रहमुल, लहान, ५ असोज । नेपाली कांग्रेस लहान नगरपालिका–१९ को १५औँ वडा अधिवेशन असोज ३ गते सम्पन्न भएको छ। अधिवेशनबाट वडा कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधिहरू सर्वसम्मत चयन भएका छन्। अधिवेशनबाट निर्वाचित सम्पूर्ण पदाधिकारी, कार्यसमिति सदस्य तथा क्षेत्रीय प्रतिनिधिहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै वडा अध्यक्ष कमरुदिन राइनले वडा अधिवेशनलाई पार्टीको संगठनात्मक गतिविधि मात्र नभई स्थानीयस्तरमा आपसी एकता, सहकार्य र उत्साह अभिवृद्धि गर्ने अवसरका रूपमा लिएको बताए।
उनले अधिवेशनलाई उत्सवकै रूपमा सम्पन्न गर्ने योजना बनाइएको र सोहीअनुसार ठूलो संख्यामा नेता–कार्यकर्ता तथा शुभेच्छुकहरूको सहभागितामा कार्यक्रम सम्पन्न भएको बताए। “१९ नम्बर वडाको महाधिवेशनलाई हामीले एउटा उत्सवका रूपमा गर्ने योजना बनाएका थियौँ, त्यहीअनुसार सम्पन्न पनि भयो,” अध्यक्ष राइनले भने, “धेरै साथीहरूको उत्साहजनक सहभागिता देख्दा निकै खुशी लागेको छ। यस अधिवेशन मार्फत नेपाली कांग्रेसको संगठनलाई थप मजबुत बनाउने नयाँ जोस, जाँगर र ऊर्जा भएका नेतृत्वको पंक्ति वडामा तयार भएको छ।”
वडा अध्यक्ष राइनले आफू जनप्रतिनिधिका रूपमा पाँचौँ वर्षमा प्रवेश गरेको उल्लेख गर्दै आफ्नो कार्यकालमा भाषणभन्दा कामलाई प्राथमिकता दिएको बताए। उनका अनुसार वडाको विकासका क्षेत्रमा आफूले गरेका कामहरू वडा तथा स्थानीय बासिन्दासामु प्रस्ट रहेको छ। जनताका आवश्यकता धेरै भए पनि स्थानीय तहसँग उपलब्ध साधन–स्रोत सीमित रहेकाले प्राथमिकताका आधारमा जनचाहना र आवश्यकतालाई सम्बोधन गर्दै विकास निर्माणका काम अघि बढाइएको उनले बताए। “जनताका आवश्यकता धेरै छन्, तर साधन–स्रोत सीमित छन्,” उनले भने, “त्यसैले जनताको आवाज र चाहनालाई सम्मान गर्दै सम्भव भएसम्म सबै विषयलाई समेटेर विकासका कामलाई अघि बढाउँदै आएका छौँ।” राइनले स्थानीय विकासलाई केवल भौतिक पूर्वाधार निर्माणमा सीमित नराखी सामाजिक अवस्था, शिक्षा, युवा, रोजगारी र समुदायको जीवनस्तर सुधारसँग जोडेर अघि बढाउनुपर्ने धारणा व्यक्त गरे।
वडा अध्यक्ष राइनले ग्रामीण तथा स्थानीय समुदायमा आधारभूत आवश्यकताको अवस्था विगतको तुलनामा सुधार हुँदै गए पनि समुदायको समग्र जीवनस्तर उकास्न अझै धेरै काम गर्न बाँकी रहेको बताए। उनले भने, “हाम्रो गाउँठाउँ अझै पनि धेरै पछाडि छन्। हातमुख जोड्ने व्यवस्था त हुँदै गएको छ, तर समुदायको जीवनस्तर र सामाजिक मापदण्डलाई थप उकास्न अझै धेरै काम गर्न बाँकी छ।” उनका अनुसार आगामी दिनमा स्थानीय आवश्यकता पहिचान गरी विकास निर्माणसँगै शिक्षा, सामाजिक चेतना, युवा सहभागिता र समुदायको सकारात्मक रूपान्तरणमा समेत ध्यान दिनुपर्ने आवश्यकता छ।
अधिवेशनपछि सञ्चारकर्मीसँगको कुराकानीका क्रममा अध्यक्ष राइनले वडामा देखिएको लागुऔषध दुव्र्यसनको समस्या नियन्त्रणका लागि समुदायस्तरबाटै व्यापक अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए। उनका अनुसार पछिल्लो समय केही किशोर तथा युवाहरू लागुऔषध दुव्र्यसनमा फस्दा त्यसको असर व्यक्ति र परिवारमा मात्र नभई समग्र समुदायमा पर्न थालेको छ। लागुऔषधको दुव्र्यसनका कारण सामाजिक विकृति बढ्ने, परिवारमा तनाव सिर्जना हुने, युवाहरू शिक्षाबाट टाढिँदै जाने तथा कहिलेकाहीँ युवाबीच झै–झगडा र ग्याङ फाइटजस्ता घटना देखिने अवस्था रहेको उनले बताए।
“धेरै किशोर–युवा लागुऔषध दुव्र्यसनमा फसेका छन्। यसले समुदायमा विकृति फैलाउने र सामाजिक वातावरण अशान्त बनाउने अवस्था सिर्जना गरिरहेको छ,” उनले भने, “आमाबुबा आफ्ना छोराछोरीका कारण हैरान र चिन्तित छन्। यस्तो अवस्थालाई नियन्त्रण गर्न अब सबै पक्ष एकजुट भएर अभियानकै रूपमा कार्यक्रम अघि बढाउन आवश्यक छ।” उनले नवगठित वडा समिति, नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता, जनप्रतिनिधि, अभिभावक, शिक्षक, युवा, नागरिक समाज, सुरक्षाकर्मी तथा समुदायका सबै पक्षलाई समेटेर लागुऔषधविरुद्ध संयुक्त अभियान सञ्चालन गर्नुपर्ने बताए। राइनका अनुसार समस्या देखिएपछि मात्र प्रतिक्रिया जनाउनेभन्दा युवालाई शिक्षा, सीप, रोजगारी, खेलकुद तथा सकारात्मक सामाजिक गतिविधिमा जोड्दै दुव्र्यसनको जोखिम न्यूनीकरणतर्फ पनि ध्यान दिनुपर्ने आवश्यकता छ।
सामाजिक जिम्मेवारीमा राइनको पारिवारिक पृष्ठभूमि वडा अध्यक्ष कमरुदिन राइनलाई स्थानीयस्तरमा शान्त स्वभाव, सामाजिक उत्तरदायित्व र समुदायसँगको निरन्तर सम्पर्कमा रहने व्यक्तिका रूपमा चिनिन्छ। शिक्षित तथा सामाजिक रूपमा स्थापित परिवारमा हुर्किएका राइनको सामाजिक सोच र सार्वजनिक गतिविधिमा उनका पिता हाजी हबीब राइनको समेत महत्वपूर्ण प्रभाव रहेको स्थानीय बताउँछन्। हाजी हबीब राइन कुशल शिक्षक तथा समाजसेवीका रूपमा परिचित रहेको बताइएको छ।
पारिवारिक संस्कार, सामाजिक जिम्मेवारी र समुदायप्रतिको उत्तरदायित्वलाई आधार बनाएर आफूले सार्वजनिक जीवनमा काम गर्दै आएको राइनको भनाइ छ। १५औँ वडा अधिवेशनबाट नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन भएसँगै वडा नम्बर १९ मा संगठनलाई थप सक्रिय बनाउने, स्थानीय समस्या उठाउने तथा समुदायका सामाजिक मुद्दामा सामूहिक रूपमा काम गर्ने अपेक्षा गरिएको छ। अधिवेशनमा सहभागी नेता–कार्यकर्ताले नयाँ नेतृत्वले संगठन सुदृढीकरणसँगै स्थानीय विकास, सामाजिक विकृति नियन्त्रण र युवालाई सकारात्मक गतिविधिमा जोड्ने अभियानलाई प्राथमिकता दिनुपर्ने धारणा राखेका थिए।
प्रतिक्रिया दिनुहोस
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic