Siraha Times
ताजा समाचार

खडक नगरपालिकाका नागरिकलाई काठमाडौं र विराटनगरमा उपचारमा विशेष सहुलियत, दुई मेडिकल कलेजसँग सम्झौता

  • असोज ५, २०८३
  • ३६८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान असोज ५ । खडक नगरपालिकाले नगरवासीलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज र सहुलियतपूर्ण रूपमा उपलब्ध गराउने उद्देश्यले काठमाडौं र विराटनगरका दुई प्रतिष्ठित मेडिकल कलेजसँग स्वास्थ्य उपचारसम्बन्धी सम्झौता गरेको छ। नगरपालिकाले काठमाडौं मेडिकल कलेज (केएमसी), सिनामंगल, काठमाडौं र नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल, कञ्चनबारी, विराटनगरसँग छुट्टाछुट्टै सम्झौता गरेको हो। नगरपालिकाका अनुसार सम्झौतापछि खडक नगरपालिकाभित्र बसोबास गर्ने नागरिकले स्थानीय स्वास्थ्य संस्था, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी वा नगर अस्पतालबाट थप उपचारका लागि सिफारिस भई सम्बन्धित मेडिकल कलेजमा पुग्दा विभिन्न उपचार सेवामा सहुलियत प्राप्त गर्नेछन्।

खडक नगरपालिका र काठमाडौं मेडिकल कलेजबीच २०८३ असोज २ गते शुक्रबार सम्झौता भएको हो। सम्झौताअनुसार नगरपालिकाका नागरिकले नेपाल सरकारबाट सञ्चालित स्वास्थ्य उपचारसम्बन्धी सुविधा—स्वास्थ्य बीमा, आमा सुरक्षा, विपन्न नागरिक औषधि उपचार कोषलगायतका सुविधा उपभोग गरिसकेपछि थप उपचार आवश्यक परेमा काठमाडौं मेडिकल कलेजका अस्पताल सेवामा छुट पाउने व्यवस्था गरिएको छ। सम्झौतामा भक्तपुरस्थित केएमसी अस्पतालमा नगरपालिकाको विशेष सिफारिसमा उपचार गराउन जाने पाँच जना अति विपन्न बिरामीलाई अस्पताल सेवा निःशुल्क उपलब्ध गराउने व्यवस्था गरिएको छ। त्यस्तै, भक्तपुरस्थित केएमसी अस्पतालमा उपचार गराउने बिरामीलाई ५० प्रतिशतसम्म छुट तथा सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार गराउने बिरामीलाई २५ प्रतिशत छुट उपलब्ध हुने व्यवस्था गरिएको छ।

यो सुविधा स्वास्थ्य बीमामा आबद्ध नागरिकका साथै स्वास्थ्य बीमा नभएका वा बीमा गरे पनि बीमा सक्रिय हुनुअघिको अवधिमा उपचार आवश्यक पर्ने बिरामीलाई समेत उपलब्ध हुने सम्झौतामा उल्लेख छ। त्यसैगरी, खडक नगरपालिका र नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल, विराटनगर बीच पनि सोही दिन स्वास्थ्य उपचारमा सहुलियत दिने सम्झौता भएको छ।

सम्झौताअनुसार खडक नगरपालिकाका नागरिकले नेपाल सरकारबाट उपलब्ध स्वास्थ्य बीमा, आमा सुरक्षा, विपन्न नागरिक औषधि उपचार कोषलगायतका सरकारी स्वास्थ्य सुविधाको पूर्ण उपयोग गरिसकेपछि थप उपचार आवश्यक भएमा नोबेल मेडिकल कलेजमा उपलब्ध अप्रेसनसहितका उपचार सेवामा २० प्रतिशत छुट पाउनेछन्।

यो छुट स्वास्थ्य बीमामा आबद्ध नभएका नागरिक तथा बीमा गरे पनि बीमा सक्रिय हुनुअघिको अवधिमा उपचार गराउनुपर्ने बिरामीलाई समेत उपलब्ध हुने व्यवस्था गरिएको छ। सम्झौताअनुसार सहुलियत लिन अस्पताल जाने बिरामीले खडक नगरपालिकाका नगर प्रमुख वा उहाँले तोकेको पदाधिकारीको सिफारिसपत्र साथमा लैजानुपर्नेछ।

बिरामीले आफ्नो ठेगाना खुल्ने परिचयपत्र, नागरिकता प्रमाणपत्रको प्रतिलिपि तथा १६ वर्षमुनिका बालबालिकाको हकमा जन्मदर्ताको प्रतिलिपि अनिवार्य रूपमा पेश गर्नुपर्नेछ। त्यस्तै, नगर अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र तथा स्वास्थ्य चौकीबाट थप उपचारका लागि सिफारिस भई आउने कोशी तथा मधेश प्रदेशका बिरामीलाई समेत सम्झौताअनुसारको उपचार सुविधा उपलब्ध गराइने व्यवस्था गरिएको छ। यसरी आउने बिरामीले सम्बन्धित स्वास्थ्य संस्थामा जाँच गराएको कागजात तथा थप उपचारका लागि पठाइएको विवरण साथमा ल्याउनुपर्नेछ। सम्झौतामा छुट सुविधा प्रत्यक्ष स्वास्थ्य उपचारसँग सम्बन्धित तोकिएका सेवामा मात्र लागू हुने स्पष्ट गरिएको छ। IVF, CTVS, Transplant, Plastic Surgery, Cosmetic Surgery, Neuro Intervention लगायतका विशेष सेवामा छुट लागू नहुने जनाइएको छ।

त्यस्तै, अस्पतालको क्याबिनमा बसेर उपचार गर्दा, औषधि तथा चिकित्साजन्य सामग्री जस्तै Implant, Surgical Items र Consumable Items मा पनि सम्झौताअनुसारको छुट उपलब्ध नहुने व्यवस्था गरिएको छ। काठमाडौं मेडिकल कलेजसँग भएको सम्झौता २०८३ असोज २ गतेदेखि लागू भई २०८४ असार मसान्तसम्म कायम रहनेछ। नोबेल मेडिकल कलेजसँगको सम्झौता पनि २०८३ असोज महिनादेखि लागू भई २०८४ असार मसान्तसम्म कायम रहने उल्लेख छ। दुवै पक्षको आपसी सहमतिमा सम्झौताका बुँदाहरू परिमार्जन गर्न तथा सम्झौतालाई निरन्तरता दिन सकिने व्यवस्था गरिएको छ।

खडक नगरपालिकाले स्थानीय स्तरमा उपलब्ध स्वास्थ्य सेवाबाट थप उपचार आवश्यक पर्ने नागरिकलाई राजधानी काठमाडौं तथा कोशी प्रदेशको प्रमुख स्वास्थ्य केन्द्र विराटनगरमा उपचार गराउँदा आर्थिक भार कम होस् भन्ने उद्देश्यले मेडिकल कलेजहरूसँग यस्तो सहकार्य गरेको हो। विशेषगरी आर्थिक रूपमा कमजोर, विपन्न तथा जटिल उपचार आवश्यक पर्ने बिरामीलाई विशेषज्ञ स्वास्थ्य सेवामा पहुँच पुर्यायउन सम्झौता महत्वपूर्ण हुने नगरपालिकाको अपेक्षा छ। स्थानीय स्वास्थ्य संस्थाबाट प्रारम्भिक उपचारपछि आवश्यकताअनुसार विशेषज्ञ अस्पतालमा पठाउने प्रणालीलाई समेत यस सम्झौताले थप व्यवस्थित बनाउने देखिएको छ।

यसबाट खडक नगरपालिकाका नागरिकले सरकारी स्वास्थ्य सुविधा उपभोग गरिसकेपछि पनि आवश्यक पर्ने थप उपचारमा निजी क्षेत्रका ठूला अस्पतालबाट सहुलियत प्राप्त गर्न सक्ने अवस्था बनेको छ।सम्झौताले खडक नगरपालिकाको स्वास्थ्य क्षेत्रलाई स्थानीय स्वास्थ्य संस्थासँग मात्र सीमित नराखी काठमाडौं र विराटनगरका विशेषज्ञ स्वास्थ्य संस्थासँग जोड्ने आधारसमेत तयार गरेको छ। काठमाडौं मेडिकल कलेजतर्फबाट आकस्मिक अवस्था वा थप जानकारी आवश्यक परेमा सुरक्षा चौहान (५८०२३३२५०८), अगाली राई (५८०२३८४४७५) तथा डिस्काउन्ट अफिसर (५७१४५२७८४३) मा सम्पर्क गर्न सकिने व्यवस्था गरिएको छ। नोबेल मेडिकल कलेजतर्फ बिलिङ काउण्टर (५८०२७१०७२२/५७०५१२५०५८), जय राय (हस्पिटालिटी–५८०२७३१७१५), अजित दाहाल (जनसम्पर्क अधिकृत–९८४५८७०५५९) तथा कार्यालय समयबाहेक ड्युटी अफिसर (५८०२७१४५००/९८५२०३५७८२) मा सम्पर्क गर्न सकिने सम्झौतामा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस

लहान–१८ बदरबोना र वि ...

ओम प्रकाश यादव, लहान, असोज ५ । सिरहाको लहान नगरपालिका–१८ स्थित बदरबोना र विष्णुपुर टोलमा सरसफा ...

लहानमा ५० बेड क्षमता ...

ओम प्रकाश यादव लहान असोज ५ । सिरहाको लहान नगरपालिका–३ स्थित लहान–ठाडी–लोकहाँ सडकखण ...

लहान–१८ मा सडक नाटक ...

ओम प्रकाश यादव, लहान, असोज ५ । सिरहाको लहान नगरपालिका–१८ स्थित शोभापुर टोलमा सरसफाइ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१