लहान असोज २९। लहानस्थित मनकामना स्कुलले परीक्षाको अन्तिम दिन विद्यार्थीहरूलाई टीका र जमरा लगाएर दशैँको शुभकामना दिएको छ। विद्यालयमा आयोजित कार्यक्रममा स्कुलकी सञ्चालक बिनु चौधरीले विद्यार्थीहरूलाई निधारमा टीका लगाइदिँदै जमरा प्रदान गरी दशैँको शुभकामना तथा आशीर्वाद दिएकी हुन्।
उनले विद्यार्थीहरूको उज्ज्वल भविष्य, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दै चाडपर्वलाई आपसी सद्भाव, प्रेम र खुसीका साथ मनाउन आग्रह गरिन्। सोही अवसरमा सञ्चालक चौधरीले विद्यालयका शिक्षक तथा शिक्षिकाहरूलाई समेत टीका लगाएर दशैँको शुभकामना व्यक्त गरिन्।
परीक्षाको अन्तिम दिन आयोजित यस कार्यक्रमले विद्यार्थी तथा शिक्षकहरूमा दशैँको उत्साह थप्नुका साथै विद्यालय परिवारबीच आत्मीयता, सद्भाव र पारिवारिक वातावरणलाई प्रगाढ बनाएको थियो। नेपालीहरूको महान् चाड बडादशैँको अवसरमा विद्यालयले विद्यार्थीहरूलाई पढाइसँगै संस्कार, संस्कृति र परम्पराको महत्त्वबारे अनुभूति गराउने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरेको हो।
प्रतिक्रिया दिनुहोस
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved