बाबियोको डोरीले फेर्यो जिन्दगी

  • साउन २४, २०७८
  • ७२६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा । खेतमा प्रशस्त पाइने बाबियोबाट बाटेर तयार हुने डोरीले बजार पाएपछि सिरहाको कल्याणपुर जब्दी–१, स्थित प्रचिल्वा गाउँमा महिलाको आम्दानी बढेको छ । डोरीले बजार पाएपछि महिला बेफुर्सदी बनेका छन् । पहिले आफूलाई आवश्यक पर्दा स्थानीय हाटबजारबाट मुस्किलले बाबियोको डोरी पाउने गरेको प्रचिल्वाकी स्थानीय समाजसेवी रामस्नेही साहले बताउनुभयो ।

उहाँले भन्नुभयो, “अब गाउँकै दिदीबहिनीले बाबियोको डोरी बनाउन थालेपछि सबैलाई घरायसी काममा सजिलो भएको छ ।” घरेलु तथा साना उद्योग कार्यालय लहानको सहयोगमा प्रचिल्वाका विपन्न महिलालाई बाबियोको डोरी उत्पादन गर्न प्राविधिक ज्ञान दिइएको थियो । उक्त तालिमपछि महिलाले बाबियो खोजेर डोरी बाट्न सुरु गरेका हुन् । डोरी उत्पादनमा एउटै गाउँमा १२ जनाभन्दा बढी महिला सक्रिय भएका छन् । कार्यालयकै संयोजनमा महिलाहरूले गौरी लघुउद्यम समूह दर्ता गरी त्यसमा आबद्ध भएका छन् । समूहमा आबद्ध महिलाले पहिले घरको आवश्यक खर्चको जोहो गर्न बाहिर जानुपरेको भए पनि अहिले बाबियोको डोरीको कमाइले सजिलो भएको अनुभव बाँड्ने गरेका छन् । समूहकी अध्यक्ष मानसैरदेवी पासमानले भन्नुभयो, “बाबियोको डोरीको उत्पादनमा फाइदा बढी र नोक्सानीको जोखिम कम छ ।

५० रुपियाँ खर्च गरेर ल्याएको एक भारी बाबियोबाट निर्मित डोरी बिक्री गर्दा १५० रुपियाँसम्म हामीले पाउँछौँ । अर्काको घरमा दलिएर खट्नुको साटो बाबियोको डोरी उत्पादनमा नै समय खर्चिएर दाम र नाम पनि कमाउन सकिँदो रहेछ ।” अहिले गौरी लघुउद्यम समूहले नै सिरहाको पुरानो बजारको रूपमा रहेको कल्याणपुरका सबै हार्डवेयर पसललाई डोरी आपूर्ति गर्दै आएका छन् । समूहले उत्पादन गरेको डोरीको माग सगरमाथा अञ्चलकै प्रमुख व्यापारिक केन्द्र लहानका व्यापारीबाट आउन थालेको छ । घरआँगनमा सामान्यरुपमा लगाइने बाँस र खरको पर्खाललाई बाँध्नेदेखि घर बनाउन र बिहे, ब्रतबन्धदेखि अति आवश्यक काममा समेत प्रयोग हुने भएकाले यो डोरीको माग बढ्दो छ । यस काममा उनीहरूलाई घरका फुर्सदिला पुरुषले पनि सघाएका छन् ।

कल्याणपुर नगरपालिकाले महिलालाई डोरी बनाउने नयाँ उपकरणसमेत खरिद गरिदिएको छ । लहानस्थित घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख दीपेन्द्रकुमार यादवले भन्नुभयो, “घरेलु सीपप्रति लगनशीलता र समर्पण गरियो भने त्यसले पछि निकै राम्रो परिणाम दिन सक्छ भन्ने उदाहरण प्रचिल्वाको गौरी लघुउद्यम महिला समूह हो ।” बाबियोको डोरी उत्पादन र त्यसले पाएको बजारले उहाँ खुसी हुनुहुन्छ । उनीहरूले उत्पादन गरेका डोरी सुरुमा स्थानीय बजारमा बिक्री भए पनि एक वर्षको अन्तरालपछि त्यसले जिल्लाभरि व्यापकता पाएको छ । सुरुमा विपन्नको वर्गमा परिचय पाएका ती महिला अहिले नगरपालिकाकै मध्यमवर्गीय परिवारमा गनिन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस

इन्टरपोल रेड नोटिस ज ...

काठमाडौ  - जबरजस्ती करणी सम्बन्धी कसूर (वैवाहिक करणी) मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी ...

विपन्न तथा सिमान्तकृ ...

ओम प्रकाश यादव लहान, वैशाख २४।विपन्न तथा सिमान्तकृत बालबालिकाहरूलाई गुणस्तरीय शिक्षामा पहुँच बढ ...

पत्रकारलाई धम्की दिन ...

लहान वैशाख २४ । सिरहामा सडक निर्माणसम्बन्धी योजना बारे सूचना माग्दा एक पत्रकारमाथि निर्माण व्यवसायील ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१