Siraha Times
ताजा समाचार

शासकीय सुधार कार्यसूची कार्यान्वयनमा जोड: सखुवानन्कारकट्टी गाउँपालिकामा पारदर्शिता र सुशासनको माग

  • चैत १६, २०८२
  • ४७८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान, १६ चैत्र । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष रमेश कुमार यादवले नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२ चैत्र १३ गतेको बैठकबाट स्वीकृत ‘शासकीय सुधार सम्बन्धी एक सय कार्यसूची’को मर्म र भावनाअनुसार तत्काल कार्यान्वयन गर्न गाउँपालिकालाई अनुरोध गरेका छन्।

वडा अध्यक्ष यादवका अनुसार मधेश प्रदेश अन्तर्गत सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकामा सुशासन, पारदर्शिता र उत्तरदायित्व सुनिश्चित गर्न आवश्यक विभिन्न सुधारात्मक कदम अविलम्ब चालिनुपर्नेमा जोड दिइएको छ। उनले सम्बन्धित निकायलाई नियमअनुसार कार्य सम्पादन गर्न–गराउन समेत आग्रह गरेका छन्।

उक्त कार्यसूचीअनुसार प्रमुख रूपमा कर्मचारी व्यवस्थापन, वित्तीय अनुशासन र सार्वजनिक सेवामा पारदर्शिता कायम गर्ने विषयलाई प्राथमिकता दिइएको छ। कर्मचारीहरू समयमै कार्यालयमा उपस्थित भई आफ्नो प्रशासनिक तथा पदिय दायित्व पूरा गर्नुपर्ने, दरबन्दीअनुसार मात्र कर्मचारी व्यवस्थापन गर्नुपर्ने र आवश्यकताभन्दा बढी करार कर्मचारी नराख्नुपर्नेमा जोड दिइएको छ।

त्यसैगरी, कार्यालयको स्वामित्वमा रहेका सवारी साधनको मात्र प्रयोग गर्नुपर्ने उल्लेख गर्दै अनावश्यक रूपमा भाडामा सवारी प्रयोग गर्ने प्रवृत्तिलाई नियन्त्रण गर्नुपर्ने माग गरिएको छ। विशेषगरी, कार्यालयसँग आफ्नै सवारी साधन हुँदाहुँदै थप स्कार्पियो गाडी मासिक भाडामा लिने कार्यलाई अनियमितता तथा विलासिताको रूपमा औंल्याउँदै त्यस्ता खर्च कटौती गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।

यस्तै, टेन्डर प्रक्रियाबाट सञ्चालन भइरहेका योजनाहरूमा गुणस्तरहीन काम भइरहेको गुनासो बढ्दै गएकाले पारदर्शिता कायम गर्दै गुणस्तरीय कार्यान्वयन सुनिश्चित गर्नुपर्नेमा जोड दिइएको छ। खरिद प्रक्रियासम्बन्धी सम्पूर्ण विवरण पालिकाको वेबसाइटमार्फत नियमित रूपमा सार्वजनिक गर्नुपर्ने व्यवस्था लागू गर्न पनि सुझाव दिइएको छ। वडा अध्यक्ष यादवले सबै प्रकारका अनियमितताविरुद्ध सचेत रहँदै सुशासन कायम गर्न सम्बन्धित पक्षलाई गम्भीर बन्न आग्रह गरेका छन्। उनले शासकीय सुधारका कार्यसूचीहरू प्रभावकारी रूपमा कार्यान्वयन भएमा स्थानीय तहमा सेवा प्रवाह थप प्रभावकारी, पारदर्शी र जनउत्तरदायी बन्ने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस

१८ वर्षदेखि अलपत्र म ...

विनोद अविरल, जेठ ११ ​ । सिराहा जिल्लाको गोलबजार नगरपालिका वडा नं. १ मुक्सारमा निर्माण सुरु गरिएको खा ...

बरियारपट्टी छोटी भन् ...

ओम प्रकाश यादव लहान, जेठ ११ । सिरहाको बरियारपट्टी छोटी भन्सार कार्यालय कायम राख्न माग गर्दै स्थानीयव ...

​धनगढीमाईको मदन भण्ड ...

​जेठ ११, सिराहा । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. १४ स्थित मदन भण्डारी स्मृति माध्यमिक वि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१