खेलकुदको जग बसाउँदै गोलबजार नगरपालिका

  • भदौ २२, २०७७
  • ७१२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

भाद्र २२ । पूर्व पश्चिम राजमार्गले दुई भागमा छुट्टयाएको गोलबजार जिल्लामैं व्यवस्थित र बढ्दो शहरीकरण उन्मुख नगरपालिकाको रुपमा चिनिन्छ । गोलबजार सिरहा सदरमुकाम र २०३२ मा स्थापित पुरानो नगरपालिका लहानको बीच भागमा पर्ने भएकाले पनि यस बजारलाई महत्वपूर्ण मानिन्छ । जिल्लामैं ‘मध्य विन्दु’मा पर्ने गोलबजारले नगरपालिका स्थापना भएपछि विकासमा तिब्रता लिएको छ ।गोलबजारले जिल्लामैं पहिलो पटक खेलकुद क्षेत्रको लागि स्टेडियम (खेलग्राम) निर्माण थालेको छ । नगरपालिकाले २ नम्बर वडास्थित गुरुधाममा ५२ विघा क्षेत्रफलमा फैलिएको जग्गामा खेलग्राम निर्माण थालेको छ । ७ बिघा जग्गामा यसवर्ष स्टेडियम निर्माण थालेको छ । पूर्वाञ्चल खेलकूद विकास समितिको ३१ लाख रुपैयाँ लगानीमा प्याराफिट निर्माण गरिएको छ । त्यसैगरि दक्षिणतिरबाट प्रदेश सरकारको ६५ लाख रुपैयाँ लागत र नगरपालिका १५ लाख रुपैयाँको साझेदारीमा प्याराफिट निर्माण थालिएको छ । 

यसवर्ष ६५ लाख रुपैयाँ मध्ये ३४ लाख रुपैयाँ निकासा भएको थियो । ‘एक स्थानीय तह एक खेलग्राम’ योजना अन्तर्गत खेलग्राम निर्माण थालिएको नगरपालिकाले जनाएको छ । खेलग्रामलाई तारजालीले घेराबेरा गरिएको छ । त्यसैगरी ९० लाख रुपैयाँ लागतमा गोलबजार नगरपालिका–४ स्थित कबर्डहल निर्माण गरिएको छ । नगरपालिकाले खेलकुद क्षेत्रको विकासका लागि प्रशिक्षक नियुक्त गरिएको छ । जिल्लामा कुनैपनि स्थानीय तहले खेलकुद प्रशिक्षक नियुक्त गरेका छैनन् ।

खेलकुद क्षेत्रमात्र होइन नगरपालिकाले नगर क्षेत्रभरि १४ किलोमिटर कालोपत्रे सडक निर्माण गरेको छ । अब नगर क्षेत्रका वडा नम्बर ११, १२ र १३ मात्र कालोपत्रे सडक सञ्जालले जोडिन बाँकी छ । यसवर्ष ती वडा पनि कालोपत्रे सडक सञ्जालले जोडिने नगरपालिकाले जनाएको छ ।नगरपालिकाले वडा नम्बर ६ मा १७ करोड लागतमा ५ तले प्रशासनिक भवन निर्माण थालेको छ । 

गोलबजारको विगत

स–साना झुपडीले झुरुप्प घेरिएको ग्रामीण बजार थियो ‘गोलबजार’ । पञ्चायत कालसम्म गोलबजारले बजारको रुप लिन सकेको थिएन । बरु चार किलोमिटर परको ग्रामीण ठाउँ बल्कावाले पुरानो बजारको रुप लियो । त्यसैले पनि गोलबजार ओझेलमा परेको थियो । गोलबजार २०२१ वैशाख २७ मा स्थापना भएको हो । पहिलो प्रधानपञ्च स्थानीय गोकर्ण बहादुर गौतम, आनन्द प्रसाद गौतम, ताराबहादुर विष्ट, शिवबहादुर विष्ट, सूर्या साह हलुवाई, दशरथ यादव, अमृत यादव, बलदेव महतो, रामप्रसाद साह सुडी, रामप्रताप लामा, इन्द्र लामा, निल बहादुर गौतम, विशेश्वर दाहाल, सिताराम लामा लगायतका व्यक्तित्वहरु सहित कक्षा ७ मा हालका नगरपालिका मेयर देवनाथ यादवले गोलबजार नगरपालिका नामाकरण गरी बजार स्थापना गरेका हुन । 

२०२१ सालमा स्थापना भएपनि गोलबजारको शहरीकरण भने २०३८ सालबाट सुरु भएको हो । सुरुमा ससाना छाप्रोबाट सुरु भएको गोलबजारको तीब्र शहरीकरणतर्फ उन्मुख छ । साविक असनपुर, आशोपुर बल्कवा, बेतौना, लालपुर, मुक्सार, जमदह, चन्द्रलालपुर, चन्द्रोदयपुर समेटेर २०७१ मंसिर १६ मा नगरपालिकाको रुपमा घोषणा भएको हो । त्यसको २ वर्षपछि साविकको दुर्गापुर गाविस जोडेर हाल नगरपालिकामा १३ वडा छन् ।

२०६८ को जनगणना अनुसार करिब ५३ लाख जनसंख्या रहेको गोलबजार पूर्व पश्चिम ९ किलोमिटर लम्बाई र उत्तर दक्षिण १४ किलोमिटर चौडाई गरी ११९.९४ वर्ग किलोमिटरमा फैलिएको छ । गोलबजार नगरपालिका प्राकृतिक र धार्मिक पर्यटकीय स्थलले पनि धनी नगरपालिका हो । इतिहास र संभावना बोकेको धार्मिक तथा पर्यटकीय स्थलहरु ध्मियानथान, आकाश गंगा, कुम्भीखाडी, रामजानकी मन्दिर, लामी डाँडा, सलहेश मन्दिर, कविर मन्दिर, गुम्बा, मस्जिदहरु छन् । 

नगरक्षेत्रमा स्नातकोत्तरसम्मको पढाई हुने रामप्रताप रामप्रसाद जनता बहुमखी क्याम्पस, ४ मावि र १ प्राविधिक शिक्षालय छ । वडापिच्छे आधारभूत विद्यालय छन् । व्यापारिक हिसाबले पनि गोलबजार फस्टाउँदो छ । नगरक्षेत्रभित्र गोलबजार, चोहर्वा, बलकवा र घुर्मी गरी चार बजार क्षेत्र छन् । अन्य ग्रामीण बजारहरु पनि विकसित अवस्थामा छन् । नगरक्षेत्रभित्र ठूला उद्योग मारुति सिमेण्ट उद्योग, घरेलु सेलर मिल, डिष्टिलरी लगायत दर्जनौं मझौला तथा साना उद्योगहरु सञ्चालित छन् ।

यसरी स्थापित भएको थियो ‘गोलबजार’

त्यसताका बल्कवा जिल्लामैं सबैभन्दा पुरानो र नामूद बजार थियो । २०१५ सालताका खानेकुरामा ‘झिल्ली’ बल्कवा बजारको चर्चित थियो । उत्तरतर्फ मुक्सार गोला बजार लाग्थ्यो । उत्तर तर्फका उदयपुरको कटारी, बगपति, बाँकेटार लगायतको हटिया नै मुक्सार गोला थियो । दक्षिणतर्फको नामूद बजार बल्कावा थियो । त्यही बीचमा ‘गोलबजार’ को उदय चानचुने चुनौती थिएन ।

उदयपुरको कटारीमा बजार लाग्न थालेपछि मुक्सार गोला सुक्यो । अहिले त्यहाँ बजार छैन । गोलबजार जागेपछि बल्कावा खण्डहरमा परिणत भयो । अहिले बस्ती मात्र छ हटिया बन्द भयो । एकताका सिरहा र उदयपुरका लागि नूनतेल धान्ने ती दुबै बजार गोलबजारमा आश्रित छ ।

गोलबजार पहिला घना जंगल थियो । २०१७ मा पूर्वपश्चिम महेन्द्र राजमार्गको शिलान्यास भयो । राजमार्गको सर्भे २०२१ सालमा भयो । जब राजमार्गको सर्भे सुरु भयो अनि गोलबजारको भाग्य खुल्यो । २०२१ वैशाख २७ गते वरपरका बासिन्दा मिलेर बजार राख्न नापजोख सुरु भयो । 

हटिया स्थापनाका लागि शिव बहादुर कोइराला, रामु पण्डित, निल बहादुर गौतम, छल बहादुर भट्ट, विश्वेश्वर दाहालको ३ बिघा जग्गालाई एकिन गरियो । जग्गालाई चिरा पारियो । तीन सय जनाले अठोट लिए । मुखको एक सय र पछाडिको जग्गाको ५० रुपैयाँ प्रतिकठा मूल्य कायम गरियो । बाँसको टहरा ठडाईयो । हटिया सुरु भयो । कसैले किराना चलाए कोहीले चियानास्ता पसल । कृषि उपज लगायत हटिया चाहिने पसल खडा भयो ।

बिस्तारै हटिया जम्न थाल्यो । दिनभर हटिया लाग्थ्यो, साँझ पसलका सामान बोकेर व्यापारीहरु घर लैजान्थे । झाप्रे पसल थिए । बल्कावाका व्यापारीहरुले विरोध गरे । हटियाले गति लिइरहेकैं बेला २०२५ सालको एकरात छाप्रोमा राति आगो लगाईयो । सबै छाप्रा स्वाहा भए । हटिया स्वाहा भएपछि त्यतिखेरका युवाहरु ध्रुव दाहाल, अशोक गौतम, लव कुमार दाहाल, किसन भट्ट, देवनाथ साह, समर भट्टको नेतृत्वमा युवाहरुको सुरक्षा टोली गठन भयो । उनीहरुले रातभर डयुटी गर्नेभएपछि काठ र खपडाले छाएको घर निर्माण गरियो ।

सबैको घर काठ र खपडाले छाएको मजबुती घर बन्यो । शिव बहादुर विष्टको काठको घर त्यो ताका नमूना नै बनेको थियो । फेरी बजारले गति बढायो । गोलबजारमा पानीको हाहाकार थियो । पानीको व्यवस्था थिएन । पसलेहरु घरबाटै पानी बोकेर ल्याउँथे । पछि २०२६ सालतिर ठकाई महतोको नाममा उनका छोरा बुधराम महतोले इनार खनिदिएपछि व्यापारीहरु रातमा पनि पसलमैं बस्न थाले । 

पछि गोलबजारको बिरोध गर्ने बल्कावाका तिनै व्यापारीहरु उता छाडेर निरबहादुर गौतम, झलक बहादुर गौतम, मुनिलाल साह, मोहम्मद हाफिजी लगायतले गोलबजारमा पसल गर्न थाले । गोलबजारले फड्को मारिसकेको थियो । सेलर मिल स्थापना भए । गोलबजारमैं पहिलो पक्की घर पुरन साह तेलीले बनाए । त्यसपछि पक्की घर निर्माण सुरु भएपछि शहरीकरण उन्मुख भयो गोलबजार । 

२०३२ सालमा हेल्थ पोष्ट बस्यो । २०३३ मा नेपाल बैंक लिमिटेडले शाखा खुल्यो । बजार बिस्तार भएपछि २०३७ सालमा ग्रामीण एकिकृत परियोजना लागू भयो । परियोजनाका लागि रामप्रसाद साह सुडी, बलदेव महतो, गोविन्द साह, निल बहादुर गौतम, झलकबहादुर गौतम र टुनिया चमारले ३ बिघा जग्गा दान दिए । अहिले त्यही स्थलमा मंगलबार र शनिबार साप्ताहिक ठूलो हाट लाग्छ । हाटका लागि स्टल बनेका छन् । २०३८ मा ईलाका प्रहरी कार्यालय बस्यो ।

२०२३ सालमा राजमार्ग बनाउँन आएको डोजर हेर्न गाउँलेको भीड लागेको थियो । पछि राजमार्ग सुचारु भएपछि जनकपुर–बिराटनगर चल्ने आराधनु बस चढ्ने गोलबजारवासी नै भए । गोलबजार बस स्टेण्ड नै बन्यो । जिल्लामैं पहिलो पटक २०४७ सालमा गोलबजार व्यापार संघ गठन भयो । 

गोलबजार सुनचाँदीका गरगहना खरिद बिक्री जिल्लामैं उच्च छ । सुनचाँदी पसल ब्रगेल्ती खुलेका छन् । 

गोलबजारलाई जिल्लामै ‘नमूना’ बनाउँछु : मेयर देवनाथ साह

मेयर देवनाथ साह, गोलबजार नगरपालिका

स–साना झुपडीले झुरुप्प घेरिएको ग्रामीण बजार थियो ‘गोलबजार’ । पञ्चायत कालसम्म गोलबजारले बजारको रुप लिन सकेको थिएन । बरु चार किलोमिटर परको ग्रामीण ठाउँ बल्कावाले पुरानो बजारको रुप लियो । त्यसैले पनि गोलबजार ओझेलमा परेको थियो ।

२०४७ सालमा बहुदल स्थापनापछि गोलबजारले धिमे गतिमा बामेसर्ने प्रयास ग¥यो । २००७ सालमा जन्मिएका देवनाथ साहले गोलबजारलाई व्यापारीक केन्द्र बनाउने लक्ष्य लिई व्यापारीहरुलाई संगठित गरी २०४७ सालमा गोलबजार उधोग व्यापार संघको गठन गरे । संस्थागत अध्यक्ष रहेका उनले संघलाई २०५१ सालमा विधिवत रुपमा दर्ता गरी बजारसँगै व्यापार विस्तार कामलाई २०६४ सालसम्म निरन्तर अघि बढाए । 

व्यापार संघको पहलमा २०५२ सालमा पहिलो पटक मैले भिएचएफ टेलिफोन जडान गरी गोलबजारवासीलाई सञ्चार सुविधाको पहुँचमा पु¥याए । भिएचएफ टेलिफोनबाट त्यतिखेर ८० हजार रुपैयाँ आम्दानी ग¥यो । त्यो आम्दानी रकमले गोलबजारमा क्याम्पस स्थापनाका लागि विद्यालयलाई हस्तान्तरण गरिदिए । म आपूm विद्यालयको व्यवस्थापन समितिका सदस्यमा बसें । २० वर्षसम्मे विद्यालय व्यवस्थापन समितिमा रहेर काम गरे । पछि क्याम्पस सञ्चालक समितिको सदस्य बने ।

व्यापार संघको खातामा चार लाख रुपैयाँ जम्मा भएपछि अतिथि सदन निर्माण सुरु गरे । त्यही धर्मशाला गोलबजारको कार्यक्रम, विवाह बटुल लगायत विभिन्न संघसंस्थालाई तालिम, गोष्ठी गर्ने थलो बनेको छ । 

सानो ग्रामीण बजारबाट बजारीकरणमा परिणत भएको गोलबजारका ८ सय घरधुरीलाई त्यतिखेर खानेपानी पु¥याए । मेरैं अध्यक्षतामा खानेपानी उपभोक्ता समिति गठन गरे । २०५८ सालमा पानी टंकी निर्माण गरेर बजारमा धारा जडान गरी खानेपानी सुविधा उपलब्ध गराए । व्यापार समितिमा २ करोड भन्दा बढी आम्दानी रकम खातामा जम्मा भएपछि २०६४ सालबाट नेतृत्व अरुलाई सुम्पिए ।

त्यसपछि सामाजिक काममा तल्लिन भए । अहिले माओवादी केन्द्रबाटगोलबजार नगरपालिकाको  मेयरमा निर्वाचित भए । २०२९ सालमा अग्रिम ज्याला अभियान चलाएर बामपन्थी राजनीतिमा प्रवेश गरेका साहले असोज २ गते भएको स्थानीय तह निर्वाचनमा जित हासिल गरेर बामपन्थी किल्लालाई डगमगाउन दिएनन् । पकड कायम राख्न सफल भए ।

पहिलो निर्वाचित मेयर साहले खेलकुद विकासका लागि जिल्लामैं नभएको स्टेडियम (खेलग्राम) निर्माण, कबर्ड हल निर्माण थालेका छन् । जयगोविन्द साह कृषि प्राविधिक केन्द्र स्थापना गराउन तल्लिन साहले नगर क्षेत्रलाई पक्की सडक सञ्जालमा लगभग जोडिसकेका छन् । आर्थिक विकास नै नगरको समृद्धि लगायतकाममा अग्रसर हुने साहले प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस

नेपाल छात्रवृत्ति सम ...

रहमुल लहान १३ बैशाख । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाको सभाहलमा सेभ द चिल्ड्रेनको सहयोगमा र नेपा ...

नेपाल पत्रकार महासंघ ...

बिसुनदेव सरदार लहान, १२ बैशाख । नेपाल पत्रकार महासंघ सिरहाको १४ औं साधारणसभा भव्यताका साथ सम्पन्न भए ...

मधेशमा लगानी गर्न उद ...

लाहान बैशाख ११ । मुख्यमन्त्री सरोजकुमार यादवले मधेश प्रदेशमा लगानी गर्न उद्योगी व्यवसायीहरुलाई आह्वा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१