Siraha Times
ताजा समाचार

रसुवा बाढीमा खडकका ९ नागरिक बेपत्ता : नगर प्रमुख चौधरी पीडित परिवारको घरमा

  • भदौ २८, २०८३
  • २९० पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान भदौ २८ । भदौ १० गते रसुवामा आएको विनाशकारी बाढीले सप्तरीको खडक नगरपालिकाका परिवारमा कहिल्यै नमेटिने पीडा थपिदिएको छ । आफ्ना ९ जना नागरिक बाढीमा परी बेपत्ता भएपछि यतिबेला सिंगो खडक नगरपालिका शोकमा डुबेको छ । घरका छोराहरू फर्किने आशामा परिवारका आँखामा आँसु छन् भने आफन्तहरू पीडामा छटपटाइरहेका छन् ।

यही असह्य पीडाको घडीमा खडक नगरपालिकाका नगर प्रमुख जय प्रकाश चौधरी आज आफ्ना नगरवासीको दुःखमा साथ दिन खडक नगरपालिका–१०, डंगराहीस्थित पीडित परिवारको घरमा पुगेका छन् । जनताको दुःखलाई आफ्नै दुःख सम्झिँदै नगर प्रमुख चौधरीले शोकाकुल परिवारसँग भेट गरी धैर्य धारण गर्न आग्रह गरेका छन् ।

भदौ १० गते रसुवामा आएको बाढीमा परी खडक नगरपालिका–१० डंगराहीका नागरिकहरू सुरज मण्डल, शिव कुमार पासमान, राज कुमार पासमान र हेम नारायण साहलगायत ९ जना बेपत्ता भएका छन् । त्यस्तै रंजितपुरका ५ जना नागरिकसमेत यस विपत्तिको चपेटामा परेको जानकारी प्राप्त भएको छ ।

बाढीमा परी बेपत्ता भएका नगरपालिकाका ९ जना कामदारमध्ये १ जनाको शव प्राप्त भइसकेको छ भने बाँकी ८ जना अझै सम्पर्कविहीन रहेका छन् । आफ्ना नगरवासी कामदारहरूको यस्तो दुःखद् अवस्थाले खडक नगरपालिकाका परिवार, आफन्त र समस्त नगरवासीलाई स्तब्ध बनाएको छ । घरको आँगनमा छोराको पाइला सुनिने आशा बोकेर बसेका आमाबुबा, श्रीमती र परिवारका सदस्यहरूको पीडा अहिले शब्दमा बयान गर्न नसकिने अवस्थामा छ । कसैका लागि उनीहरू घरको सहारा थिए, कसैका लागि बुढेसकालको भरोसा । तर, रसुवाको बाढीले एकैपटक धेरै परिवारको खुसी खोसेको छ ।

पीडित परिवारसँग भेट गर्दै नगर प्रमुख जय प्रकाश चौधरीले आफ्ना नगरवासीको दुःखमा आफू पनि उत्तिकै मर्माहत भएको बताएका छन् । “जनता पीडामा परेको बेला जनप्रतिनिधि भएर म कसरी खुसी रहन सक्छु ? आफ्ना प्रिय भाइहरू गुमाउँदाको पीडाले म स्वयं पनि मर्माहत भएको छु,” नगर प्रमुख चौधरीले भावुक हुँदै भने । उनले बेपत्ता भएका आफ्ना प्रिय भाइहरूको सकुशल खोजी तथा उद्धारका लागि प्रार्थना गर्दै पीडित परिवारलाई धैर्य र हिम्मत राख्न आग्रह गरेका छन् ।

नगर प्रमुख चौधरीले दुःखमा रहेका परिवारका सदस्यहरूसँग आत्मीय भेटघाट गर्दै उनीहरूलाई एक्लो महसुस नगर्न आग्रह गरे । नगरपालिका जस्तोसुकै सहयोगका लागि पनि तयार रहेको बताउँदै उनले विपत्तिको यस घडीमा पीडित परिवारको साथमा नगरपालिका निरन्तर रहने प्रतिबद्धता व्यक्त गरेका छन् । रसुवा बाढीमा परी बेपत्ता भएका आफ्ना नगरवासीका परिवारलाई राहतस्वरूप प्रतिपरिवार १ लाख रुपैयाँका दरले आर्थिक सहयोग गर्ने घोषणा नगर प्रमुख चौधरीले गरेका छन् । पीडाको घडीमा नगरपालिकाले गरेको यस सहयोगको घोषणाले शोकमा रहेका परिवारलाई केही राहत र नगरपालिकाको साथको अनुभूति दिलाएको छ । यद्यपि, आफ्ना प्रियजनको खोजी र सकुशल फर्किने आशामा रहेका परिवारका लागि यो पीडा अझै गहिरो छ ।

नगर प्रमुख चौधरीले बेपत्ता भएका सबै नागरिकको खोजी तथा उद्धारका लागि सम्बन्धित निकायसँग समन्वय र आवश्यक पहल भइरहेको समेत जानकारी दिएका छन् । रसुवा बाढीमा खडक नगरपालिकाका नागरिकहरू बेपत्ता भएको घटनाले नगरपालिकाका कर्मचारी, जनप्रतिनिधि, आफन्त तथा सम्पूर्ण नगरवासीलाई स्तब्ध बनाएको छ । आफ्नै घरपरिवारका सदस्यजस्तै रहेका कामदारहरूको अवस्था अज्ञात हुँदा पीडित परिवारको आँसु थामिएको छैन । नगर प्रमुख चौधरीको पीडित परिवारप्रतिको आत्मीयता, मानवीय संवेदना र आर्थिक सहयोगको घोषणाले दुःखमा रहेका परिवारलाई केही आशा र हौसला प्रदान गरेको छ ।

अहिले खडक नगरपालिकाको एउटै प्रार्थना छ—रसुवाको बाढीमा बेपत्ता भएका सबै नागरिक सकुशल फर्किऊन् । शोकमा रहेका परिवारले आफ्ना प्रियजनको अनुहार फेरि देख्न पाऊन् । पीडित परिवारलाई यो असह्य दुःख सहन सक्ने शक्ति मिलोस् । खडक नगरपालिका आज आफ्ना नागरिकको पीडामा रोइरहेको छ, उनीहरूको सकुशल उद्धारको आशामा प्रार्थना गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

विपद् प्रभावितलाई रा ...

रहमुल, लहान, २८ भदौ । सिरहाको भगवानपुर गाउँपालिकाले देशका विभिन्न जिल्लामा आएको बाढी, पहिरो तथा डुबा ...

पूर्वआईजीपीको ‘आशीर् ...

रंजित चौरसिया, वीरगंज २८ भदौ । नेपाल भारत सिमावर्ती क्षेत्र बारा जिल्लाको सिम्रौनगढ नाकाबाट प्रहरी प ...

वक्तालाई बोल्ने समय ...

रहमुल, सिरहा, २८ भदौ । विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप–२०७६ परिमार्जनका लागि सुझ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१