ताजा समाचार

उठिबासको त्रासमा लहान–३ का विहारपुर टोलवासी, न्याय र सुरक्षाका लागि स्थानीय सरकार गुहार्दै

  • साउन ३१, २०८३
  • ५८५ पटक पढिएको
  • रहमुल
alt

रहमुल, लहान, ३१ साउन । लहान नगरपालिका–३ स्थित विहारपुर टोलका स्थानीयवासी पछिल्लो समय घरजग्गा खाली गर्न दिइएको कथित धम्कीका कारण त्रास र अन्योलमा परेका छन्। दैनिकजसो केही व्यक्तिहरूले बस्ती खाली गर्न दबाब तथा धम्की दिइरहेको भन्दै स्थानीयवासीले आफ्नो बसोबासको सुरक्षा र न्यायका लागि स्थानीय सरकारसमक्ष गुहार गरेका छन्।

स्थानीयका अनुसार विजय महतो र रामअवतार महतोले आफूहरूलाई घर तथा जग्गा खाली गर्न भन्दै धम्की दिने गरेको आरोप छ। पुस्तौंदेखि सोही क्षेत्रमा बसोबास गर्दै आएका स्थानीयलाई बस्ती छाड्न दबाब दिएपछि विशेषगरी विपन्न परिवार र महिलाहरू चिन्तित बनेका छन्। केही स्थानीय महिलाहरू आफ्ना समस्या सुनाउँदै भावुक बनेका छन्।

समस्याबाट त्रसित स्थानीयवासीले लहान नगरपालिकाका प्रमुख महेश चौधरी र वडा नं. ३ का अध्यक्ष रामदयाल महतोलाई भेटेर तत्काल समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरेका छन्। उनीहरूले आफूहरूलाई जबर्जस्ती उठिबास लगाउने अवस्था सिर्जना हुन नदिन, आफ्नो बसोबासको सुरक्षा सुनिश्चित गर्न र विवादको निष्पक्ष छानबिन गर्न स्थानीय सरकारसँग माग गरेका छन्।

स्थानीयवासीको भनाइमा उनीहरू लामो समयदेखि सोही क्षेत्रमा बसोबास गर्दै आएका छन्। पुस्तौंदेखि बस्दै आएको बस्तीमा अचानक घरजग्गा खाली गर्न दबाब आएपछि उनीहरूमा ‘अब कहाँ जाने?’ भन्ने गम्भीर चिन्ता उत्पन्न भएको छ।

यस घटनाले विपन्न तथा लामो समयदेखि बसोबास गर्दै आएका नागरिकको आवासीय सुरक्षासँगै उनीहरूको कानुनी तथा सामाजिक अधिकारबारे पनि प्रश्न उठाएको छ। स्थानीयको प्रश्न छ—यदि उनीहरू वर्षौंदेखि त्यहाँ बसोबास गर्दै आएका थिए भने अहिले आएर बस्ती खाली गर्न दबाब दिनुको कारण के हो? सम्बन्धित जग्गाको स्वामित्व, बसोबासको अवस्था र विवादको वास्तविकता के हो भन्ने विषयमा सम्बन्धित निकायले स्पष्ट छानबिन गर्नुपर्ने उनीहरूको माग छ।

यसैबीच, एक दिनअघि संघीय स्वास्थ्य मन्त्री निशा मेहता र यस क्षेत्रका सांसद बब्लु गुप्ता रा.उ.प्रादेशिक अस्पताल लहानको निरीक्षणका लागि आएका बेला पनि पीडित स्थानीय महिलाहरू आफ्ना समस्या प्रत्यक्ष राख्ने आशामा दिनभरजसो बसेका थिए। तर भेट हुन नसकेपछि उनीहरूले आफ्नो समस्या स्थानीय सरकारसमक्ष राख्ने निर्णय गरेको बताएका छन्।

पीडित महिलाहरूले आफूहरूको समस्या राजनीतिक आरोप–प्रत्यारोपभन्दा बाहिर रहेर मानवीय र कानुनी दृष्टिले समाधान गरिदिन आग्रह गरेका छन्। उनीहरूले कुनै पनि नागरिकलाई धम्की, दबाब वा बल प्रयोगबाट घरबास छाड्न बाध्य पार्ने अवस्था आउन नदिन सम्बन्धित प्रशासन तथा स्थानीय सरकारको तत्काल ध्यानाकर्षण हुनुपर्ने बताएका छन्।

विहारपुर टोलको विवाद अब व्यक्तिगत जग्गा वा बसोबासको विषयमा मात्र सीमित नरही विपन्न नागरिकको आवासीय सुरक्षा, कानुनी अधिकार र स्थानीय सरकारको जिम्मेवारीसँग जोडिएको विषय बनेको छ। त्यसैले स्थानीयवासीले उठाएका आरोपको निष्पक्ष छानबिन गरी वास्तविकता सार्वजनिक गर्न तथा दोषी देखिए कानुनअनुसार कारबाही र पीडितलाई आवश्यक संरक्षण प्रदान गर्नुपर्ने माग बढेको छ।

स्थानीय सरकारसमक्ष गुहार लगाएपछि अब नगर नेतृत्व र सम्बन्धित निकायले घटनाको वास्तविकता बुझेर दुवै पक्षसँग छलफल गर्दै कानुनी प्रक्रियाबाट समस्याको समाधान खोज्ने अपेक्षा स्थानीयवासीले गरेका छन्। ‘गरिब भएकै कारण आफ्नो घरबास र अधिकारबाट वञ्चित हुनुपर्ने अवस्था नआओस्’ भन्ने उनीहरूको मुख्य माग छ।

प्रतिक्रिया दिनुहोस

माछ–मरुवा देखि निर्ज ...

रहमुल, लहान, १८ असोज । मधेस–मिथिलाको लोकजीवनमा पुस्तौँदेखि विशेष आस्था, विश्वास र सांस्कृतिक प ...

कटहरियामा नेपाली कम् ...

रामअधार यादव, रौतहट, असोज १८ । नेपाली कम्युनिस्ट पार्टी कटहरिया नगरको समायोजन बैठक सम्पन्न भएको छ। ब ...

बुवाकै अनुगमनमा नवीक ...

रंजित चौरसिया वीरगंज १८ असोज। वीरगञ्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमाथि राष्ट्रिय स्वतन् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤