ओम प्रकाश यादव, लहान असोज २ । जेन्जी आन्दोलनका क्रममा लागूऔषध मुद्दामा जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतबाट भागेर फरार भएका एक जना प्रतिवादीलाई प्रहरीले सिरहाबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिरहाको अर्नामा गाउँपालिका–२, ब्रह्मपुरी निवासी २३ वर्षीय धिरज कुमार महतो रहेका छन्। प्रहरीका अनुसार महतो लागूऔषध मुद्दामा जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा रहेका बेला जेन्जी आन्दोलनका क्रममा भागेर फरार भएका थिए। फरार भएपछि उनी सिरहास्थित आफ्नै घरमा लुकिछिपी बस्दै आएको प्रहरीको दाबी छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रमेशबहादुर पालका अनुसार महतो आफ्नै घरमा लुकिछिपी बसिरहेको भन्ने गोप्य सूचना प्राप्त भएपछि प्रहरी टोली परिचालन गरिएको थियो। मिति २०८३ असोज २ गते साँझ ५ः२० बजे इलाका प्रहरी कार्यालय अर्नामा, सिरहा र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय गोलबजार, सिरहाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई आफ्नै घरबाट पक्राउ गरेको हो।प्रहरी टोलीले गोप्य सूचनाको आधारमा घरमा पुगेर खोजतलास गर्दा महतो फेला परेपछि नियन्त्रणमा लिएको जनाएको छ।
पक्राउ परेका महतोलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सिरहामा दाखिला गरिएको प्रहरी नायव उपरीक्षक पालले जानकारी दिए। प्रहरीले उनीविरुद्ध यसअघि काठमाडौँमा लागूऔषधसम्बन्धी मुद्दा रहेको र सोही मुद्दामा हिरासतबाट फरार भएको जनाएको छ। पक्राउपछि घटनासँग सम्बन्धित थप विवरण तथा कानुनी प्रक्रियाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार फरार प्रतिवादीहरूको खोजी तथा पक्राउ अभियानलाई निरन्तरता दिइँदै आएको छ। गोप्य सूचना तथा प्रहरीको समन्वयमा खोजी अभियान सञ्चालन गरी फरार रहेका व्यक्तिहरूलाई पक्राउ गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic