछ।
आधुनिक प्रविधिको प्रयोगमार्फत क्षयरोगको प्रारम्भिक पहिचान र निदान गर्ने उद्देश्यले सञ्चालन हुन लागेको उक्त शिविरमा स्थानीय नागरिकले निःशुल्क AI–X-ray स्क्रिनिङ तथा क्षयरोग परीक्षण सेवा प्राप्त गर्न सक्नेछन्।शिविरको तालिकाअनुसार भदौ २३ गते इनर्वाफुलबडिया स्वास्थ्य चौकी, इनर्वाफुलबडिया वडा नं. १० मा शिविर सञ्चालन हुनेछ। त्यसैगरी भदौ २४ गते बनौली स्वास्थ्य चौकी, बनौली वडा नं. ११, भदौ २५ गते मैनाहसहरसवाहू स्वास्थ्य चौकी, वडा नं. ९, र भदौ २६ गते आधारभूत अस्पताल, कल्याणपुर वडा नं. ७ मा निःशुल्क स्क्रिनिङ सेवा प्रदान गरिनेछ।
त्यस्तै भदौ २७ गते खोजपुर स्वास्थ्य चौकी, खोजपुर वडा नं. ५, भदौ २८ गते पंसेरा स्वास्थ्य चौकी, पंसेरा वडा नं. ४, र भदौ २९ गते दुहवी तथा सिस्वा स्वास्थ्य चौकी, वडा नं. १२ मा शिविर सञ्चालन हुनेछ। भदौ ३० गते विसनपुर आधारभूत स्वास्थ्य संस्था, विसनपुर वडा नं. ८ तथा भदौ ३१ गते आधारभूत स्वास्थ्य चौकी, बनझुला वडा नं. ३ मा शिविर सञ्चालन हुने नगरपालिकाले जनाएको छ।
क्षयरोग एक गम्भीर तर समयमै पहिचान र उचित उपचारबाट निको हुन सक्ने रोग भएकाले शंकास्पद लक्षण भएका तथा आवश्यक ठानेका सम्पूर्ण नागरिकलाई शिविरमा सहभागी हुन नगरपालिकाले आग्रह गरेको छ। विशेषगरी लामो समयदेखि खोकी लाग्ने, ज्वरो आउने, राति पसिना आउने, तौल घट्ने तथा कमजोरी महसुस हुने व्यक्तिहरूले परीक्षण गराउनुपर्ने स्वास्थ्यकर्मीहरूले सुझाव दिएका छन्।खडक नगरपालिकाका नगर प्रमुख जय प्रकाश चौधरीले नगरवासीको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै आधुनिक प्रविधिमार्फत क्षयरोगको समयमै पहिचान गरी आवश्यक उपचारमा सहयोग पुर्याउने उद्देश्यले निःशुल्क शिविर सञ्चालन गर्न लागिएको जानकारी दिएका छन्।नगरपालिकाले तोकिएको मिति र समयमा सम्बन्धित स्वास्थ्य संस्थामा पुगेर आधुनिक AI–X-ray मार्फत निःशुल्क क्षयरोग स्क्रिनिङ तथा परीक्षण सेवा लिन सम्पूर्ण नगरवासीमा आग्रह गरेको छ।
प्रतिक्रिया दिनुहोस
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic