आन्नद उत्तसाह विजयीको रुपमा 'जितिया' पर्व

  • आश्विन ११, २०७८
  • ७५५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार।लहान-११असोज। संस्कृतमा 'जिवित पुत्रिका', हिन्दीमा जियतिया र नेपालमा तराईवासी मधेशी महिलाहरू 'जितिया'लाई आफ्नो सन्तानको सुख, आनन्द र प्रगतिका निमित्त मनाइने एउटा उत्साहजनक चाडका रूपमा लिन्छन् र यसलाई जिवित पुत्र पर्वको रूपमा मनाइन्छ । यो पर्व अश्विनको अष्ठमी तिथीको कृष्ण पक्षको दिन मनाइन्छ । यो पर्व खासगरि आमाहरूले आफ्नो जिवित पुत्रहरूकालागि व्रत बस्ने गर्दछन् । महिलाहरु 'निर्जला' अर्थात पानी समेत सेवन नगरिकन २४ घण्टासम्म भगवान 'जीतमहान गोँसाई'को पूजाआजा गरी कठोर व्रत बस्ने परम्परा रहिआएको छ ।

मधेसी र थारु संस्कृतिका पर्वमध्ये यो एउटा प्रमुख पर्व हो । यसलाई ‘जिमुतवाहन’व्रत पनि भनिन्छ । असोज कृष्णपक्ष अष्टमी तिथीदेखि मधेशी तथा थारु समुदायका महिलाहरूले जितियालाई अधिक महत्व दिँदै मनाउने गर्छन् । यस व्रतमा थुक पनि निल्न नहुने र ७२ घण्टासम्म निराहार उपवास बसी व्रतलाई खण्डित पनि गर्न नपाउने नियम रहेकाले यो पर्वलाई कठोर पर्वका रुपमा लिइने गरिएको मैथिलीका प्राध्यापक श्यामा महतो बताउछिन् । अर्थात यसलाई ‘खड् जितिया’पनि भनिन्छ। पुत्रको सुख शान्ति र चिरायुका लागि महिलाले निराहार रुपमा उपवास बसी प्राचीन प्रक्रिया अनुरुप पूजा गर्ने चलन छ । जितिया पर्वको मुख्य उदेश्य मोक्ष प्राप्तिको कामनासँगै परिवारमा सुख, समृद्धि र कल्याण हुने जनविश्वास रहेको सिराहाको लहान नगरपालिका–७ की भारती गुप्ता बताउछिन् । यस पर्वबारे एउटा भनाइ प्रख्यात छ ।

‘जितिया पावनि बड भारी

धियापूताके ठोकी सुतौलनी

अपने खयलनी भरि थारी’

अर्थात् जितिया पर्व धेरै ठूलो छ । यो पर्व गर्न आमाले छोराछोरीलाई ठोकठाक पारेर सुताइदिन्छे अनि आफू थालभरि खान्छे । तर वास्तविक तात्यो होइन, त्यो त खाली त्यसको पवित्रता र महत्वलाई दर्शाउने गरी त्यो पर्व गर्नुभन्दा अगाडि प्रत्येक महिलाले व्रतलिनअपनाउने सतर्कताकाक्रममागरिने चरणको कार्य मात्र हो।

जितियाको विधि :- जितिया पर्वको आफ्नै विशिष्ट विधि विधान छ । पर्वको एक दिन पहिला सधवा स्त्रीले माछा एवम् कोदोको रोटी खाने चलन छ भने, विधवाले भात, चिउरा, कोदोको रोटी खाने परम्परा छ । साथै शाकाहारी हुनेले स्नान गरेर गम्हरी (कोसाभित्रै फल्ने धान)को खीर वा भात पनि खाने चलन छ । अष्टमी तिथीमा सूर्य उदाउनु भन्दा पहिल्यै प्रत्येक महिलाले आचमन शुद्धि गरी घिरौंलाका पातमा तेल लगाएर त्यसमाथि पिनाको अघ्र्य राख्छन् । त्यसपछि दिनरात उपवासमा बस्नुपर्ने भएकाले छाकभरि भोजन गर्छन् । बच्चा ब्युँझेपछि तिनकाअ ामाले तिनको हातमुख धुन लगाई राति तिनका लागि घिरौँलाका पातमा राखेका नैवेद्य स्वरुपको चिउरा, दहीखान दिन्छन् र आफू दिनरात उपबासमा बसेर जिमुतवाहन र चुल्हो सियारोको कथा सुन्छन् । जुन दिन नुहाएर खाइन्छ, त्यसको बिहान घरको भित्तामा अडेस लिएर मन्त्र पढिन्छ । जसलाई ओङगठन भनिन्छ । ओङठनको बेलामा यस्तो गीत गाइन्छ ।

‘धियाके जनमजनिदिय हे विधाता

देवनी सहोदर जेठ भाय

घैलाके ओङगठन गेरुली

बहिनियाँके ओङगठन भाय’

त्यसको भोलिपल्ट बिहानै सकालै उठेर व्रतीले पोखरी, नदीमा गएर स्नान गर्छन् र त्यही डिलमा घिरौँलाको पात, कचौरामा लगेको तेल लगाई त्यसमाथि हल चढाएर अरघ्य दिसकेपछि घर आउँछन् र आ–आफ्ना सन्तानका कपालमा कचौरामा रहेको सो पूजनको तेल लगाइदिने चलन रहेको छ । यसपछि सबैलाई दही, चिउरा र फलफूल खान दिएर व्रती आफू पनि पारायण गरेर पर्वको समापन गर्छन् ।

हामी जितिया पर्वको महिमामा संग्रहित र आधारीत व्रतकथाबाट शुरुवात गर्दछौंः-

एकादेशमा नर्मदा खोलाको किनारमा कञ्चनवती नाम गरेको एउटा गाउँ थियो र उक्त ठाउँमा राजा मलायकेतुले राज्य गर्दथे । खोलाको पश्चिमी किनारामा वलुहटा नाम गरेको एउटा मरुभुमी पनि थियो, त्यहि किनारमा एउटा पाखरको रुख थियो जसमा पोथी चील चरा बस्थि जसको रुखमुनी पोथी स्यालको वास थियो । उनिहरु दुवै साथीसाथी भए र एकदिन गाउँका अरु महिलाहरुले जस्तै उनिहरुले पनि भगवान जीतमहान गोँसाईको निर्जल व्रत बस्ने निर्णय गरे तर संयोगवश त्यसै दिन उनिहरु बस्ने मरुभुमीको छेउस्थित शहरको धनी ब्यापारीको छोरालाई ल्याएर गाडिन्छ, चीलले अरु महिलाहरुझैं ब्रत कायम राखेपनि स्याल भने गाडेको लाशको मासु सेवनगर्ने तिव्र इच्छालाई दबाउन नसकेर व्रत तोड्न पुग्दछे । अर्को जन्ममा यी दुवै चील र स्याल एउटै घरमा अनि व्राह्मण परिवारमा दिदि-बहिनीका रुपमा जन्मिन्छिन् ।

चील अब शिलवती नामकी व्राह्मण कन्याको रुपमा र उनकी वहिनी अर्थात स्यालको यस जन्ममा कपुरवती हुन्छे । शिलवतीको बुद्धिसेन भन्ने व्यक्तिसंग अनि वहिनी कपुरवतीको विवाह राजा मलायकेतुसंग हुन्छ । शिलवतीको सात जना सुन्दर पुत्रहरु हुन्छन् भने कपुरवतीको पुत्रको मृत्यु भएकाले उनि एकदमै दुखि र निरास हुन्छिन् । शिलवतीका छोराहरुले राजा मलायाकेतुकोमा काम गर्न थाल्दछन् र ति केटाहरु आफ्नी दिदिका पुत्रहरु भएको थाहा पाएपछि पूर्वजन्मकी स्याल अनि यो जन्मकि शिलवतीकी बहिनी कपुरवति रिसले चुरचुर हुन्छिन् । राजालाई भनेर ति सातैजना शिलवतीका पुत्रहरुको हत्या गर्न लगाई तिनको टाउकालाई रातो कपडामा बेरेर दिदिकोमा पठाउने षडयन्त्र गर्दछिन् । तर यो कुरा भगवान जीतमहान गोँसाईले थाहा पाएपछि सातै छोरालाई बचाउनुहुन्छ र ति सातैजना पुत्रहरुलाई अमृत दिएर अमर बनाउँदै उनिहरुको टाउकोको साटो माटोको टाउको रातो कपडामा बेरिन्छ । यसरी रातो कपडाले बेरीएको भाँडो शिलवतीको घरमा पुग्दा टाउकाको साटो फलफुलले भरिपूर्ण उपहारको रूपमा परिरणत हुन्छ ।

यता हत्याको योजना बुन्ने बहिनी कपुरवती आफ्नी दिदिको घरमा अब छोराहरुको मृत्यु र टाउको मात्रको आगमनले त्रसित, भयवित अनि रुवावासी भइरहेको होला भनि एकजना सेविकालाई बुझ्न पठाउँछिन तर शिलवतीको घरमा हर्ष उल्लास र खुशियाली छाएको सन्देशयूक्त खबर उनीहरूले ल्याएपछि राजा मलायकेतु अर्थात कपुरवतीका पतिले पक्कैपनि त्यो घरमा भगवानको कृपा छ भन्ने सोंच्दछन् । दिदिको खुशी सहन नसकि अव कपुरवती दिदिको घर पुग्दछिन् र आफूले सम्पूर्ण कुरा भन्दिन्छिन् । यसो भन्दैगर्दा शिलवतीलाई पूर्वजन्मको कुरा याद आँउछ जहाँ उनले चीलको रुपमा भएपनि भगवान जीतमहान गोँसाईको व्रत बसेकि थिइन् यो प्रसंग शिलवतीले बहिनीलाई भन्दछिन् र यो सुनेर बहिनी कपुरवति बेहोस हुन्छिन् जसलगत्तै उनको मृत्यु हुन्छ । यसै बेलादेखि भगवान जीतमहान गोँसाईको श्रद्दापूर्वक ढंगले आमाहरुले छोराछोरीको रक्षकालागि जितिया पर्वमा व्रतको परम्परा थालेको मान्यता रहिआएको छ ।

विशेषत तराई र अन्य स्थान लगायत भारत अनि संसारका धेरै देशमा वैदिक सनातन हिन्दु रित अनुसार आज जितियाको व्रत लिइन्छ । यो व्रत कुनै धनधान्य अनि ऐश्वर्यकालागि नभई नितान्त मातृस्नेह र मातृवात्सल्यको एउटा अद्भूत उदाहरण हो । अश्विन कृष्ण पक्षको सप्तमी देखि नवमीसम्म गरी तिनदिनसम्म मनाइने यो पर्वको प्रथम दिनलाई नहाई-खाई अर्थात् एकाविहानै उठी नजिकको जलाधार अथवा नदिमा गएर स्नान गरी तोरीको तेल र 'खर' चढाउने परम्परा रहिआएको छ । आमाहरुले स्नान गरेर मात्र यस दिन चोखो खानेकुरा सेवन गर्दछन् ।

दोश्रो दिन जिवितपुत्रीकाको दिन 'अष्टमी' र यसदिनलाई 'खर दिन' पनि भनिन्छ । खर भनेको एक प्रकारको घाँस हो र यो तराई का शितल नदीका किनारहरूमा बाक्लै भेटिन्छ । यसलाई विभिन्न धार्मिक सामाजिक कार्य लगायत गाउँतिर घरको छाना छाउन पनि प्रयोग गरिन्छ । तेश्रो दिनलाई पारण भनिन्छ र यस दिन खाना खाइन्छ, तिथि मितीमा तलमाथी परे अथवा एउटै तिथी दुइदिन परेमा कहिलेकाँही आमाहरुले तिनदिनसम्म निर्जल व्रत बस्नुपर्ने पनि हुन्छ ।

त्यसै गरि थारु समूदायमा जितियालाई उत्तिकै महत्वका साथ लिइन्छ । जितियालाई बिजय अर्थात् जितका रुपमा लिदैं नवलपरासी अनि चितवनका महिलाहरुले तिनदिनसम्म महत्वका साथ जितीया मनाउँदछन् । भगवान बिष्णु, शिव र भगवान सूर्यलाई पूजा अर्चना गर्दछन् । पारम्परीक गीत, सङ्गीतका साथमा नाचगान सहित जितिया पर्व मनाइन्छ । प्रकृतीको अर्चना पनि थारु समूदायको जितियाको एउटा महत्वपूर्ण पाटो हो । थारु समूदायले जितियामा नाच्ने नाचलाई 'झ्याम्टा' भनिन्छ । यस समूदायले ब्रहमथानमा गाउने पानीका देवताको एउटा विशेषखाले गीत हुन्छ जसलाई 'जतसरी' भनिन्छ । पिपलको हाङ्गा काटेपछि थारु महिलाहरुले गाउने एउटा अर्को पारम्परीक विशेष गीत छ जसलाई 'दारकाटोनी' भनिन्छ । जितिया पर्वमा खुला आकाशमुनी सम्पूर्ण गीत अनि नृत्य प्रदर्शन गर्ने गरिन्छ ।

थारु समूदायमा पिपलको हाङ्गा काटेर अनि धानका बिरुवाहरु उखेलेर गाउँको बिचमा गाईको गोबरले लिपेर राखिन्छ, यसरी लिपेर तयार पारीएको ठाँउलाई 'थाट' भनिन्छ । बहुभाषीक अनि बहुसंस्कृतीयूक्त हाम्रो देश नेपालमा जितिया पर्वले धेरै समूदाय, भाषा अनि संस्कृती मान्नेहरुलाई एकैथलोमा भेला पार्दछ ।

Open Photo

Open Photo

 

प्रतिक्रिया दिनुहोस

५ बर्षिय छोरा हत्या ...

रहमुल लहान १३ बैशाख आफ्नै ५ वर्षिय छोराको हत्या अभियोगमा लहानबाट एक महिलालाई सिरहा प्रहरीले नियन्त्र ...

नेपाल छात्रवृत्ति सम ...

रहमुल लहान १३ बैशाख । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाको सभाहलमा सेभ द चिल्ड्रेनको सहयोगमा र नेपा ...

नेपाल पत्रकार महासंघ ...

बिसुनदेव सरदार लहान, १२ बैशाख । नेपाल पत्रकार महासंघ सिरहाको १४ औं साधारणसभा भव्यताका साथ सम्पन्न भए ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१