Siraha Times
ताजा समाचार

जिल्‍लासतरी किशोरी भेला, २०८० सम्‍पन्‍न

  • चैत ३०, २०८०
  • १२४८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सन्जु कुमारी दास सिरहा चैत्र ३० । सिरहा जिल्‍लाको गोलबजार नगरपालिकास्थित अतिथि सेवा सदनको हलमा मुक्ति नेपाल, दलित विकास मञ्‍च, गोलबजार नगरपालिका र महिला मानव अधिकार रक्षक जिल्‍ला सञ्‍जाल, सिरहाको संयुक्त आयोजनामा दुईदिने जिल्‍लास्तरीय किशोरी भेला, २०८० सफलतापूर्वक सम्‍पन्‍न गरिएको थियो । सो भेलामा जिल्‍लामा रहेका विभिन्‍न किशोरी समूह र बाल क्लबका १३५ जना किशोरीहरू, जनप्रतिनिधि र विभिन्‍न सङ्‌घसंस्‍थाका प्रतिनिधि गरी जम्‍मा १५० जनाको सहभागिता रहेको थियो ।

मधेस प्रदेश सरकार, स्वास्‍थ्‍य तथा जनसङ्‌ख्‍या मन्‍त्रालयका माननीय राज्‍यमन्‍त्री केशव रायको प्रमुख आतिथ्‍य रहेको सो भेलाको अध्‍यक्षता मुक्ति नेपालकी अध्‍यक्ष श्री देवकुमारी महराले गर्नुभएको थियो । दुई दिनसम्‍म चलेको जिल्‍लास्तरीय किशोरी भेला, २०८० को उद्‌घाटन समारोहमा प्रदेस सांसद जीवछी यादव, गोलबजार नगरपालिकाकी उपप्रमुख श्री मान्‍ती साह, धनगढीमाई नगरपालिकाकी उपप्रमुख श्री संगिता चौधरी, कल्‍याणपुर नगरपालिकाकी उपप्रमुख श्री रेखा यादव, गोलबजार नगरपालिका वडा नम्बर ३ का वडा अध्‍यक्ष श्री धन बहादुर लामा, महिला मानव अधिकार रक्षकहरू, मानव अधिकारकर्मीहरू र सञ्‍चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

किशोरीहरूको समस्‍या र ती समस्‍याको सम्‍बोधनका लागि आ-आफ्‍नो तहबाट के गरिरहनु भएको छ भन्‍ने विषयमा प्यानल छलफल गरिएको थियो भने सो प्यानल छलफलमा रहेका धनगढीमाई नगरपालिकाकी उपप्रमुख संगिता चौधरी, सरकारी वकिल कार्यालयका प्रमुख न्‍यायधिवक्ता श्री केशव विष्‍ट, जिल्‍ला स्वास्‍थ्‍य कार्यालयका प्रतिनिधि, प्रदेश युवा सञ्‍जालका प्रतिनिधि मो. नइम राइन र महिला मानव अधिकार रक्षक जिल्‍ला सञ्‍जाल, सिरहाकी अध्‍यक्ष श्री गंगा अधिकारीलाई किशोरीहरूले आफ्‍ना जिज्ञासाहरू राखेका थिए भने प्यानलको सहजीकरण महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्‍जालकी अध्‍यक्ष तथा मुक्ति नेपालकी कार्यकारी निर्देशक श्री श्‍यामकुमारी साहले गर्नुभएको थियो ।

भेलामा सहभागी एकजना किशोरीले प्यानलमा रहेका प्रतिनिधिरूलाई आफ्‍नो समस्‍या राख्‍दै प्रश्‍न गरेकी थिइन्‌- 'घरपरिवार र समाजले किशोरलाईभन्‍दा किशोरीहरूलाई शिक्षा, स्‍वास्‍थ्‍य र अन्‍य आवश्‍यक कुराहरूबाट प्रत्यक्ष रूपमा विभेद गरेको छ । छोरीहरूलाई घरको सबै काम सकेर मात्रै विद्यालय पाठाइन्‍छ, नगए पनि परिवारले वास्‍ता गर्दैन तर छोराहरूलाई अनिवार्य पढ्‍न भनिन्‍छ, हाम्रो समाजमा हामी किशोरीहरूलाई किन यस्‍तो व्यवहार गरिन्‍छ?' त्यस्‍तैगरी अर्की किशोरीले -'हाम्रो समाजमा दिनहुँजसो किशोरीहरूमाथि बलात्कार भइरहेका छन्‌ । सम्‍बन्‍धित निकायमा न्‍याय माग्‍न जाँदा पनि उल्‍टै विभिन्‍न कुराहरू सोधेर बारम्‍बार बलात्कार गरिन्‍छ? शारीरिक बलात्कार मात्रै बलात्कार हैन मानसिक बलात्कार झनै पीडादायी हुन्‍छ, हामीमाथि किन यस्‍तो हुन्‍छ?' भन्‍ने प्रश्‍न गरेकी थिइन्‌ भने सोही छलफलकी अर्की सहभागीले-'हामी गरिब तथा सीमान्‍तकृत समुदायका किशोरीहरू पढ्‌ने सरकारी विद्यालय निजी विद्यालयभन्‍दा हरेक कुरामा कमजोर छ । सरकारी विद्यालयको गुणस्तर वृद्धिमा सम्‍बन्‍धित निकायले किन ध्‍यान दिएको छैन?' भन्‍ने प्रश्‍न सोधेकी थिइन्‌ ।

कार्यक्रमको समापन समारोहमा गोलबजार नगरपालिकाका प्रमुख श्री श्‍यामकुमार श्रेष्‍ठले आफ्‍नो मन्तव्य राख्‍दै ममा पनि विकास भनेको सडकसञ्‍जाल र भौतिक संरचनाको विकास मात्रै विकास हो भन्‍ने सोच हाबी भएको थियो तर आज यस कार्यक्रममार्फत मानवीय विकास प्रमुख विकास हो भन्‍ने बुझाइ भयो । अबको आर्थिक वर्षमा किशोरी तथा महिलाको मानव विकासको क्षेत्रमा र सुरक्षा आवासको लागिसमेत बजेट विनियोजन गर्ने प्रतिबद्धता गर्नुभएको थियो । भेलाको अन्‍त्यमा, दुई दिनको छलफलबाट निस्‍केको निश्‍कर्ष र मागहरू समावेश गरी १२ बुँदे घोषणापत्र जारी गर्दै दुई दिने जिल्‍लास्तरीय किशोरी भेला, २०८० को समापन भएको घोषणा गरियो ।

प्रतिक्रिया दिनुहोस

गृह मन्त्रालय र डिआई ...

रंजित चौरसिया,वीरगंज १८ असार । जिल्ला प्रहरी कार्यालय पर्सा मातहतमा पर्ने ईलाका प्रहरी कार्यालय छपकै ...

शिक्षामा लगानी, उज्ज ...

रहमुल, लहान, १८असार । सिरहाको लहान नगरपालिका–२३ ले माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरे ...

खडक नगरपालिका पूर्ण ...

ओम प्रकाश यादव लहान, असार १८ । सप्तरी जिल्लाको खडक नगरपालिकाले आर्थिक वर्ष २०८३ मा पूर्ण खोप सुनिश्च ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१