Siraha Times
ताजा समाचार

कोरोना महामारी : विराटनगरमा आधा घण्टाभित्र तीन जनाको मृत्यु

  • वैशाख १८, २०७८
  • ९०० पटक पढिएको
  • रामएकवाल राम
alt

विराटनगर : विराटनगरमा कोरोना भाइरस संक्रमित तीन जना पुरुषको शनिबार बिहान आधा घण्टाभित्र मृत्यु भएको छ। एक जनाको हृदयघातका कारण ज्यान गएको हो। मृत्यु हुनेमध्ये एक जना विराटनगर र अरु दुई जना प्रदेश २ को सप्तरी र महोत्तरीका हुन्। तीनै जनाको उपचारका क्रममा विराटनगरस्थित नोबेल शिक्षण अस्पतालको आइसोलेसनमा मृत्यु भएको हो। 

कोरोनाको उपचारका लागि अस्पताल भर्ना गरिएका विराटनगर महानगरपालिका–३ का ५५ वर्षीय पुरुषको शनिबार बिहान ५:५० बजेतिर मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए। उनका अनुसार कोरोना संक्रमणसँगै मृतकलाई एक्कासि हृदयघातको समस्या पनि थपिएको थियो। अचानक हृदयघात भएपछि थप उपचार गर्न नपाउँदै संक्रमित पुरुषको मृत्यु भएको जानकारी चिकित्सकले दिएको उनले बताए। 

मृतक पुरुषको कोसी अस्पताल विराटनगरमा पीसीआर परीक्षण गराउँदा वैशाख १५ गते रिपोर्ट पोजिटिभ आएको थियो। स्वास्थ्य अवस्था सामान्य रहेका उनी होम आइसोलेसनमा रहेका थिए। तर श्वासप्रश्वासमा अचानक समस्या भएको भन्दै शुक्रबार बिहान ११ बजेतिर उपचारका लागि नोबेल ल्याइएका संक्रमितलाई बचाउन नसकिएको दाहालले बताए। 
‘मृतकमा स्वास्थ्य सम्बन्धी पुरानो कुनै समस्या थिएन,’ उनले भने, ‘कोरोना संक्रमणसँगै हृदयघात भइदियो।’

त्यस्तै नोबेलमै उपचाररत सप्तरीको राजविराज–९ का ४५ वर्षीय कोरोना संक्रमित पुरुषको पनि बिहान मृत्यु भएको छ। कोरोना संक्रमण पुष्टि भएपछि उनलाई उपचारका लागि शुक्रबार दिउँसो १ बजेतिर अस्पताल भर्ना गरिएको थियो। उपचारका क्रममा मृत्यु भएका संक्रमितमा उच्च रक्तचाप र मधुमेहको पुरानै समस्या रहेको दाहालले बताए। उनका अनुसार संक्रमित पुरुषको बिहान ५:४५ बजेतिर मृत्यु भएको हो। ‘उपचारका लागि ल्याउँदा संक्रमितको अवस्था गम्भीर थियो,’ प्रबन्धक दाहालले भने, ‘तत्काल उपचार थालिएको भए पनि बचाउन सकिएन।’

नोबेलमै उपचाररत महोत्तरी घर भएका अर्का संक्रमितको पनि बिहान ६:१५ बजेतिर मृत्यु भएको हो। दाहालकाअनुसार महोत्तरीको महत्तरी–६ का ३५ वर्षीय पुरुषको उपचारकै क्रममा  मृत्यु भएको हो। कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि शुक्रबार दिउँसो अस्पताल भर्ना गरिएको दाहालले बताए। उनले कोरोनाका कारण मृत्यु भएका तीनै जनाको शव व्यवस्थापनका लागि पहल भइरहेको बताए। By:Annpurna Post.

प्रतिक्रिया दिनुहोस

धनगढीमाई नगर अस्पताल ...

ओम प्रकाश यादव,​लहान, ९ असार । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ९ स्थित नगर अस्पतालमा उपचा ...

गोली प्रहार गरी लागु ...

ओम प्रकाश यादव लहान , असार ७। सिरहाको सीमावर्ती क्षेत्रबाट प्रहरीले गोली प्रहार गरी ब्राउनसुगरसहित द ...

हिट एन्ड रन घटनापछि ...

रहमुल, सिरहा, ७ असार । सिरहाको धनगढीमाई नगरपालिका क्षेत्रमा भएको सवारी दुर्घटनामा एक व्यक्तिको मृत्य ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१