Siraha Times
ताजा समाचार

सखुवानन्कारकट्टीमा जसपा नेतृत्व हस्तान्तरण, पूर्व अध्यक्ष नागेन्द्र यादवद्वारा कार्यालयको साँचो र कागजात बुझाइयो

  • भदौ ३१, २०८३
  • ३१५ पटक पढिएको
  • रहमुल
alt

रहमुल, लहान, ३१ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकामा जनता समाजवादी पार्टी (जसपा) नेपालको पालिका नेतृत्वमा औपचारिक हस्तान्तरण भएको छ। पार्टीका पूर्व गाउँपालिका अध्यक्ष नागेन्द्र कुमार यादवले कार्यवाहक अध्यक्ष यदुनन्दन यादवलाई पार्टी कार्यालयको साँचो तथा सम्पूर्ण कागजात हस्तान्तरण गरेका छन्।

खैरबोना बजारस्थित पार्टी कार्यालयमा आयोजित हस्तान्तरण कार्यक्रममा जसपाका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा जसपा नेता प्रयागलाल यादव, यदुनन्दन यादव, महेन्द्र यादव, रामकुमार यादव, देवेन्द्र यादव लगायत अन्य नेता–कार्यकर्ताहरू सहभागी थिए। हस्तान्तरण कार्यक्रममा बोल्दै जसपाका नेताहरूले नागेन्द्र यादवले पार्टीमा रहँदा संगठन निर्माण र पार्टी गतिविधिमा उल्लेखनीय भूमिका निर्वाह गरेको बताएका थिए। उनीहरूले नेतृत्वबाट अलग भए पनि यादवले पार्टीका लागि गरेको योगदानलाई सम्मान गर्नुपर्ने धारणा राखे।

नागेन्द्र यादवले पालिका अध्यक्ष पदबाट राजीनामा दिई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेपछि जसपाका नेताहरूले राजनीतिक दल परिवर्तनलाई स्वाभाविक राजनीतिक प्रक्रियाका रूपमा लिनुपर्ने बताएका छन्। उनीहरूले राजनीतिक धार परिवर्तन गर्नु प्रत्येक नागरिकको व्यक्तिगत स्वतन्त्रताको विषय भएको भन्दै एउटा नेता वा कार्यकर्ता अर्को दलमा प्रवेश गर्दैमा जसपा समर्थकहरू आत्तिनुपर्ने अवस्था नरहेको बताए। जसपा संघीयता, मधेसका अधिकार तथा नागरिकको हकहितका विषयमा निरन्तर संघर्ष गर्दै आएको पार्टी भएकाले आगामी दिनमा पनि जनताको मुद्दालाई केन्द्रमा राखेर अघि बढ्ने नेताहरूको भनाइ थियो।

नेताहरूले आम नागरिकले जसपाको राजनीतिक उद्देश्य, संघीयताको मर्म र मधेस आन्दोलनको पृष्ठभूमि बुझ्दै जाँदा पार्टी पुनः आफ्नो राजनीतिक लयमा फर्किने दाबीसमेत गरेका छन्। कार्यक्रममा जसपा नेता प्रयागलाल यादवले पूर्व अध्यक्ष नागेन्द्र कुमार यादवलाई नयाँ राजनीतिक यात्राका लागि शुभकामना दिँदै राजनीतिक निर्णय व्यक्तिगत विषय भए पनि आफ्नो राजनीतिक र सामाजिक पहिचान तथा विगतका आन्दोलनका उद्देश्यलाई बिर्सन नहुने सुझाव दिए।

उनले नागेन्द्र यादवलाई सम्बोधन गर्दै आफू जहाँ गए पनि व्यक्तिगत स्वतन्त्रताको विषय भए पनि ‘मधेस मूलका नागरिक हुँ’ भन्ने कुरालाई सम्झनुपर्ने बताए। उनले मधेस आन्दोलन किन र के उद्देश्यका लागि भएको थियो भन्ने विषयलाई आगामी राजनीतिक यात्रामा पनि स्मरण गर्न आग्रह गरे। प्रतिनिधिसभाको निर्वाचनपछि सखुवानन्कारकट्टी गाउँपालिकामा लामो राजनीतिक अनुभव र स्थानीयस्तरमा प्रभाव राख्ने केही नेताहरूले जसपा परित्याग गरी रास्वपामा प्रवेश गरिसकेको जसपा नेताहरू बताउँछन्। यसले स्थानीय राजनीतिमा दलहरूको संगठनात्मक संरचना र आगामी राजनीतिक समीकरणबारे चर्चा बढाएको छ। विशेषगरी लामो समयदेखि मधेस केन्द्रित राजनीतिमा सक्रिय रहेका केही नेता नयाँ राजनीतिक शक्तितर्फ आकर्षित हुन थालेपछि त्यसको प्रभाव स्थानीय तहको राजनीतिमा कस्तो पर्छ भन्ने चासो बढेको छ।

यद्यपि जसपाका स्थानीय नेताहरू भने केही प्रभावशाली नेताको दल परिवर्तन हुँदैमा पार्टीको जनाधार कमजोर भएको निष्कर्ष निकाल्न नहुने बताउँछन्। उनीहरूका अनुसार मतदाताले आफ्नो राजनीतिक धार नै परिवर्तन गरिसकेको अवस्था नभएकाले केही नेता बाहिरिँदैमा पार्टीका नेता–कार्यकर्ता विचलित हुनुपर्ने अवस्था छैन। जसपाका नेताहरूले संगठनलाई थप व्यवस्थित गर्दै जनताका दैनिक समस्या, मधेसका सवाल, संघीयताको कार्यान्वयन तथा नागरिकका अधिकारका विषयलाई प्राथमिकतामा राखेर अघि बढ्ने बताएका छन्। यससँगै नागेन्द्र यादवको रास्वपा प्रवेश र जसपाको पालिका नेतृत्व हस्तान्तरणले सखुवानन्कारकट्टीको स्थानीय राजनीतिमा नयाँ राजनीतिक समीकरणको संकेत गरेको छ। आगामी दिनमा दुवै दलले संगठन विस्तार र जनसमर्थन बढाउन गर्ने गतिविधिले यहाँको राजनीतिक प्रतिस्पर्धालाई थप रोचक बनाउने देखिन्छ।

प्रतिक्रिया दिनुहोस

एम्बुलेन्समै १०५ किल ...

रहमुल, सिरहा, ३१ भदौ । सिरहामा प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजा जस्तो देखिने पदार्थ बरामद गरेको ...

गणेश पूजा मेलामा मटक ...

रहमुल, सिरहा, ३१ भदौ । सिरहाको औरही गाउँपालिका–३ करहरवामा गणेश पूजा मेलाको अवसरमा आयोजित मटकीफ ...

‘सिंहदरबार गाउँ पुगे ...

रहमुल, लहान, ३१ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाका नेपाली कांग्रेसका नेता तथा गाउँपालिका अध ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१