लहान । लहान नगरपालिका–२४ खपानी टोलका दुई विपन्न परिवारलाई लहान नगरपालिकाले खाद्यान्न सहयोग गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत नगर प्रमुख महेश चौधरीको पहलमा विपन्न, अशक्त र दुर्घटनाग्रस्त परिवारको घरमै पुगेर राहत सामग्री वितरण गरिएको हो ।
नगर प्रमुख चौधरी सोमबार खपानी टोलका रामनाथ पासमान र मानकी पासमानको घरमा पुगेर नगरपालिकाको तर्फबाट एक÷एक क्विन्टल चामल, दाल, नुन र तेल प्रदान गरेका हुन् । राहत वितरणको क्रममा मेयर चौधरीले शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दै दुःखका समयमा नगरपालिका सधैं नागरिकसँगै रहने बताएका थिए ।
रामनाथ पासमानको करिब नौ वर्षअघि कतारमा भएको दुर्घटनामा परेर मृत्यु भएको थियो । उक्त दुर्घटनापछि उहाँ लामो समयसम्म ह्वीलचेयरमा रहेका थिए । स्वास्थ्य अवस्था कमजोर हुँदै गएपछि केही वर्षयता उपचारको क्रममा रहँदै आएका रामनाथको केही दिन अघि निधन भएको हो । परिवारमा अहिले सन्तानहरू मात्र रहेका छन्, जसको आर्थिक अवस्था नाजुक रहेको बताइएको छ ।
त्यस्तै सोही वडा अन्तर्गत मल्हन स्थित मुसहरी टोलका शिव सदायको परिवारलाई पनि खाद्यान्न सहयोग गरिएको छ । मेयर चौधरीको टोलीले सदाय परिवारलाई एक क्विन्टल चामल, दाल, नुन र तेल हस्तान्तरण गरेको हो । शिव सदाय केही समयअघि दुर्घटनामा परेर गम्भीर घाइते भएका छन् । उनको दुवै खुट्टा भाँचिएको छ र हाल उपचाररत छन् ।
राहत वितरणका क्रममा मेयर चौधरीले भने, “नगरपालिका आफ्नो नागरिकको सुखदुःखमा सधैं सहभागी हुनेछ । कुनै पनि नागरिक एक्लो छैनन्, हामी सबैको साथमा नगरपालिका छ ।” उहाँले आगामी दिनमा अशक्त, विपन्न तथा दुर्घटनाग्रस्त परिवारलाई पहिचान गरी नियमित सहयोग पुर्याउने प्रतिबद्धता समेत जनाए ।
खाद्यान्न वितरण कार्यक्रममा वडा अध्यक्ष, स्थानीय जनप्रतिनिधि तथा समुदायका अगुवाहरूको पनि सहभागिता रहेको थियो । स्थानीयवासीहरूले मेयर चौधरी र नगरपालिकाको पहलप्रति आभार व्यक्त गर्दै यस्तो सहयोगले विपन्न परिवारलाई ठूलो राहत मिलेको बताएका छन् ।
लहान नगरपालिकाले पछिल्ला महिनाहरूमा विभिन्न वडामा आगलागी, रोग, दुर्घटना तथा विपत्तिबाट प्रभावित परिवारलाई खाद्यान्न, लत्ताकपडा र उपचार सहयोग गर्दै आएको छ । मेयर चौधरीले नागरिकका हरेक समस्यामा साथ दिने र सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई अझ सशक्त रूपमा अघि बढाउने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2025 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic