Siraha Times
ताजा समाचार

लहान–१६ स्थित श्री माध्यमिक विद्यालय तरेगनामा नगरप्रमुख चौधरीको छड्के अनुगमन

  • भदौ २५, २०८३
  • ३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान भदौ २५ । लहान नगरपालिकाका नगरप्रमुख महेशप्रसाद चौधरीले लहान नगरपालिका–१६ स्थित श्री माध्यमिक विद्यालय तरेगनाको छड्के अनुगमन गरेका छन्। बिहीबार विद्यालय पुगेका नगरप्रमुख चौधरीले विद्यालयको पठनपाठन, शैक्षिक अवस्था तथा विभिन्न शैक्षणिक गतिविधिबारे प्रत्यक्ष जानकारी लिएका हुन्।

२०८३ साल भदौ २५ गते बिहान करिब ११ बजे विद्यालय पुगेका नगरप्रमुख चौधरीले प्रधानाध्यापक कृष्णदेव महतोसँग विद्यालयको समग्र शैक्षिक अवस्था, शिक्षक व्यवस्थापन, विद्यार्थीको पठनपाठन तथा विद्यालयका आवश्यकताबारे जानकारी लिएका थिए। अनुगमनका क्रममा अत्यधिक गर्मीका कारण आधारभूत तहका स–साना बालबालिकालाई विद्यालय परिसरमा रहेका रूखमुनि तथा चौतारामा उचित व्यवस्थापन गरी अध्यापन गराइएको पाइएको थियो।

विद्यालयका शिक्षिकाहरूले सरकारले तोकेको विद्यालय पोसाकमा बालमैत्री शिक्षण विधि अपनाउँदै विद्यार्थीलाई पठनपाठन गराइरहेको नगरप्रमुख चौधरीले प्रत्यक्ष अवलोकन गरेका थिए। प्रतिकूल मौसमका बाबजुद पनि विद्यालयले विद्यार्थीको सहजता र सिकाइलाई प्राथमिकतामा राख्दै शिक्षण गतिविधि सञ्चालन गरिरहेको देखिएको थियो। हाल विद्यालयमा सात जना स्थायी दरबन्दीका शिक्षक, एक जना अस्थायी प्रकृतिका शिक्षक तथा तीन जना स्वयंसेवक शिक्षकको भरमा पठनपाठन सञ्चालन भइरहेको छ।

सीमित जनशक्तिका बाबजुद विद्यालयको पठनपाठन, शैक्षिक तथा शैक्षणिक गतिविधि उत्कृष्ट रहेको नगरप्रमुख महेशप्रसाद चौधरीले बताए। विद्यालयले लगातार दुई वर्ष एसईई परीक्षामा शतप्रतिशत नतिजा हासिल गर्दै आएको छ। विद्यालयले क्रमशः २०८१ र २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी सबै विद्यार्थीलाई उत्तीर्ण गराउन सफल भएको नगरप्रमुख चौधरीले बताए।

लगातार उत्कृष्ट नतिजा हासिल गरेपछि सामुदायिक विद्यालयप्रति अभिभावकको आकर्षण बढ्नुका साथै स्थानीय सरकारको समेत विश्वास र मन जित्न विद्यालय सफल भएको उनको भनाइ थियो। नगरप्रमुख चौधरीले विद्यालयको शैक्षिक प्रगतिलाई निरन्तरता दिन स्थानीय सरकारका तर्फबाट आवश्यक सबै प्रकारको सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे। अनुगमनकै क्रममा नगरप्रमुख चौधरीले प्रधानाध्यापक कृष्णदेव महतोलाई विद्यालयमा तत्काल कुन विषयका शिक्षक आवश्यक रहेको भन्ने जिज्ञासा राखेका थिए।

जवाफमा प्रधानाध्यापक महतोले विद्यालयमा विशेष गरी सामाजिक अध्ययन र जनसंख्या शिक्षा विषयका शिक्षक अत्यन्त आवश्यक रहेको जानकारी गराए। नगरप्रमुख चौधरीले विद्यालयको आवश्यकतालाई गम्भीरतापूर्वक लिँदै आवश्यकताअनुसार शिक्षक व्यवस्थापनलगायत अन्य सहयोगका लागि नगरपालिकाले पहल गर्ने प्रतिबद्धता जनाएका छन्। प्रधानाध्यापक कृष्णदेव महतोले लहान नगरपालिकाले विद्यालयको विकासका लागि पुर्‍याउँदै आएको सहयोगप्रति नगरप्रमुख चौधरीलाई धन्यवाद तथा प्रशंसा व्यक्त गरेका छन्।

उनले नगरपालिकाले विद्यालय भवन निर्माणसँगै विभिन्न भौतिक सहयोग तथा विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्री उपलब्ध गराउँदै आएको बताए। नगरपालिकाको सहयोगका कारण विद्यालयको पकेट क्षेत्रभित्र रहेका अभिभावकको आर्थिक भारसमेत कम भएको उनको भनाइ थियो। प्रधानाध्यापक महतोले स्थानीय सरकारले शिक्षा क्षेत्रमा पुर्‍याउँदै आएको सहयोगले नागरिकमा स्थानीय सरकार वास्तवमै आफ्नै सरकार भएको अनुभूति गराएको बताए।

उनले विद्यालयको शैक्षिक गुणस्तर सुधार, भौतिक पूर्वाधार विकास तथा विद्यार्थीमैत्री वातावरण निर्माणमा लहान नगरपालिकाको सहयोग महत्वपूर्ण रहेको उल्लेख गर्दै आगामी दिनमा समेत यस्तै सहयोग र सहकार्यको अपेक्षा व्यक्त गरे। नगरप्रमुख चौधरीको छड्के अनुगमनले विद्यालयको वास्तविक अवस्था बुझ्न, आवश्यकताहरू पहिचान गर्न तथा शिक्षा क्षेत्रको सुधारका लागि स्थानीय सरकारलाई थप प्रभावकारी योजना बनाउन सहयोग पुग्ने विश्वास विद्यालय प्रशासनले व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस

रसुवा–नुवाकोट बाढीपी ...

आशिक हुसैन शेख दोहा, कतार । रसुवा र नुवाकोट क्षेत्रमा आएको बाढीबाट प्रभावित परिवारको राहत तथा सहयोगक ...

ब्राउन सुगर जस्तो दे ...

ओम प्रकाश यादव लहान भदौ २५ । सिरहाको मिर्चैया नगरपालिका–१२ सिक्रोनबाट लागूऔषध ब्राउन सुगर जस्त ...

सवारी धनी बर्तौला वि ...

रंजित चौरसिया वीरगंज २४ भदौ । यातायात व्यवस्था कार्यालय वीरगंजका सहायक शाखा अधिकृत रामसुन्दर महतोले ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१