भदौ ३ :नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धनुषाले शहीद रामवृक्ष यादवको २६ औं स्मृति दिवस मनाएको छ। सो अवसरमा धनुषाको धनुषाधाम नगरपालिका लगायतका पालिकाका विद्यालयहरुमा वृक्षारोपण गरियो । अन्य वर्ष भने पार्टीका केन्द्रीय अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डसहित दर्जनौं केन्द्रीय नेता, मन्त्री र प्रदेश भरिका कार्यकर्ताहरुको उपस्थितिमा शहीद दिवस मनाउँदै आइएको थियो । यसपटक नेपालसहित विश्व नै कोरोनाका कारण आक्रान्त भएकोले महान शहीदको स्मरणमा जिल्लाका प्रायः जसो सबै पालिकाहरुमा विभिन्न जातका बिरुवा रोपी शहीद यादवको सम्झना गरिएको छ । धनुषाको धनुष जनता मा. वि. मा चन्देश्वर यादवको अध्यक्षता एवम् असर्फी भिन्बार यादवको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको थियो । कार्यक्रममा शिला यादव, झल्कु यादव, महिला संघका केन्द्रीय सदस्य फुलकुमारी महतो, योग कुमार यादवलगायतका नेताले शहीद रामवृक्ष यादवले देखाएको बाटो छाडेर अहिले अधिकांश नेता बिपरित बाटो तिर लागेको बताए । पार्टी एकता भएपनि केहि नेता भ्रष्टाचारमा लिप्त रहेको भन्दै जनतालाई जवाफ दिन नसकिएको बताए । यता शहीद रामवृक्ष यादवको जन्मस्थलमा पूर्वमन्त्री तथा पार्टी स्थायी कमिटी सदस्य सोही क्षेत्रका प्रतिनिधिसभा सदस्य मातृकाप्रसाद यादव, केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा सदस्य बोधमाया यादव, केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज सर्बन बरबरिया यादव, शहीद नगरपालिकाका मेयर उदयकुमार बरबरिया यादव, जिल्ला सचिव दीपक यादव, महेश यादवलगायतको उपस्थितिमा शहीद यादवको स्मृती दिवस मनाइएको छ । उता नेकपाका केन्द्रीय अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले शहीद रामवृक्ष यादवको तस्विरमा माल्यार्पण गरेका थिए । शहीद यादवको २६ औं स्मृति दिवसका अवसरमा पार्टी कार्यालय धुम्बाराहीमा अध्यक्ष प्रचण्डले यादवप्रति उच्च सम्मानका साथ श्रद्धाञ्जली व्यक्त गर्दै माल्यार्पण गरे । धनुषाको गणेशमान चारनाथ नगरपालिका बरमझियामा आमा सम्पैत देवी र बुबा रामलखन यादवको कोखबाट वि.सं. २००३ सालमा जन्मिएका यादव वि.सं. २०२९ सालमा नेकपा (चौम) को सम्पर्कमा पुगेका थिए । उनले २०३१ मा पार्टीको सक्रिय सदस्यता पाएका थिए । हरेक वर्ष यही दिन सङ्घर्षको भट्टीबाट जन्मिएका एक वीर क्रान्तिकारी योद्धाका रुपमा उनलाई स्मरण गरिन्छ । वि.सं. २०५१ भाद्र १ गते संयुक्त जनमोर्चा नेपालले आह्वान गरेको नेपाल बन्दलाई जनकपुरबाट सफल बनाएर फर्किंदै गर्दा भाद्र २ गते प्रहरीद्वारा षड्यन्त्रपूर्वक उनको हत्या गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2024 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic