Siraha Times
ताजा समाचार

बाल दिवसको अवसरमा खडक नगरपालिकामा दुई दिने नमुना बाल नगर सभा सुरु, आज प्रशिक्षण सम्पन्न

  • भदौ २६, २०८३
  • ३६७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान भदौ २६ । बाल दिवसको अवसर पारेर बालबालिकाहरूको नेतृत्व विकास, स्थानीय सरकार सञ्चालन प्रक्रियाबारे ज्ञान अभिवृद्धि तथा निर्णय प्रक्रियामा बालबालिकाको सहभागिता बढाउने उद्देश्यले खडक नगरपालिकामा दुई दिने नमुना बाल नगर सभा कार्यक्रम सुरु गरिएको छ।

खडक नगर बाल क्लब सञ्जालको आयोजना तथा खडक नगरपालिकाको सहकार्यमा सञ्चालन भएको उक्त कार्यक्रमको आज खडक नगरपालिकाका नगर प्रमुखले औपचारिक रूपमा उद्घाटन गर्नुभएको हो। उद्घाटनसँगै कार्यक्रमको पहिलो दिन सहभागी बालबालिकालाई विभिन्न विषयमा तालिम तथा प्रशिक्षण प्रदान गरिएको छ।

खडक नगर बाल क्लब सञ्जालका नगर अध्यक्ष शिवशंकर मण्डलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश बाल सञ्जालका अध्यक्ष निरज साह, नगर युवा सञ्जालका अध्यक्ष रकिराज चौधरी, पूर्व जिल्ला बाल सञ्जाल अध्यक्षलगायत बालबालिका, युवा प्रतिनिधि तथा विभिन्न सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको पहिलो दिन सहभागी बालबालिकाहरूलाई स्थानीय सरकार सञ्चालन ऐन, विधेयक, ऐन, कार्यविधि, नियमावली तथा सभा सञ्चालन प्रक्रिया सम्बन्धी विस्तृत प्रशिक्षण दिइएको थियो। स्थानीय तहले कसरी काम गर्छ, नगर सभामा नीति तथा योजना कसरी प्रस्तुत गरिन्छ, विधेयक र नियमावली कसरी निर्माण गरिन्छ तथा सभामा प्रतिनिधिहरूको भूमिका के हुन्छ भन्ने विषयमा बालबालिकालाई व्यावहारिक जानकारी प्रदान गरिएको आयोजकले जनाएको छ।

प्रशिक्षणका क्रममा बालबालिकालाई नेतृत्व क्षमता विकास, सार्वजनिक रूपमा आफ्ना विचार प्रस्तुत गर्ने कला, छलफल तथा बहस गर्ने तरिका, निर्णय प्रक्रियामा सहभागिता तथा लोकतान्त्रिक अभ्यासका विषयमा समेत जानकारी गराइएको थियो।

बालबालिकालाई केवल भविष्यका नागरिकका रूपमा मात्र नभई वर्तमानका सचेत र जिम्मेवार नागरिकका रूपमा विकास गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने सहभागीहरूले बताएका छन्। नमुना बाल नगर सभाले बालबालिकालाई स्थानीय सरकारको संरचना, कार्यप्रणाली र नीति निर्माण प्रक्रियाबारे प्रत्यक्ष अनुभव हासिल गर्ने अवसर प्रदान गर्ने विश्वास लिइएको छ।

कार्यक्रमको दोस्रो तथा अन्तिम दिन अर्थात् भोलि नमुना बाल नगर सभा सञ्चालन गरिने कार्यक्रम रहेको छ। उक्त सभामा बालबालिकाहरूले नगर प्रमुख, उपप्रमुख, वडाध्यक्ष, कार्यपालिका सदस्य तथा नगर सभा सदस्यको भूमिका निर्वाह गर्दै स्थानीय सरकार सञ्चालनको अभ्यास गर्नेछन्।

आयोजकका अनुसार नमुना बाल नगर सभामार्फत बालबालिकाले आफ्ना समस्या, आवश्यकता, सुझाव तथा नगर विकाससँग सम्बन्धित विषयहरू उठाउने अवसर प्राप्त गर्नेछन्। यसबाट बालबालिकाको आत्मविश्वास, नेतृत्व क्षमता र सामाजिक जिम्मेवारीको भावना विकास हुनुका साथै स्थानीय शासन प्रणालीप्रति उनीहरूको बुझाइ अझ बलियो हुने अपेक्षा गरिएको छ।

बाल दिवसको अवसरमा खडक नगरपालिकामा आयोजना गरिएको यस दुई दिने नमुना बाल नगर सभा कार्यक्रमलाई बालबालिकाको प्रतिभा प्रस्फुटन, नेतृत्व विकास तथा स्थानीय शासन प्रणालीमा अर्थपूर्ण सहभागिताको महत्वपूर्ण अभ्यासका रूपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस

रसुवा बाढीपीडितका ला ...

ओम प्रकाश यादव लहान भदौ २६ । प्राकृतिक विपद्ले जब कुनै परिवारको आशियाना बगाउँछ, तब केवल घर मात्र भत् ...

भाइरल ज्वरोका बिरामी ...

ओम प्रकाश यादव लहान भदौ २५। मौसम परिवर्तनसँगै भाइरल ज्वरोका बिरामीको संख्या बढ्दै गएपछि सिरहाको लहान ...

लहानको हुलाक कार्याल ...

ओम प्रकाश यादव, लहान । सिरहाको लहान नगरपालिका क्षेत्रको सरसफाइ, सौन्दर्यीकरण तथा सार्वजनिक सुविधालाई ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१